काठमाडौं । रूसमा क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको छ ।
चार दिन अघि आठ दशमलव आठ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै पाँच सय वर्षपछि पहिलोपटक ज्वालामुखी पनि देखिएको हो । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार २ अगष्टमा विस्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको थियो । जसका कारण सोही क्षेत्रको हवाई मार्ग (एयरस्पेस) बन्द गर्नुपरेको थियो । रुसी अधिकारीहरुका अनुसार यो ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा नभएको जनाइएको छ ।
कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी पाँच सय वर्षपछि विस्फोट भएको औपचारिक जानकारी आईतबार दिएको थियो । क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५ औं शताब्दीमा विष्फोट भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।

