काठमाडौं । सरकारले राम्रो काम गर्नेभन्दा नराम्रो काम गरेर अकुत सम्पत्ती आर्जन गर्ने व्यक्ति र संस्थाहरुलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । त्यसमा सुरक्षा निकाय, कर्मचारी, पत्रकार, व्यापारी, उद्योगपति, वकिल, प्राध्यक्षक, शिक्षक, बुद्धिजीवी, मानव अधिकारकर्मी, मन्त्री, नेताहरु समेत पर्ने गरेका छन् । यस्ता व्यक्तिहरु जसले विभिन्न अवैध धन्दा गरेर अकुत सम्पत्ति आर्जन गरेर बदनाम भएपछि समाजलाई देखाउन मठमन्दिरलाई दान दिएर पुरस्कार र सम्मान–पत्र किनेर आफू सम्मानित हुने धन्दा फस्टाउन थालेको छ ।
समाजले पनि त्यस्तै व्यक्तिहरुलाई मन पराउने गर्दछन् । कतिपय संघ, संस्थाहरुले त पुरस्कार र सम्मानपत्र विक्रीवितरणको धन्दा नै चलाइरहेका छन् । विभिन्न अवैध धन्दा चलाएर समाजमा बद्नाम भएका व्यक्तिलेहरु त्यस्ता संघ, संस्थाहरुलाई पैसा दिएर आफू सम्मानित हुने गरेको पाइन्छ । त्योसँगै सरकारले पनि त्यस्तै व्यक्ति र संस्थाहरुलाई सम्मान गर्ने गरेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण बनेको छ । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीहरु लाई गत शुक्रवार वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले म्यानपावर कम्पनीलाई राम्रो काम गरेको भनेर सम्मान गरेका थिए ।
पुरस्कृत हुने कम्पनीहरुमा निलकमल ह्युमेन रिसोर्स, प्याराडाइज इन्टरनेशनल प्रा.लि., एसोएस म्यानपावर सर्भिस प्रा.लि, लिङ्क इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि., गल्फ म्यानपावर सर्भिस प्रा.लि., एयर किङ्स प्रा.लि., साउन्डलाइन्स भर्ती प्रा.लि., द रिभर ओभरसिज प्रा.लि., एडभान्स म्यानेजमेन्ट कल्सल्टेन्ट प्रा.लि. र एशिया लिङ्क सर्भिस प्रा.लि. रहेका छन् ।
वैदेशिक रोजगार विभागबाट सम्मान पाउने यी कम्पनीहरुले फिरी भिसा र फिरी टिकटको नाममा महंगो शुल्क असुली अधिकांश नेपालीहरुलाई विभिन्न खाडी मुलुकमा अलपत्र पारिराखेका छन् । कतिपयले एउटा कम्पनीको काम देखाएर पैसा असुल्ने र अर्को कम्पनीमा काम लगाउने गरेर अलपत्र पार्दै आएको बताइन्छ । त्यस्तै डिमान्ड लेटरमा एउटा तलब सुविधा तोकिएको देखाउने व्यवहारमा अर्कै गर्ने गरेको छ । त्यसले गर्दा अधिकांश नेपालीहरु विदेशमा अलपत्र पर्ने गरेका छन् ।
कतिपय कामको सिलसिलामा अंगभङ्ग भएका छन् भने कतिपय जेल पर्ने र ज्यानसमेत गुमाउन वाध्य भएका छन् । त्यस्ता व्यक्ति र कम्पनीलाई वैदेशिक रोजगार विभागका महानिर्देशक भट्टराईले करोडौं असुलेर पुरस्कृति र सम्मानित गरेको भन्दै नाम नबताउने शर्तमा पीडितहरुले तामाकोशी सन्देशसँग गुनासो पोखेका छन् ।
पहिलाका सरकारले देश र जनताको पक्षमा उदारणीय काम गर्ने विभिन्न क्षेत्रका व्यक्ति र संस्थाहरुलाई पुरस्कृत र सम्मानित गर्ने चलन थियो । तर, पछिल्लो समय ठिक त्यसको उल्टो गर्दै जसले विभिन्न अवैध धन्दा सञ्चालन गरेर अकुत सम्पत्ति आर्जन गर्दछ त्यसलाई सरकारी निकायले पुरस्कृत गरेर अपराधिक गतिविधि सञ्चालन गर्नेलाई बढावा दिने काम गर्दै आएको छ ।

