कर्मचारी इन्स्टिच्युट धाउँदैमा व्यस्त

राजनीति समाचार

काठमाडौं । मुख्य सचिव एकनारायण अर्याल सुशासनको ठूल्ठूला गफ जोतेर कहिल्यै थाक्दैनन् । सचिव वैठकदेखि भाषणमा समेत उनी सुशासनको वकालत गर्दछन् तर व्यवहार ‘कम्मल ओढेर घ्यू खाने’ देखाउँदैछन् । पछिल्लो समय कार्यालयमा बिदा लिएर इन्स्टिच्युट धाउन थालेका छन् कर्मचारीहरु । इन्स्टिच्युटमा लोकसेवा कक्षाको ठेक्का नै लिइरहेका छन् सचिव–अधिकृतहरू ।

सेवा प्रभावित हुने गरी सरकारी अधिकृतहरूले कार्यालयको समयमा लोकसेवा कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट पढाउने थालेसँगै त्यसलाई रोक्न भन्दै पटक पटक पत्राचार भएको छ तर कार्यन्वयन हुन सकेको छैन । कार्यालय समयबाहेक फुर्सदको समयमा अनुमति लिएर पढाउनुलाई मान्यतादिएता पनि कतिपय कर्मचारीहरु अफिसको समय पारेर कर्मचारीहरु निजी इन्स्टिच्यूडतिर भेटिन थालेका छन् । खासगरी शाखा अधिकृत र त्यसमाथिका ठूलो संख्याका कर्मचारीहरू विभिन्न निजी इन्स्टिच्युटमा आबद्ध भएर पढाउने, त्यसैको तयारीका लागि ध्यान दिने र धेरै समय व्यतीत गर्ने गर्दा कार्यालयको काम प्रभावित भएको भेटिएको छ ।

मन्त्रालयका सचिव, सह–सचिव, उपसचिव, कानून मन्त्रालयका सहसचिव, उपसचिवदेखि अधिकृत, महालेखा नियन्त्रक कार्यालयका थुप्रै सह–सचिव, उपसचिवदेखि अधिकृतसम्मका कर्मचारीहरू दिनहुँ नेम्स, एपेक्स, चैतन्यजस्ता लोक सेवा आयोगका कोचिङ सेन्टरमा सरकारी गाडी लिएर पढाउन जाने गरेको भेटिएको छ ।

तालिम तथा प्रशिक्षण सञ्चालनका लागि सरकारअन्तर्गतकै विभिन्न संस्था छन् । कर्मचारी प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज), स्थानीय विकास प्रशिक्षण केन्द्र, राजस्व प्रशासन तालिम केन्द्र, न्याय प्रशिक्षण तालिम केन्द्र, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, भूमि व्यवस्थापन केन्द्रलगायत संस्थाहरूले पनि शैक्षिक, प्रशिक्षण र तालिमका गतिविधि सञ्चालन गर्छन् ।

तर,सरकारी निकायमा पढाउँदा धेरै आम्दानी नहुने हुँदा प्रति पिरियड तीन हजारदेखि ६ हजारसम्म हात लाग्ने भएका कारण सरकारी कर्मचारीहरु निजी इन्स्टिच्यूडमा धाउने सिलसिला बढेको छ त्यो पनि सरकारी नम्बर प्लेट भएको सवारी साधन चढेर,इन्धन दुरुपयोग गर्दै । राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक अनुगमनको क्रममा ती निजी इन्स्टिच्यूडमा धाउने प्रशासकहरुमा शाखा अधिकृतदेखि सह सचिव तहका कर्मचारीहरुसम्म रहेको भेटिएको छ ।

लोकसेवाका कक्षामा बढी भेटिने सह सचिवहरुमा टोकराज पाण्डे,प्रकाश दाहाल,रामवन्धु सुवेदीको नाम चर्चामा आउने गर्दछ । सहसचिव प्रकाश दाहालले मात्रै मासिक १२ लाखभन्दा बढी कोचिङ शुल्क लिएको सूचना सामान्यमा पुगेको थियो । उपसचिवदेखि सचिवसम्म नजी संस्थामा पढाउन व्यस्त हुँदा एकातिर सरकारी कामकाजमा असर परेको छ भने अर्काेतिर सरकारका गोप्य सूचनाहरु पनि बाहिरिने गरेकाले रोक लगाइनु पर्ने आवाज उठे्पनि यसमा रोक लगाउन सकिएको छैन ।

कतिपय लोकसेवा क्लास धाउने प्रशासकहरु कार्यालय समयमा सरकारी स्रोतसाधन प्रयोग गरी इन्स्ट्च्यिूटमा पढाउनका लागि दिनभर ह्याण्डसट, पावर पोइन्ट तयार गर्ने र बिहान बेलुका पढाउने गरेका छन् । यसरी लोकसेवा क्लास धाउने अफिसर तहका कर्मचारीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राजश्व अनुसन्धान विभाग,नेपाल आयल निगम बबरमहल, राजश्व न्यायाधीकरण, औषधि व्यवस्था विभागदेखि केन्द्रीय तरकारी बिउ उत्पादन केन्द्र खुमलटार ललितपुर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, हुलाक सेवा विभागका कर्मचारीहरुको बोलबोला देखिएको छ ।

यस्तै,सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय, श्रम विभाग मीनभवन, गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकांश कर्मचारीहरु निजी इन्स्टिच्यूडमा धाउने गरेको भेटिएको हो ।

जस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, गृह मन्त्रालयका कानून अधिकृत विशाल नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका टेलिफोन अपरेटर चण्डिका निरौला,, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत सुरेन्द्रकुमार यादव, फैसला कार्यान्वयन निर्देशनालयका लेखापाल अजय यादव, राजश्व अनुसन्धान विभागका कम्प्युटर अपरेटर जगदीश अर्याल, राजश्व न्यायाधीकरणका पुस्तकालय सहायक पूर्णबहादुर विश्वकर्मा, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका मेसु प्रतापबहादुर साउद सरकारी सवारी साधन चढेर इन्धन,ड्राइभरदेखि दुरुपयोग गरेको भेटिएको छ ।

हुलाक सेवा विभागका खरिदार अरविन्दकुमार सिंह, औषधि व्यवस्था विभागका फार्मेसी सुपरभाइजर भीष्म सापकोटा, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका लेखापाल बाबुराम दीक्षित क्षेत्री पनि सरकारी सवारी साधन प्रयोग गरेर त्यहाँ गएको खुल्यो । त्यसैगरी, नेपाल आयल निगमका वरिष्ठ सहायक प्रकाश कुमार धामी, तरकारी बाली विकास केन्द्र खुमलटारका सह–लेखापाल तारानाथ अधिकारी, हलेशी तुवाचुङ नगरपालिका खोटाङका सह–लेखापाल भीम ढकाल, संघीय संसद् सचिवालयका उपसचिव नारायणप्रसाद ढकाल र शहरी विकास मन्त्रालयका नायब सुब्बा दिनेश उप्रेती पनि नेम्समा पुग्ने गरेको भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *