ananta gurung

खाने मुखलाई जुँगाले छेक्दैन

राजनीति लेख समाचार

जेड आन्दोलनको लक्ष भनेको भ्रष्टाचार खतम पार्ने, नेपालमा सुशासन कायम गर्ने र सामाजिक सञ्जाललाई स्वतंत्र तुल्याउने नै थियो । यो नै नेपालको जल्दो बल्दो र एक आपसमा जोडिएका बिषयहरु हुन । जेन जेडका युवाहरुले नेपाल राष्ट्र र नेपाली जनताको वास्तविक समस्याहरुको राम्रै सित पहिचान गरेकाछन । नेपालका भ्रष्ट राजनीतिक दलहरुको लागि वास्तवमा नै सामाजिक सञ्जाल टोक्नु न चपाउनु बन्दै आएको थियो । बिनाकारण यो वा त्यो बाहानामा सामाजिक सञ्जालको उपयोग माथि प्रतिबन्ध लगाउने कानुनहरुको निर्माण गर्दै लगेका थिए ।

पछिल्लो चरणमा निवर्तमान ओली–देउवा सरकारले साईवर कानुन बनाएर आफ्ना बिरोध गर्नेहरुलाई पाता कस्दै लाने सुरुवात गर्यो । साथै निवर्तमान ओली–देउवा सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने बाहानामा जेन जेडका युवाहरु माझ लोकप्रिय सामाजिक सञ्जाललाई खुराफाती कानुन बनाएर प्रतिबन्ध सम्म लगाउने तयारीमा लागेका थिए । भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल एक अर्का सित जोडिएको बिषय जेन जेडले मान्दै आएको थियो । नेपाललमा भ्रष्टाचारलाई पारदर्शी बनाएर खुईल्याउने र अपराधीलाई समाजमा नाङ्गेझार पार्ने काममा सामाजिक सञ्जालको ठुलो भूमिका रहेको जेन जेडका युवाहरुले मात्र होइन नेपाली जनताले पनि मान्दै आएको छ ।

यो कुराको अन्दाज सत्तामा बसेका भ्रष्ट राजनीतिक दलहरुलाई पनि पहिले देखि नै भएको हुँदा यो वा त्यो बाहानमा जेन जेडका युवाहरु माझ लोकप्रिय भएको सामाजिक सञ्जाललाई निष्तेज पार्न चाहेका थिए । तत्कालिन प्रधानमंत्री ओली आफै पनि आधुनिक विज्ञानको उपज सामाजिक सञ्जाल र त्यससित जोडिएका कम्प्युटर यपहरुको उपयोग बारे धेरै नै जानकारी राख्ने गरेका थिए । तर ओली–देउवा सरकारले आफ्ना बिरोधीहरुबाट भएको सामाजिक सञ्जालको उपयोगलाई दुरुपयोग गर्दै लगेको मान्यो र त्यस माथि अंकुश लगाउनको लागि साईवर कानुनको निर्माण गर्यो ।

त्यसको साथै ओली–देउवा सरकारले सामाजिक सञ्जाललाई सरकारी नियंत्रण भित्र ल्याउनको लागि बिदेशी सेवा प्रदायकहरुलाई पञ्जिकरणको व्याबस्था गर्यो । यो कुनै सजिलो काम थिएन बर्षौ देखि बिना पञ्जिकरण चल्दै आएको बिदेशी सेवा प्रदायकहरुको सामाजिक सञ्जाललाई अचानक रोक लगाउने ओली–देउवा सरकारको निर्णयले नेपालमा ठुलो भुचाल नै ल्यायो । त्यसैपनि नेपाली जनताको लागि ओली–देउवा सरकार भारी बन्दै गएको थियो । एमाले र नेपाली काँग्रेसका बिच ७ बुँदे सहमती गरी बनेको सरकार भए पनि तत्कालिन प्रधानमंत्री ओलीले सात बुँदे सम्झौतालाई धोती लगाएर आफ्नो सुरुची अनुसारको शासन नेपालमा चलाउँदै बसेका थिए ।

