काठमाडौं । ऋण दिने (बैंकर) उही, ऋृण लिने (व्यवसायी) पनि उही । सर्वसाधरणले समयमा कर्जा नतिर्दा वा किस्ता बुझाउन नसक्दा उसको जिन्सी सम्पत्ति खाइदिने र तीन पुस्ते विवरण छाप्ने बैंकले आफ्नै साहुजीले समयमा ऋण नतिर्दा ती उपर एक्सन लिएर तीन पुस्ते छाप्न सक्छन् त ?
सक्दैनन् । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन विपरित विभिन्न बैंकहरुमा लगानी भइरहको भेटिएको छ । बैंकर र व्यवसायीबीचको भिन्नता छुट्टाउन नसकिँदा कतिपय बैंक तथा वित्त कम्पनीहरुमा बाफिया ऐन विपरित लगानी भइरहेको भेटिन्छ । यसरी वाफियाले परिकल्पना गरेभन्दा फरक ढङ्गबाट लगानी भइरहेका बैंकहरुमा हिमालयन बैंक, एभरेष्ट बैक, एनआइसी एशिया, सानिमा, सिद्धार्थ, ग्लोबल आइएमइ, प्राइम कमर्सियल बैंक, प्रभु र एसबिआई बैंकहरु अग्रपंक्तिमा छन् ।
‘क’ श्रेणीका बैंकको संख्या ३२ बाट झरेर २० मा आइपुग्यो तर सीमित घरानाकै कब्जाबाट उम्कन सकेको छैन नेपालको बैंकिङ क्षेत्र । नेपालको अर्थतन्त्र खस्किनुका अनेक कारणमध्ये एक यही हो भन्दैछन् अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु नै । को बैकर, को व्यवसायी खुट्टिन गाह्रो छ । जस्तो भाटभेटनीका साहु मीनबहादुर गुरुङदेखि चन्द्र ढकाल, विनोद चौधरी, राजेन्द्र खेतान, रामचन्द्र संघाई यस्ता चार दर्जन व्यापारी छन्, जो बैंकरका साथैं व्यवसायी पनि । नविल बैंकको ठूला शेयरधनीमध्ये डलरे अर्वपति निर्वाण र बरुणलाई देखाइएको छ ।
उसको लगानी नरहेको क्षेत्र नै छैन । सामाजिक सेवा अन्तरगत मानिने शिक्षा, स्वास्थ्य, हस्पिटालिटी, हाउजिङ जताततै लगानी छ । बैंक र बीमा समेत एउटै समूहले चलाएर स्वार्थ बाझिने काम गर्नमा अग्रपक्तिंमा पर्दछ, चौधरी ग्रुप । अहिले पनि नेपालका बैंक तथा वित्त संस्थाहरु सीमित घरानियाको कब्जामा छ ।
अहिले पनि नेपालको अर्थतन्त्र ठूला सय जनाको हातमा छ भन्दा अत्युक्ति नहोला । जस्तो नेपालका क श्रेणीका २० बैंकमा ठूला ९१ व्यवसायी तथा कम्पनीको शेयर स्वामित्व रहेको भेटिन्छ । ती बैंक तथा वित्त संस्थाद्धारा प्रकाशित गरिएको वित्तिय विवरण अनुसार बैंकका ठूला खेलाडीहरुमा प्रदीपजंग पाण्डे, पृथ्वी पाँडे, शशिकान्त अग्रवाल, चन्द्र ढकालहरुको कब्जामा रहेको भेटिएको हो । चौधरी ग्रुपको लगानी रहेको नबिल बैंकमा व्यक्तिगत नाममा १ प्रतिशत बढी लगानी भेटिदैन । चौधरी ग्रुपका विभिन्न व्यक्ति वा कम्पनीको नाममा लगानी भए पनि व्यक्तिगत १ प्रतिशतभन्दा बढी छैन् ।
सो बैंकमा निर्वाण चौधरी र वरुण चौधरीको १ प्रतिशतभन्दा कम सेयर स्वामित्व रहेको भेटिन्छ । चौधरीको बैंकमा विभिन्न परिवारको विभिन्न कम्पनीको नामबाट सेयर स्वामित्व रहेको बैंकद्धारा प्रकाशित वित्तिय विवरण केलाउँदा भेटिन्छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न कम्पनीमार्फत लगानी गरेको विवरण भेटिन्छ ।
विदेशी लगानी बढी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पनि कुनै व्यक्तिको १ प्रतिशतभन्दा बढी लगानी नरहेको विवरण भेटिएको छ । यस्तै हिमालयन बैंकमा प्रदीपजङ्ग पाण्डेको १.५ प्रतिशत प्रमोटर सेयर र ०.४८ प्रतिशत साधारण सेयर गरी १.९८ प्रतिशत सेयर स्वामित्व रहेको भेटिन्छ । यस्थै शशिकान्त अग्रवालको १.७१ प्रतिशत सेयर रहेको छ भने इच्छाराज तमाङको १.३६ प्रतिशत सेयर छ ।
