काठमाडौं । अधिकांश मन्त्रालयमा मन्त्रीहरु निकम्मा भएपछि कर्मचारीहरुले खेल्ने मौका पाएका छन् । कर्मचारीहरुले मन्त्रीहरुलाई गुमराहमा पारी आफ्नो फाइदा लिनको लागि अनेक हर्कत गर्ने गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ कांग्रेस र एमाले निकट कर्मचारी संगठनका नेताहरुलाई । कांग्रेस निकट निजामती कर्मचारी युनियनभित्र आन्तरिक गुटबन्दीले गर्दा नवौं अधिवेशनसमेत हुन सकेको छैन । नयाँ कार्यसमिति चयनको लागि अधिवेशन नभएपछि तत्कालीन उपाध्यक्ष कावा अध्यक्ष उत्तम कटुवाल, महासचिव जनक रावल र तत्कालीन नवराज जैसीहरुको हालीमुहाली चलिरहेको छ । उनीहरुको हालीमुहालीले गर्दा माउ पार्टी कांग्रेस नै बद्नाम हुन पुगेको छ ।
कांग्रेस निकट कर्मचारीहरु एकले अर्काको पोल खोलाखोल गरेकै कारण भिजिट भिसा काण्डा बाहिरिएको थियो । कावा अध्यक्ष उत्तम कटुवाल एकातिर छन् भने महासचिव जनक रावल र नवराज जैसी अर्कोतिर छन् । जैसी अहिले संगठनभित्र खासै क्रियाशील छैनन् । किन कि उनी सूदुरपश्चिमको भएकाले सिडिओ बन्ने अवसर पाइरहन्छन् । उता, कटुवाल र रावलको सम्बन्ध बिग्रिँदा संगठन नै ध्वास्त बन्न पुगेको छ ।
त्यसैगरी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनभित्र पनि नेतैपिच्छेको गुटले भरिएको छ । महासचिव रामचन्द्र अधिकारी (आरसी) एमालेमा माधव नेपाल खेमाका थिए । एमाले फुटेर माधव नेपाल एकीकृत समाजवादीको अध्यक्ष भएपछि आरसी एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्त बन्न पुगेका छन् । वलीको भक्त भएकै कारण कर्मचारी संगठनको महासचिव पद सर्वसम्म रुपमा हात पारेका थिए । उपाध्यक्ष रेवन्त गौतम वामदेव निकट कर्मचारी हुन् ।
वामदेव एमालेबाट बाहिरिएपछि गौतम पनि एमाले अध्यक्ष ओलीको भक्त भएका छन् । उता, अध्यक्ष भवानी दाहालको खासै नेता छैनन् । दाहाललाई लेखनाथ कोइराला, पुण्य ढकाल र भोलानाथ पोखरेलले स्वास्थ्य क्षेत्रबाट ल्याएर नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष बनाएका हुन् । अध्यक्ष भवानी स्वास्थ्य क्षेत्रको कर्मचारी भएकाले निजामती क्षेत्रका अन्य कर्मचारीले रुचाएका छैनन् । अर्का वामदेव वली कर्मचारी संगठनभित्र गुमनाम छन् ।
वामदेव वली र महासचिव अधिकारीबीच एकले अर्काको पोल खोलाखोल गर्ने गरेर दिन बिताइरहेका छन् । संगठनका सहसचिव गोविन्द अधिकारी तत्कालीन अध्यक्ष लेखनाथ कोइरालाका दाहिने हात हुन् । उनी भावी महासचिव बन्नको लागि अहिलेदेखि नै भित्रभित्रै लभिङ गरिराखेका छन् । तर, सरकारको काम नगरी राजनीति गरेर तलब भत्ता खाइरहेका छन् । कांग्रेस र एमाले निकट कर्मचारी भएको तर पार्टीसँगै कर्मचारीभित्र पनि गुटगत स्वार्थको कारण सरकारी कामकाज सधैं लथालिङ्ग हुने गरेको छ । तर, राज्यका सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिएका छैनन् । उल्टै राजनीतिक पार्टीका नेताहरु पनि तिनै कर्मचारी संगठनका नेताहरुसँग मिलेमतो गरी सेवाग्राहीको काम अलपत्र पारिराखेका छन् ।