एमाले र काँग्रेस मिलेर बनेको नेपाल सरकार सित दुईतिहाई बहुमत भएको फूर्ती गर्दै सुनीति अनुसारको कानुनी राजलाई वेवास्त गरीरहेका थिए । एमाले र नेपाली काँग्रेसको तत्कालिन गठबन्धन सरकारले ७ बुँदेमा पहिलो प्राथमिकता पाएको सबै भन्दा महत्वपूर्ण बिषय नेपालको संबिधान २०७२ लाई संसोधन गर्न कुनै रुची देखाएनन् । त्यसैगरी उक्त ७ बुँदेमा नै दोस्रो प्राथमिकतामा परेको सुशासन कार्यान्वयन गर्ने बिषयलाई पनि पूर्णरुपले वेवास्ता गर्दै गए । तत्कालिन ओली–देउवा सरकारको देखिने प्राथमिकतामा २०८४ को आम चुनाव थियो भने नदेखिने प्राथमिकतामा नेपाल राष्ट्र र नेपाली जनतालाई लुटेर आआफ्नो घरभित्र बनाएको गोप्य नोट र सुनको भण्डारहरु भर्ने नै थियो ।

जेन जेडको आन्दोलन ताका उक्त दलका शीर्ष नेताहरुको जलेको घरहरुमा देखिएको नोटका जलेका टुक्राहरु र अनेक कुईण्टल सुनबाट नै यो कुरा पुष्टी भईसकेको छ । जेन जेडले अहिले प्राथमिकताको साथ उठाएका बिषयहरु कुनै नयाँ नौलो छैनन् । उहाँहरुले उठाएको बिषयहरु ओली–देउवा गठबन्धन सरकार बनाउँदा ७ बुँदे सहमतीमा उल्लेख भएका नै कुराहरु हुन । सोही कुराहरुलाई वेवास्ता गर्दै गएर भ्रष्टाचारमा एमाले र नेपाली काँग्रेसका नेताहरु लिप्त भएर लागेको हुँदा जेन जेडको उदय भएको हो । जेन जेड कताबाट प्रेरित र परिचालित छ भन्ने बिषय अहिले महत्वपूर्ण छैन ।

जेन जेडले भ्रष्ट दलहरुबाट नेपाल राष्ट्र र नेपाली जनतालाई मूक्त बनाउन ठुलो बलीदान गर्यो त्यो नै सबै भन्दा धेरै महत्वपूर्ण बिषय हो । सत्य र धर्मको बाटो छाडेर भ्रष्टाचार गरी आआफ्नो निजी स्वार्थ मात्रै पूरा गर्दै सत्तामा बसेका भ्रष्ट दलहरुलाई सत्ताच्युत पार्न जेन जेडका युवाहरुले आफ्नो प्राणको वलीदान दिएकाछन । यो भन्दा ठुलो निःस्वार्थ र धर्मको काम संसारमा अरु कुनै छैन ।

आज नेपाल राष्ट्र र नेपाली जनताले दलहरुबाट स्वातंत्रता जेन जेडका कलिला युवाहरु कै वलीदानको वदौलत पाएको छ । अहंकारी र लालची दलहरु र उक्त दलका नेताहरु महमा लालची मौरीहरु लटपटिएर मरे झै उहाँहरुले भ्रष्टाचार गरी कमाएको जलेका घर, नोट र सुनमा नै लटपटिएर मर्न सक्ने अवस्था निर्माण भएको छ । दलहरुले छाडेको संबिधानको संसोधन र भ्रष्टाचार बिरोधी सुशासन कै बिषयलाई महत्वका साथ उठाएर जेन जेडका मासुम युवाहरुले नेपाली जनताको मन जितेको छ भने नेपाल राष्ट्रबाट सम्मान पाएकोछ ।