उता भारतीय पञ्जाब नेशनल बैंकको सेयर रहेको एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको शेयर स्वामित्व बढी रहेको छ । सो बैकमा प्रतिमा श्रेष्ठको १४.७७, प्रतिशत विष्णुकृष्ण श्रेष्ठको ९.१८ प्रतिशत, रविकृष्ण श्रेष्ठको २.७३ प्रतिशत, कृष्णकिरण श्रेष्ठको २.७३ प्रतिशत सेयर छ । यसैगरी शान्तदेव पाठकको ५.०६ र अरुणमान शेरचनको नाममा ३.५ प्रतिशत व्यक्तिगत सेयर रहेको वित्तिय विवरण भेटिएको छ । एनआइसी एसिया बैंकमा अशोककुमार अग्रवालको सबैभन्दा बढी ६.१२ प्रतिशत सेयर रहेको छ।
यसैगरी त्रिलोकचन्द्र अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघाईको ४.४१ प्रतिशत, सुवासचन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१ प्रतिशत, अनुज अग्रवालको २.८६ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत र जगदिशप्रसाद अग्रवालको २.५३ प्रतिशत, वीरेन्द्रकुमार संघईको २.०१ प्रतिशत, अक्षय गोल्यानको १.९४ प्रतिशत, तुलसीराम अग्रवाल, मञ्जु अग्रवाल र सञ्चिता अग्रवालको समान १.७८ सेयर रहेको छ । निकुञ्ज अग्रवालको १.७६ प्रतिशत र गोविन्द संघईको १.६१ प्रतिशत सेयर रहेको छ । यस्तै माछापुच्छ्रे बैंकमा उपेन्द्र महतोको सबैभन्दा बढी ९.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने प्रेमकुमारी केसीको ८.६८ प्रतिशत सेयर छ ।
सो बैंकमा रामआशिस साहुको ४.२४ प्रतिशत सेयर रहेको छ भने त्यहाँ डा. धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, कृष्णगोपाल श्रेष्ठको १.७८ प्रतिशत, सुरेन्द्र महतोको १.७१ प्रतिशत, रोशन केसीको १.४८ प्रतिशत, किरण केसीको १.४८ प्रतिशत र प्रकाश केसीको १.२९ प्रतिशत सेयर रहेको वित्तिय विवरण केलाउँदा भेटिन्छ । यस्का अलवा सानिमा बैंकमा सात जनाको १ प्रतिशत माथि सेयर देखिएको छ । अरुणकुमार ओझाको ७.९४ प्रतिशत, टेकराज निरौलाको ६.३९ प्रतिशत, जिवानाथ लामिछानेको ५.४४ प्रतिशत, विनयकुमार श्रेष्ठको ४.२७ प्रतिशत, खेमराज लामिछानेको ३.४७ प्रतिशत, घनश्याम थापाको ३.४६ प्रतिशत र रामकृष्ण शाहको २.४९ प्रतिशत सेयर रहेको छ ।
यता,लक्ष्मी सनराइज बैंकमा सारिका खेतानको ४.१७ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतिलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४ प्रतिशत, रतनलाल संघईको २.३९ प्रतिशत, गोपीकृष्ण सिकारियाको २.३५, राजेन्द्रकुमार खेतानको २.३५ प्रतिशत, श्रवन कुमार गोयलको १.४२ प्रतिशत, सुरेन्द्र दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, बच्छराज तातेडको १.१५ प्रतिशत र कैलाशचन्द्र गोयलको १ प्रतिशत सेयर रहेको बैंकको वार्षिक प्रतिवेदनले देखाएको छ । यस्तै सिद्धार्थ बैंकमा केडिया अर्गनाइजेशनका व्यक्तिहरुको बढी लगानी सिद्धार्थ बैंकमा देखिन्छ ।
नरेन्द्रकुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सविता केडियाको १.९२ प्रतिशत, चिरनजीलाल अग्रवालको १.८१ प्रतिशत, पवनकुमार अग्रवालको १.७६ प्रतिशत, सुवोध तोडीको १.५५ प्रतिशत, विरेन्द्रकुमार शाहको १.५४ प्रतिशत, अशोक कुमार बाहेतीको १.४८ प्रतिशत र नरपतसिंह जैनको १.४५ प्रतिशत सेयर रहेको छ । यसैगरी दीनानाथ केडियाको १.४१ प्रतिशत, आदित्य केडियाको १.३९ प्रतिशत, तुषार तोडीको १.२८ प्रतिशत र सुरेश कुमार रुँगटाको १.२१ प्रतिशत सेयर रहेको छ ।
