काठमाडौं । भारत सरकारले नेपालबाट थप दुई सय मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ ।
पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
यसअघि नेपालबाट आठ सय १० दशमलव नौ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो । अब नेपालबाट भारतमा एक हजार एक सय एक मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ । बंगलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ । यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०।९ मेगावाट पुगेको छ ।
अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ । लिखु-२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।