भ्रष्टाचारको रोकथाम गरी नेपालमा सुशासन कायम गर्नको लागि सामाजिक सञ्जालको सबै भन्दा धेरै योगदान रहेको कुरा जेन जेडका युवाहरुले महसुस गरेकाछन भने दलहरु र त्यसको भ्रष्ट नेताहरुले सामाजिक सञ्जालबाट नै आफ्नो सत्ता टिकाउनको लागि सबै भन्दा धेरै खतरा महसुस गर्दै आएका थिए भन्ने कुरा जगजाहेर नै छन । फरक के मात्र हो भने जेन जेडका मासुम युवाहरु सत्य र धर्मको बाटोमा लागेकाछन भने दलका नेताहरु असत्य र अधर्मको बाटोमा लागेर नेपाल राष्ट्र र नेपाली जनतालाई लुट्ने काम गर्दै आएकाछन ।

दलहरुले जेन जेडलाई अमेरिकाले लगानी गरी नेपालमा बिद्रोह गर्न उक्साएको हो भनी आरोप लगाएकाछन । यसै सन्दर्भमा बारबरा फाउण्डेसनले आफ्नो कुनै संलग्नता नभएको र दलहरुले भने जस्तो एक पैसा लगानी नगरेको जनाएकाछन । उपसभामुख ईन्दिरा राना मगरलाई पनि दलहरुले त्यस्तै अप्रमाणित आरोप साथ महाअभियोग लगाएर हटाउने प्रयास पटक पटक गरेका थिए तर दलहरुका बिचमा एकमत हुन नसक्दा कहिले पनि सफल भएनन् । जेन जेडका नेता मानिएको सुदन गुरुङ्गले हामी नेपाल भन्ने गैरसरकारी संस्था चलाएका रहेछन ।

त्यसैलाई आधार मानी दलहरुले उहाँ माथि अमेरिकाको लगानी लिएर नेपालमा आन्दोलन र आगजानी गरेको द्वोष दिएकाछन । त्यसै गरी ईन्दिरा राणा मगरले पनि असहाय बालबालिकाहरुलाई गोंद लिएर हेर चाह र संरक्षण गरी हुर्काएर बिदेशी निःसन्तान बाबुआमालाई धर्म मातापिता बनाएर दिने गरेकी रहिछिन । त्यसैलाई आधार बनाएर उहाँ माथि दलहरुले मानव बेचबिखन र तस्करीको गम्भिर आरोप लगाएका थिए । सबैलाई थाहाभएकै कुरा हो नेपालका गैरसरकारी संस्थाहरु देशी बिदेशीले उपलव्ध गराउने दानबाट नै चल्दै आएकोछ । दलका शीर्ष नेताहरु र अन्य नेताहरुले पनि यस्तै गैरसरकारी संस्थाहरु खोली बिदेशी सित दान लिएर चलाउने गरेकाछन ।

भन्दा प्रत्येक्ष उदाहरण त देउवा पत्नी आरजु देउवालाई लिन सकिन्छ । उहाँले आफ्ना पति शेर बहादुर देउवाको प्रभावमा गैरसरकारी संस्था चलाएर निकै राम्रो कमाई गर्दै आएकी थिईन । उहाँ कै मुखबाट पनि राजनीतिमा होमिनु अगि उहाँको मासिक तलव ५ लाख भन्दा उपर भएको दावी गरेकीछिन । त्यस्तै हामी नेपाल भन्ने सुदन गुरुङ्गको नेतृत्वमा चलेको गैरसरकारी संस्थाले पनि देशी बिदेशी दाता सित सहायता लिएर नेपालमा समाजसेवा गर्दै आएको देखिन्छ । दलाई लामा र फ्रि–तिव्वत अभियानका तिव्वती बिद्यार्थीहरुले बधाईदिएकै आधारमा जेन जेडको नेतृत्व गरीरहेका सुदन गुरुङ्गलाई चीन बिरोधीको आरोप लगाएर नानाभाती गाली गर्नु न्यायोचित छैन ।