उता, ग्लोबल आइएमई बैंकमा सुमित कुमार अग्रवालको १.८२ प्रतिशत छ भने विष्णुप्रसाद न्यौपानेको १.४१ प्रतिशत सेयर छ । बैंकका अध्यक्ष चन्द्र ढकालले आइएमआई होल्डिङ र आइएमई इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गरेका छन् । उनको व्यक्तिगत सेयर ग्लोबल आइएमआई बैंकमा १ प्रतिशतभन्दा माथि छैन । हेमराज ढकाल लगायतको व्यक्तिगत सेयर रहे पनि १ प्रतिशतभन्दा कम रहेको विवरण सार्वजनिक गरिएको छ ।
यस्तै, सिटिजन्स बैंकमा ९ जना व्यक्तिको १ प्रतिशत माथि सेयर रहेको छ । उर्मिला पण्डेको ३.३ प्रतिशत, तारा विष्टको १.५९ प्रतिशत, विरेन्द्र जोशीको १.३७ प्रतिशत, मनोहरदाल मोलको १.३ प्रतिशत, दीगविजय विष्टको १.३ प्रतिशत, पवित्राकुमारी कार्कीको १.२८ प्रतिशत, रविन्द्रमान सिंह प्रधानको १.२८ प्रतिशत, सावित्रा शर्माको १.१८ प्रतिशत र रमेश शर्माको १.०२ प्रतिशत सेयर छ । यस्तै वित्तिय विवरण अनुसार,एनएमबि बैंकमा नन्दकिसोर राठीको १.६८ प्रतिशत, धनन्जयप्रसाद आचार्यको १.५३ प्रतिशत र सुनिलकुमार गोशालीको १.०४ प्रतिशत सेयर रहेको विवरण सार्वजनिक भएको छ ।
उता, कुमारी बैंकमा अमर प्रताप जंगबहादुर राणाको २.०२ प्रतिशत, जानुकी कुमारी राणा शाहीको १.३० प्रतिशत र सावित्री गुरुङको १.२० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै प्राइम कमर्सियल बैंकमा उमेश श्रेष्ठको २.४६ प्रतिशत, विनोदचन्द्र बरालको १.४४ प्रतिशत र कृष्ण पुरीको १.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । मुख्यतयाः सरकारी लगानी रहेको कृषि विकास बैंकमा कृष्णगोपाल श्रेष्ठको १.३९ प्रतिशत र लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशत व्यक्तिगत सेयर छ ।
यो बैंकमा प्रभु ग्रुपका विभिन्न कम्पनीमार्फत लगानी छ । एक जनाको मात्रै १ प्रतिशत बढी सेयर छ । प्रभु बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत सेयर रहेको बैंकको वासलातबाट देख्न सकिन्छ । यता, नेपाल एसबीआई बैंक यो बैंकका मुख्य १० सेयरधनीमा ५ कम्पनी तथा ५ व्यक्ति रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । मुख्य व्यक्तिगत सेयरधनीमा रोजन कर्माचार्य, राजेन्द्र कुमार खेतान, बबिन श्रेष्ठ, बाला कृष्ण श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठको रहेका छन् ।
जबकी कुनै पनि बैंक तथा वित्तीय संस्थाले १ प्रतिशतभन्दा बढी स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने व्यवस्था भए पनि बैंकमा एक प्रतिशतभन्दा बढी लगानी पनि उनीहरुकै र कर्जा पनि तिनै गन्यमान्यहरुले लिँदै आएका छन् । नेपालको अर्थतन्त्र धरायसी हुँदै जानुको पछाडिको अनेकन कारणमध्ये एउटा यो पनि हो । माथिको विवरण सुक्ष्मसँग केलाउने हो भने बैंकमा एक प्रतिशतभन्दा बढी शेयर राख्नेमा अधिकांश मारवाडी समुदायका व्यक्तिहरु भेटिन्छन् । लगानी यता गर्ने र मुनाफा खुसुखुसु पारी लैजाने, त्यसलाई रोक्ने, छेक्ने कानुन नहुँदा पनि समस्या आएको हो भन्ने कुरा अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरुले बताउने गरेका छन् ।

