काठमाडौं । ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन् ।
कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम छन् । बिहीबार प्रकाशित विज्ञप्तिअनुसार फागुन १७ गते कोशीका १४ वटै जिल्ला र मधेशमा जनप्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम छ । फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ ।
साथै उनीहरुले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने कार्यक्रम घोषणा गरेका छन् । यसअघि वार्ताका लागि चारवटा प्रस्ताव अगाडि सारेका आन्दोलनरत समूहले गिरफ्तार नागरिकको रिहाई, घाइतेको निःशुल्क उपचार, दोषीलाई कारबाही र मुक्कुम्लुङ क्षेत्रबाट सुरक्षाकर्मी र निर्माण सामग्री फिर्ताको माग गरेका छन् ।