धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल तीन दिने कार्यक्रमसहित यही भदौ ४ गते सुदूरपश्चिमको यात्रामा निस्किएका थिए । कैलाली हुँदैडडेल्धुरा र डोटीसम्मका विभिन्न स्वास्थ्य संस्था र कार्यक्रमको उदघाटनका लागि उनी त्यहाँ गएका थिए । भदौ ४ गते गेटा अस्पतालको आकस्मिक कक्षको उदघाटन गर्ने मन्त्री पौडेलको कार्यक्रम थियो ।
तर, सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा एमबीबीएससम्मको पढाइ सुरु गर्नका लागि ३०० शैयाको अस्पताल सञ्चालन हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले मन्त्री पौडेलले गर्ने उदघाटन कार्यक्रमलाई वहिस्कार गर्ने घोषणा गरेको थिए । संघर्ष समिति यस्ता ५ शैयाको आकस्मिक कक्षको उदघाटन गर्ने नाटक मन्चन गर्न नआउन मन्त्री पौडेललाई सचेत गराएको थिए । संघर्ष समितिले भदौ ४ गते बिहानै मन्त्री पौडेल गेटा अस्पताल आउने थाहा पाएपछि त्यसको विरोध गर्दै गेटामा ३०० शैयाको अस्पताल सञ्चालनमा नल्याएसम्म आश्वासनले मात्र अव नपुग्ने चेतावनी दिँदै नाटक मञ्चन नगर्न मन्त्रीलाई सचेत गराएको थियो ।
विरोधको स्वर सुनेपछि मन्त्री पौडेलले विहानको फ्लाइट रद्द गरेर दिउँसो ३ बजे धनगढी गएका थिए । मन्त्री पौडेलले ४ महिना अगाडि धनगढी जाँदा यसै बर्षदेखि ३०० शैयाको गेटामा अस्पताल सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए । तर यो वर्षको वजेटमा त्यसका लागि कुनै प्रगति नभएपछि त्यहाँका वासिन्दा स्वास्थ्य मन्त्री पौडेलसँग रुष्ट भएका थिए । करिव ७ अर्बभन्दा बढी रकम खर्च गरेर सुविधा सम्पन्न भवन बनिसकेको अवस्थामा सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ३०० शैयाको अस्पताल सञ्चालनमा ल्याउन छाडेर ५० शैयाको अस्पतालमात्र सञ्चालन गरेको छ ।
अहिले ५ शैयाको मात्र आकस्मिक कक्षको उदघाटन गर्न मन्त्री जाने भएपछि सुदूरपश्चिमबासीले मन्त्रीले आफूहरुको भावनामाथि खेलवाड गरेको र नाटक मन्चन गरेको भन्दै विरोध गरेका थिए । विरोधका कारण भदौ ४ गते मन्त्री पौडेलले आकस्मिक कक्षको उदघाटन गर्न सकेनन् । मन्त्री पौडेलले संघर्ष समितिसँग वार्ता गर्न खोजे पनि सफल भएनन् । त्यसको भोलिपल्ट मन्त्री पौडेलले प्रहरीको सहारा लिएर ५ शैयाको आकस्मिक कक्ष उदघाटन गरेका थिए । दुदूरपश्चिमवासीको विरोधका बीच उदघाटन गरेर मन्त्री पौडेल बाटो प्रयोग गरी बाहिरिएका थिए ।
पछि मन्त्री पौडेलले आफूले ५ शैयाको आकस्मिक कक्षको नभई ३० शैयाको आकस्मिक कक्षको उदघाटन गरेको बताएका थिए । तर, आन्दोलनरत संघर्ष समितिले भने ५ शैयाको नाटक मञ्चन गरेको भनेको छ । देशका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा मेडिकल कलेज खुलेका छन् । सरकारी र निजी गरी देशभर २२ वटा मेडिकल कलेज सञ्चालनमा हरेका छन् । ती मेडिकल कलेजले वर्षमा २५०० भन्दा बढी एबीबीएस डाक्टर उत्पादन गर्छन् ।
तर, सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि मेडिकल कलेज सञ्चालन हुने सकेको छैन । सरकारले २० वर्ष पहिलेदेखि नै कैलालीको गेटामा सरकारीस्तरको मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाइ गेटामा करिव ७ अर्ब रुपैयाँ खर्च गरी भौतिक संरचना खडा गरेको छ । भौतिक संरचना खडा गरेको लामो समय बितिसक्दा पनि मेडिकल कलेज सञ्चालनमा नआउँदा सुदूरपश्चिमवासी आक्रोसित भएका छन् । पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा गेटामा मेडिकल कलेजको सट्टा शहिद दशरथचन्द स्वास्थ्य विश्वविद्यालय बनाउने निर्णय गरी यससम्बन्धी विधयेक संसदले पारित गरिसकेको छ ।
