क्याम्पसद्घारा छात्राहरुलाई सेनेटरी प्याड हस्तान्तरण

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटीले कास्कीको ताङतिङमा अवस्थित हिमालय मिलन माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि एक दिने प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम र सेनेटरी प्याड वितरण कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य केन्द्र ताङतिङका इन्चार्ज डा. दिलिप बुढा मगरले महिनावारी र प्रजनन स्वास्थ्यको महत्वका विषयमा प्रशिक्षण दिएका थिए ।

महिनावारीका बेला सरसफाईमा विशेष ध्यान दिनु पर्नेमा जोड दिदै उनले महिनावारीकै कारण विद्यालयमा अनुपस्थित हुने चलन हटाउनु पर्ने बताए । महिनावारी प्राकृतिक नियम भएकाले यसलाई लाजको विषय बनाउन नहुनेमा जोड दिदै उनले प्रजनन स्वास्थ्यको जानकारी व्यवहारमा प्रयोग गर्न सबैलाई सुझाव दिए । कार्यक्रममा कोटेश्वर बहुमुखी क्याम्पसको तर्फबाट समाजशास्त्र, ग्रामिण विकास एवं पत्रकारिता विभाग प्रमुख कल्पना मरहट्ठा, अनुसन्धान विकास इकाईका विज्ञ डा. बालकृष्ण अधिकारी र पत्रकारिता विषयका उपप्राध्यापक पदमराज जोशीले हिमालय मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङलाई दुई कार्टुन सेनेटरी प्याड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विभागिय प्रमुख मरहट्ठाले कोटेश्वर क्याम्पसले आउट रिच कार्यक्रम अन्तर्गत देशका विभिन्न भागमा स्वास्थ्य, शिक्षा, वातावरण र सरसफाई लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिइन । अनुसन्धान विकास इकाईका विज्ञ डा. बालकृष्ण अधिकारीले कार्यक्रमबाट थुप्रै छात्राहरु लाभान्वित भएको बताउँदै सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए ।

पत्रकारिता विषयका उपप्राध्यापक पदमराज जोशीले सामुदायिक क्याम्पस भएकाले कोटेश्वर बहुमुखी क्याम्पसले देशका विभिन्न समुदायको उत्थान र विकासका लागि सहकार्य गर्ने अभियान सुरु गरेको जानकारी गराउदै सोही अभियानको एक अंश आजको कार्यक्रम भएको बताए । हिमालय मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरुङले कोटेश्वर क्याम्पसले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम र सेनेटरी प्याड हस्तान्तरण कार्यक्रमले विद्यालयमा अध्ययनरत छात्रा लाभान्वित भएको बताउदै क्याम्पस परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

कोटेश्वर बहुमुखी क्याम्पसले बेला बेलामा यस किसिमका आउट रिच कार्यक्रम समुदायको सहकार्यमा आयोजना गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *