इन्भेष्टमेन्ट मेगा बैंक दिनप्रतिदिन जोखिममा पर्दै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडांै । निजी क्षेत्रबाट सञ्चालित बैंकहरु धरासाही बन्ने खतरा बढ्दै गएको छ । एकातिर लगानी गरेको कर्जा नउठ्नु अर्कोतिर नयाँ ऋण प्रवाह गर्न नसकेको कारण बैंकहरु भित्रभित्रै टाट पल्टिँदै गएका छन् । कतिपय बैंकहरुले त नक्कली डाटामा करोडौंको नाफा भएको देखाएर शेयरधनी र सर्वसाधारणलाई झुक्याउने काम गरिरहेका छन् । त्यसको उदाहरण लिन सकिन्छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएदेखि नै कांग्रेस निकट र एमाले निकट सञ्चालक र कर्मचारीबीच लफडा सुरु भएको थियो ।

मर्जर भएयता लामो समयदेखि सञ्चालक समितिको बैठक बस्न नसक्दा विवाद हुँदै आएको थियो । त्यहीं विवादका कारण बैंकको वार्षिक उत्सवसमेत समयमा हुन सकेको थिएन । वार्षिकोत्सव ढिलाहुनुको कारण बैंकको अध्यक्ष बन्नको लागि विवाद भएपछि सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चको फैसलापछि पृथ्वीबहादुर पाण्डे आपंmै अध्यक्ष हुन पुगे । पाण्डे नै अध्यक्षमा चयन भएपछि मेगा बैंकबाट आएका एमाले निकट कर्मचारीहरुलाई तितरवितर बनाएर कांग्रेस निकट कर्मचारीको हालीमुहाली बनाइएको छ ।

कर्मचारी आफ्नो फेबरमा ल्याएपछि बैंकको स्वामित्व पनि एकलौटी बनाउने प्रयास गरिराखेका छन् । मेगाबाट आएका पुराना कर्मचारी हटाएपछि अधिकांश शाखामा सेवाप्रवाह लथालिङ्ग भएको बताइन्छ । अहिले मेगा बैंकबाट आएका एकजना डाइरेक्टर मात्रै बाँकी रहेको बताइन्छ । अन्य पदाधिकारीमा पाण्डे निकटका कर्मचारी बढी छन् । स्रोतका अनुसार छायाँदेवी सेन्टरको जग्गामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अर्बौं लगानी रहेको थियो । सो जग्गामा मुद्दा परेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लगानी बालुवामा पानी हुँदै गएको छ ।

अर्कोतर्फ पुरानो ऋण उठेको छैन भने नयाँ कर्जा प्रवाह पनि भएको छैन । कतिपय ऋणीहरुले राखेको धितोको म्याद सकिँदा पनि लिलामीको सूचना प्रकाशित हुन सकेको छैन । उता संस्थापक शेयर धनीहरुमा नाफा, घाटाको विषयलाई लिएर विवाद सिर्जना भएको छ भने साधारण शेयर धनीहरुलाई लामो समयदेखि बोनस र लाभांश दिन सकेको छैन । गत आर्थिक वर्षको आम्दानीमा ५ अर्ब नाफा भएको देखाइएको छ । तर, बैंक नामाफामा जाँदा पनि बोनस र लाभांशा नपाएपछि साधारण शेयर धनीहरुमा असन्तुष्टि छाएको छ ।

बैंकभित्रको कालाकर्तुत लुकाउनको लागि नाम चलेका केही मिडियाहरुलाई विज्ञापन दिने र अन्यलाई भित्रै छिर्न नदिने काम अध्यक्ष पाण्डेले गर्दै आएका छन् । खासगरी तत्कालीन मेगा बैंकले बिनाधितो चिनजान र सोर्सफोर्सको आधारमा ५, ६ लाखको दरले हजारौंलाई दिएको ऋण नउठेको भार पनि अहिले नेपाल इन्भेष्टन्ट मेगा बैंकले बहन गरिरहनुपरेको स्रोतको दावी छ । त्योसँगै कतिपय कमसल धितो राखेर प्रवाह गरेको ऋण पनि खराब कर्जामा दर्ज भएको देखिन्छ ।

कुनै बेला नेपाल इन्भष्टमेन्ट निजी लगानीमा सञ्चालित सबैभन्दा अब्बल व्यवस्थापन र सेवाप्रवाह भएको बैंकको रुपमा परिचित थियो । तर, मेगा बैंकसँग मर्जर भएर अझ ठूलो बैंक बन्ने लोभमा फसेपछि पछिल्लो समयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक निकम्मा सावित हुँदै गएको छ । उता इन्जिनियरहरु बैंक विरुद्व आन्दोलनमा उर्तिएका छन् । इन्जिनियरहरुको आन्दोलनले उग्र रुप लिने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *