काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा कुरा राखेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने र आफ्ना कुरा प्रष्ट राख्ने गरेको जिकिर गरेका थिए ।
प्रधानमन्त्री ओलीले आफु चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौताले हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न नमिल्ने कुरा स्पष्ट ढंगले राखेको अडियो, भिडियो, नोट, टिपोटहरूमा स्पष्ट रेकर्डेड रहेको बताएका छन् ।
त्यस्तै, चिनियाँ राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रुपमा सल्ट्याउन भनेको उनले बताएका छन् ।

