अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल

राजनीति समाचार

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा बिहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुनस् छलफल सुरु हुन लागेको हो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोतले उल्लेख गरेको छ । जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन् संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए ।

छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *