नेतामा ‘मेरो गोरुको बाह्रै टक्का’का कारण देश भर्खालो तिर

पत्र-पत्रिका

अहिलेको समसामयिक विषय बस्तु
(सरिता सिकर्मी)

नेपाली राजनीतिक दलहरुमा अतृप्त पद र सत्ता भोकको ज्वाला बढ्दो रुपमा रहेको कारणले पछिल्लो समय देशमा एउटा अप्रिय घटना हुन पुग्यो । जुन इतिहासको कालो दिनको रुपमा दर्ज भइसकेको छ । २०८२ भदौ २३ (सेप्टेम्बर ८ तारिख)मा जेनजी प्रदर्शनले उग्र रुप लिएको थियो । जसमा विद्यार्थीहरु स्कुल,कलेजको पोशाकमा मृत्यु वरण गर्न पुगेका थिए । यस घटनामा एकै दिन १९ जनाको मृत्यु भएको थियो । सत्ताको अहंकारमा यति अन्दो भएकी राजनीतिक दलका नेताहरु आज देश शोकमय बन्न पुगेको छ ।

केही समय अगाडि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने दिएको अभिव्यक्तिले स्पष्ट पारेको थियो । लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा देश ‘राजनीतिक माफिया’हरूको हातमा पुगेको थियो । नेताहरुलाई सामान्य बिरामी हुँदापनि उपचार विदेशमा गराउनुपर्ने स्थिति थियो । शिक्षाका नाममा अर्बौं रुपैयाँ बाहिर गइरहेको छ । पञ्चायतमा बनेका टिचिङ, पाटन अनि राणाकालमा बनेका वीरको भरमा गरिब जनताको जीवन धानिएको छ ।

विकट दुरदराजका जनताले नूनको लागि कयौं दिन हिँड्नुपर्ने परिस्थती अझैं निमूर्ल हुन सकेको छैन । यता जनता झाडापखाला लाग्दा विकट बस्तीमा औषधी नपाउँदा तड्पेर मर्ने गरेका छन् । उता प्रविधिले युग नै बदलिसकेको छ, तर नेपालको अवस्था दिनप्रतिदिन खस्कदो रहेको छ । शक्ति र सत्तामा बसेकाले नै कानूनको खिल्ली उडाइरहेका थिए । राज्य हाँक्नेहरूले मनलाग्दी ढङ्गबाट आफ्ना कार्यकर्ता र आसेपासेलाई जागिर दिने, सेटिङमा ठेक्का दिने, बिचौलिया पोस्नेबाहेक अरु कुनै काम गर्न सकिराखेका थिएनन् । जसले गर्दा उनीहरुमा ‘मेरो गोरुको बाह्रै टक्का’ प्रवित्रृ झन् हाबी भएको थियो ।

हामी जनता पनि आफैँले गर्न सक्ने काम आफैँ गर्दैनौं । विदेशी आयतमा आफ्नो मुख ताकिरहेका छौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालले एक सय २७ देशसँग व्यापार घाटा व्यहोरेको छ । २०८१ साउनदेखि २०८२ असारसम्म विभिन्न उत्पादित मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो । जबकी देशमा उद्योग, कारखाना नभएसम्म मुलुकको आर्थिक विकास हुँदैन । तर, नेताहरू अझ लाज पचाएर भाषणमा भन्थ्ये कि देशको उद्योग कलकारखानाबाट घाटा भएकाले बन्द गरेकै ठिक छ । ७० लाख नेपाली युवा देशबाहिर छन् । दलका नेताको ध्यान चुनाव, पार्टीभित्र आफ्नो जमाउने र आफ्नो पछिल्लो पुस्तासम्मलाई पुग्ने अकुत सम्पत्ति कमाउनेतिर केन्द्रित छ ।

त्यसैले उनीहरूले सक्षम युवालाई सरकार र पार्टीको नेतृत्व सुम्पन चाहँदैनन् । आज हजारौँ युवाहरू बिदेशिन बाध्य छन् ।विदेशमा बगेको पसिनाले नेपालको आयात धानेको हुँदा हाम्रा नेताहरूले युवाशक्तिलाई विदेश पलायन हुन प्रेरित गर्दै आएका थिए । उद्योग खोल्ने, कलकारखाना स्थापना गर्ने, कृषिलाई उच्च प्राथमिकता दिई निर्वाहमुखीबाट जीविकोपार्जन गराउनेतिर यिनको कहिल्यै ध्यान गएन । समय यस्तो आयो कि अब बिदेशिन नसक्ने युवालाई समाजले असफल या अक्षमको ट्याग झुन्ड्याउने गरेको पाइन्छ ।

राजनीतिक इमानदारी, आर्थिक अनुशासनमा हामी कमजोर स्थितिमा छौँ । आर्थिक अनुशासनहीनता बढ्दै गएको देखिन्छ । नेपालमा लगानी गर्छु भनेर स्वदेशी वा विदेशी कोही आयो भने नीतिगत र कानूनी प्रक्रिया नै यति झन्झटिला बनाइएका छन् । बास्तवमा नेपालमा मूलधारका कुनै पनि पार्टीसँग समाजवादी राजनीतिक व्यवस्थाको स्पष्ट दृष्टिकोण, विचार, कार्यदिशा र योजना छैन । त्यसैले समाजवाद राजनीतिक नारा मात्रै बन्न पुगेको छ ।

नेपालमा भनिएको विकास र समृद्धिको मोडल कस्तो हो ? विकास र समृद्धि प्राप्ति गर्ने स्पष्ट विचार, दृष्टिकोण र मार्गचित्र कुनै पनि पार्टीसँग छैन । नेपाली समाजमा विभेद, बहिष्करण, दलाली र अराजकता बढिरहेको छ । पितृसत्तात्मक शक्ति–सम्बन्धका कारण जनता माथिको उत्पीडन कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *