काठमाडौं । गृहमन्त्रालयले राम्रो काम गर्न नसक्दा देशमा शान्ति सुरक्षा र सुशासन कायम हुन सकेको छैन ।
जुनसुकै पार्टीका नेता गृहमन्त्री बने तापनि देशमा सुशासन कायम गराउन सकेका छैनन् । उल्टै विभिन्न भ्रष्टाचारका काण्ड लागेर मन्त्री नै बद्नाम हुने गरेका छन् । गृहमन्त्री रमेश लेखक निकम्मा बन्दा सुरक्षा निकाय नै कमजोर बन्न पुगेको छ । सुरक्षा निकायलाई बलियो बनाउनको लागि गृहमन्त्री, सचिव र प्रहरी महानिरीक्षकको महत्वपूर्ण भूमिका रहन्छ । तर, उनीहरुबीच समन्वयकारी भूमिका नहुँदा तीनै निकायका संगठनहरु बदनाम हुन पुगेका छन् ।
त्यसको प्रमुख कारण बनेको छ सुरक्षा निकायभित्र हुने सरुवा, बढुवा रासन, लत्ताकपडा र हातहतियार खरिदमा भ्रष्टाचार, विकृति, विसंगति । उपल्लो तहका पदाधिकारीहरुले तस्कर र माफियाहरुसँग मिलेमतो गरी रासन, लत्ताकपडा, हातहतिर खरिद र भौतिक संरक्षा निर्माणमा व्यापक भ्रष्टाचार नियमितता हुने गरेको बताइन्छ । प्रहरी संगठनभित्र यस्तो विकृति बढेपछि सुरक्षा निकायका प्रहरीहरुले राजीनामा दिन वाध्य भएका छन् । खासगरी सरुवा, बढुवामा सोर्सफोर्स भएका र पैसा खर्च गर्न सक्ने र ठूलो पदमा आफन्त भएकाहरुले मात्रै अवसर पाउने भएपछि अन्य सोर्सफोर्स, भनसुन र पैसा खर्च गर्न नसक्नेहरुले अवसर नपाउने भएपछि प्रहरीहरुले जागिरबाट राजीनामा दिन थालेका छन् ।
बाहालवाला प्रहरीहरुले राजीनामा दिएसँगै प्रहरीमा नयाँ भर्ना हुनेमा पनि आकर्षण घट्न थालेको छ । त्यसले गर्दा सुरक्षा निकायभित्र दक्ष जनशक्तिको अभाव खड्किने देखिन्छ । गृहमन्त्री लेखकले यस्ता विषयमा ध्यान नदिएर भ्रष्ट गृहसचिव गोकर्णमणि दुवाडीलाई काखी च्यापेका छन् । त्यसले गर्दा गृहमन्त्रालयकै बद्नाम हुने गरेको छ ।
प्रहरी सरुवा, बढुवामा मोटो नजराना उठाएपछि सुरक्षा निकाय नै भ्रष्टाचारको आहालमा डुबेको छ । प्रहरी महानिरीक्षक जुनसुकै व्यक्ति भएतापनि संगठनलाई चलायमान बनाउनुको सट्टा उल्टै पद भँजाएर कमाउधन्दामा लिप्त हुने गरेका छन् । अहिलेका प्रहरी महानिरीक्षक दीपक थापाले पनि प्रहरी संगठनलाई सशक्त रुपमा चलायमान बनाउनुको सट्टा डीएसपी, एसपी र एसएसपी बढुवामा मोटो रकम असुली गरेको स्रोतले उल्लेख गरेको छ । उनको जागिरे अवधि छोटिँदै गएको कारणले पनि थापा कमाउधन्दामा लिप्त भएर लागिपरेको स्रोतको दावी छ । महानिरीक्षक थापाको कमाउधन्दालाई साथ दिन गृहसचिव दुवाडी लागिपरेका छन् । किन कि गृहसचिव दुवाडीको जागिरे अवधि छोटिँदै गएको छ । थापा र दुवाडी दुवैको जागिरे अवधि छोटिँदै गएकाले कमाउधन्दामा लिप्त भएको आरोप छ । नेतृत्व नै भ्रष्टाचार र विकृतिमा फसेपछि संगठन नै बद्नाम भएको छ । पछिल्लो समयमा आएर अधिकांश प्रहरीहरुले धमाधम राजीनामा दिन थालेका छन् ।
राजीनामा मात्रै दिन थालेका छैनन् प्रहरी संगठनभित्रै नैतिकताको प्रश्नसँगै अनुशासन उल्लङ्घन गरेको विषयलाई लिएर प्रहरीहरुले कार्बाही भोग्दै आएका छन् । त्यसले गर्दापनि प्रहरी संगठन नै ध्वस्त हुन पुगेको छ ।