विधेयक पारित भए तापनि ३०० शैयाको अस्पताल सञ्चालन गर्न ढिलाई हुँदा यहाँका वासिन्दा आन्दोलित भएका छन् । एमबीबीएस पढाइ सुरु गर्नका लागि कम्तिमा पनि ३०० शैयाको अस्पताल सञ्चालनमा भएको हुनुपर्ने पूर्वसर्त चिकित्सा शिक्षा आयोगको छ । त्यसका लागि ३०० शैयाको अस्पताल तत्काल सञ्चालनमा ल्याउन यहाँका वासिन्दाले आग्रह गर्दै आएको छन् । सुदूरपश्चिमबाट ५ पटक देशको प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले गेटामा भवन बनाउन पहल गरेको भए तापनि अहिले अस्पताल सञ्चालनमा ल्याउन पहल नगरेकोमा यहाँका जनता आक्रोसित भएका छन् । देउवाले पछिल्लो वर्ष गेटामा भन्दा गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नको लागि काम अगाडि बढाएका छन् ।
डडेल्धुराका मेडिकल कलेजको कार्यालय स्थापना भएर स्नातकोत्तर तहमा ल्याव र नर्सिडको पढाइ पनि सुरु भइसकेको छ । यहाँको अस्पतालको क्षमता पनि बढाएर २०० शैयाको बनाइएको छ । एक वर्षभित्र डडेल्धुरामा एमबीबीएसको पढाइ हुने गरी काम भइरहेको छ । कैलालीको गेटामा निर्माण सम्पन्न भएका अर्बौंका संरचना खण्डहर भइरहँदा डडेल्धुरामा अर्को मेडिकल कलेज खोल्न लागेकोमा सुदूरपश्चिमवासी देउवाप्रति असन्तुष्ट भएका छन् ।
उनीहरुको माग छ, गेटामा पहिले मेडिकल कलेज सञ्चालन होस्, त्यसपछि डडेल्धुरामा । किन कि गेटामा भौतिक संरचना तयारी अवस्थामा छन् । गेटामा मेडिकल कलेज तत्काल सञ्चालन नभए त्यसको घाटा देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवालाई हुने देखिन्छ । किन कि आरजुको निर्वाचन क्षेत्र कैलालीका जनताले गेटा कलेज सञ्चालन गर्न नसके आरजुको राजनीति अगाडि बढाउन नदिने कसरतमा छन् । गेटा मेडिकल कलेजबाट जस लिन नेपाली कांग्रेसबाहेकका राजनीतिक दलहरु पनि लागेका छन् ।
माओवादी पार्टीले आफ्नो अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला मेडिकल विश्वविद्यालयको अवधारणा ल्याएकाले त्यसको जस लिन चाहन्छ भने एमाले पनि जस लिने दौडमा छ । सबै राजनीतिक दलहरुको स्वार्थका कारण र निजी क्षेत्रका अस्पताल सञ्चालक विचौलियाहरुको मारमा गेटा परेको छ । यसको सञ्चालनका लागि सरकारले तत्काल शहिद दशरथचन्द मेडिकल विश्वविद्यालयका लागि पदाधिकारी नियुक्त गरेर कम्तिमा पनि ३०० शैयाको गेटामा अस्पताल सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ । त्यो संभव पनि छ ।
अर्को वर्षदेखि नर्सिडका कोर्षहरुको पढाइ सुरु गर्दै अबको दुई वर्षमा यहाँ एमविविएस लगायतका विषयको पढाइ सुरु गर्न सकिन्छ । गेटा मेडिकल कलेजको सञ्चालनले मात्र सुदूरपश्चिमको स्वास्थ्य सुधारको सुनौलो ढोका खुल्ने भएकाले त्यसमा सबै ध्यान जान जरुरी छ । अहिले त स्वास्थ्य मन्त्रीको विरोध मात्र गरेका यहाँका जनताले भोलि सुदूरपश्चिमबाटै प्रधानमन्त्री भएका र अहिले मन्त्री भइरहेकाहरुको पनि विरोध नगर्लान् भन्न सकिन्न ।

