काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मन्त्रालय सम्हालेको दुई महिना पुगिसक्दा पनि भौतिकको कुनै काम हुन सकेको छैन । मन्त्री घिसिङले ठेक्का लगाएको काम समयमा सम्पन्न नगरेका निर्वाण व्यवसायीहरुको ठेक्का तोड्ने सूचना जारी गरे तापनि सो ठेक्का तोड्न सकेका छैनन् । न त ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सकेका छन् न त भौतिक पूर्वाधारका काम हुन सकेका छन् । मन्त्री घिसिङ निकम्मा बन्दा सडक विभागअन्तर्गतका काम अलपत्र परिराखेका छन् । सडक विभागभित्र यतिबेला भौतिकमन्त्री कुलमान कि प्रभात झा भन्ने चर्चा चल्न थालेको छ । सडक विभागका महानिर्देशक विजय जैसीले पनि ठेक्काको फाइल घुमाइरहेका छन् । सडक अन्तर्गतका सबै कामहरु ठप्प भएका छन् ।
डिजाइन स्वीकृति, म्याद थप, स्टमेट, बहुवर्षीय आयोजना, राष्ट्रिय गौरवका आयोजनाजस्ता फाइलहरु सडक विभाग वरिपरि नै घुम्ने र सो फाइलहरुको स्वीकृत नभएको कारण भौतिक संरचनाका कामहरु अलपत्र परिरहेका छन् । सो फाइल स्वीकत गर्नको लागि विभागका कर्मचारी प्रभात झाको आदेश कुर्नुपर्ने हुन्छ । सडक विभाग यतिखेर झाको इसारमा चल्ने गरेको छ । झाकै कारण राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेको बताइन्छ ।
जहाँ धेरै बजेट हुन्छ त्यहाँ झाको आँखा पर्ने गर्दछ । झा कहिले राष्ट्रिय गौरवका आयोजना, कहिले योजना शाखा त कहिले मर्मत सम्भार शाखामा बसेर फाइल घुमाउने काम गर्दछन् । महानिर्देशक जैसीले पनि कुनै पनि काम गर्न उनै झाको आदेश फर्खनुपर्ने हुन्छ । झाले ठूला–ठूला डिभिजन सडक प्रमुखहरुलाई आफ्नो फेबरमा पार्न जस्तोसुकै हर्कत गर्न पछिपर्दैनन् । तर, मन्त्री घिसिङले यस्ता विषयमा ध्यान दिन सकेका छैनन् । मन्त्री घिसिङ उल्टै ठूला राष्ट्रिय गौरवका आयोजनाहरुको बजेटमा आँखा गाडिरहेको स्रोतको भनाइ छ ।
उता, काठमाडौं उपत्यकामध्ये भक्तपुर डिभिजन सडकमा ९ अर्ब रुपैयाँ बजेट रहेको बताइन्छ । सो ९ अर्ब बजेटको ठेक्का लगाउँदा ५ प्रतिशत मात्र कमिसन आउँदा पनि ४५ करोड रुपैयाँ कमिसन हाता लाग्ने भएपछि डिभिजन प्रमुख सुमन योगेश न्वारनदेखि बल निकालेर लागिपरेका छन् । सुमनले गत सालमा पनि भक्तपुर सडक डिभिजनमा बसेर निर्माणको काम गर्नेभन्दा पनि कमिसनको चक्करमा लागेर काम गर्न सकेका थिएनन् । उनै अक्षम व्यक्ति सुमन तत्कालीन भौतिक मन्त्रीका स्वकीय सचिव मनोज दाहाललाई राम्रो नजराना बुझाएर भक्तपुरमै थमौती भएका हुन् । शक्तिकेन्द्र रिझाएरै सुमनले दुई कार्यकाल भक्तपुर डिभिजन कार्यालयमा बिताइसकेका छन् ।
पूर्वमन्त्री देवेन्द्र दाहालले ठूला राष्ट्रिय गौरवका आयोजना प्रमुखदेखि सडक डिभिजन प्रमुख सरुवा गर्दा करोडौं असुलेका थिए । तत्कालीन मन्त्री दाहालले डिभिजन प्रमुखहरु सरुवा गरेका थिए भने सडक विभागले इन्जिनियरहरुको सरुवा गर्न सकेको छैन । सरुवा नभएकै कारण हजारौं इन्जिनियरहरु रुष्ट बन्न पुगेका छन् । कतिपय इन्जिनियरहरुले आफ्नो कार्यकाल पुरा हुँदा पनि विभागले सरुवा नगरेकोमा चिन्ता व्यक्त गर्न थालेका छन् । कर्मचारी सरुवा, बढुवादेखि ठेक्का स्वीकृति लिनको लागि उनै प्रभात झासँग स्वीकृति लिनुपर्ने भएको छ । त्यसले अधिकांश राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परिराखेका छन् । झाले भक्तपुर सडक डिभिजन प्रमुख सुमनलाई प्रयोग गरेजस्तै अन्य सडक डिभिजन प्रमुखहरुलाई पनि प्रयोग गरेर करोडौं उठाउने गरेको बताइन्छ ।
सुमन योगेश पनि झाभन्दा कम छैनन् । उनी सधैं मालदार अड्डामा रमाउँदै आएका इन्जिनियर हुन् । सुमन रौतहटको चन्द्रनिगामपुर, मकवानपुरको हेटौंडा, हुलाकी राजमार्ग आयोजना नेपालगञ्ज, कान्ती लोकपथजस्ता मालदार अड्डामा बसेर करोडौं रुपैयाँ हिनामिना गरेको स्रोतले उल्लेख गरेको छ । त्यही कमिसनको आडमा भक्तपुर डिभिजन सडकमा दुई कार्यकाल बस्न सफल भएको पनि बताइन्छ ।
तर, मन्त्री घिसिङले यस्ता भ्रष्ट कर्मचारीहरुलाई सरुवा नगरी उनीहरुसँगै मिलेमतो गरी कमाउधन्दा चलाउँदै आएको उल्लेख गरिएको छ । मन्त्री घिसिङले सिंचाईं, शहरी, भौतिकजस्ता मन्त्रालयको ठेक्का तोड्ने सूचना जारी गरेसँगै निर्माण व्यवसायीलाई तर्साउने र कर्मचारीलाई ठेगान लगाउने काम गरेको आरोप छ । किन कि मन्त्री घिसिङ पूर्ववर्ती सरकारले लगाएको ठेक्का र निर्माण व्यवसायले समयमा काम नगरेको ठेक्का तोड्ने चेतावनी दिए तापनि अहिलेसम्म सो काम गर्न नसकेको भनाइ छ ।