यस्तै हाल्लाको कुराहरुलाई उठाएर सुदन गुरुङ्गलाई निष्तेज पार्ने प्रयास दलहरुले गर्दैछन तर सफल होला भन्ने कुरामा कोहि पनि ढुक्क छैनन् । नेपालमा अमेरिका र पश्चिमी मुलुकहरुको गैरसरकारी संस्थाहरु लामोकाल देखि सक्रिय रहेकाछन । उक्त संस्थाहरुको काम भनेको नेपालको राजनीति र बिकासमा हष्तक्षेप गर्नु नै हो । एशीयाली बिकास बैंक र विश्व बैंकको काम पनि अमेरिकी लगायत पश्चिमी मुलुकहरुबाट नेपालमा आएर काम गरी बसेका गैरसरकारी संस्थाहरुलाई साथ सहयोग दिनु पनि हो । जहाँ सम्म नेपालमा चल्दै आएको भ्रष्टाचारको कुरा छ त्यो बिदेशीले नै नेपालको सुशासन गर्ने प्रयासमा लगाएको आगो नै मान्नु पर्छ ।

बिदेशी बैंकहरु र बिदेशी गैरसरकारी संस्थाहरुले नेपालमा गर्दै आएको लगानी कै कारण नेपालमा भ्रष्टाचार बढ्नुको साथै समाजमा आर्थिक असमनता पनि अत्याधिक बढेकोछ । राजनीतिक दलहरु भ्रष्टाचारको मूलकारण भएको हुनाले तिनीहरुले नेपालमा भ्रष्टाचार गर्नको लागि प्रयोग गरेका भौतिक र अभौतिक संरचनाहरुलाई आगो लगाएर ध्वस्त पार्ने काम जेन जेडको नेतृत्वमा नेपाली जनताले गरेकाछन । तर अहिलेको आन्दोलनले नेपालको अड्डा अदालत र पुलिस प्रशासन आदिमा लामो समय देखि जरो गाडी बसेको भ्रष्टाचारलाई छोएको छैन । नेपालको बिकास परियोजनाहरु बनाउन गरिने लगानी खाने धमिरा किराको रुपमा सरकारी कार्यालयहरुमा काम गर्ने ईन्जिनियरहरु, कन्सलटैन्टको रुपमा काम गर्ने ईन्जिनियरहरु, ठेकेदारहरु, व्यापारीहरु, आपूर्तीकर्ताहरु र व्यवसयीहरुलाई मानिन्छ ।

त्यसकारण भ्रष्टाचारको बिराटस्वरुप जेन जेडले देखेको बुझेको भन्दा पनि बिशाल र बिकराल छ । लहरो तान्दा पहरो थर्किएर मुगलिन–नरायणघाटको सडकमा झै पहिरो गएको गएकै हुन पनि सक्छ । पूर्व पश्चिम राजमार्गको दाउन्नेमा झै बिरबलको खिचडी कहिले नपाकेको जस्तो हुन पनि बेर छैन । खाने मुखलाई जुँगाले छेक्दैन भन्नुको अर्थ पनि गहिरो छ । भ्रष्टाचार गरी खाई पाई आएकाहरु सत्तामा रहे सम्म र भए सम्म भ्रष्टाचार रोकिने संभावना छैन ।

जसरी पनि कुरा मिलाएर कागज मिलाएर खान भ्याईहाल्ने निजमाती कर्मचारीहरु सरकारी कार्यालयहरुमा रहेसम्म नेपालको भ्रष्टाचार जीबित नै रहन्छ । अख्तियारका आयुक्तहरुले नै मिलेर भ्रष्टाचार गर्ने मुलुक नेपालमा सुधार गर्नु भनेको फलामको चिउरा खाएर पचाउनु बराबर नै हो । ऐन, कानुन र नियमहरु पनि कानुन जान्ने र पैसावाला कै ईसारामा चल्ने भएकाले कसैको डर त्रास कसैलाई छैन सबै भ्रष्टाचारीहरुले एक स्वरमा भन्छन खाने मुखलाई जुँगाले कदापि छेक्दैन । यसरी नेपालको कानुनी राजलाई दलहरुले पंगु बनाएकाछन भने भ्रष्टाचारीहरुलाई हाईसञ्चो भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *