राजनीतिक दललाई चेतना भयाँ !

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालका ठूला राजनीतिक दलहरु कमजोर हुँदै गएपछि ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझैं नयाँ व्यक्ति, वादी र स्वतन्त्रका नाममा खडा भएकाले झुण्डनहरुले देशको अस्तित्व नामेट पार्ने काम गर्दैछन् । नयाँ झुन्डहरुले गर्दा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना छैन । त्यसले गर्दा राजनीतिक स्थिरतासँगै मुलुकको अर्थतन्त्र झन् डरलाग्दो अवस्थातिर धकेलिँदै गएको छ ।

राजनीतिक दलहरु कमजोर हुँदा व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्ति हावी भएको छ । राजनीतिमा पार्टीभन्दा व्यक्ति हावी हुँदा मुलुकमा अराजकता बढ्दै जाने देखिन्छ । देशमा सरकारी जागिर खाने र राजनीति गर्नेहरुको वर्चस्व कायम हुँदै गएको छ । त्यसले गर्दा मुलुकमा संस्थागत भ्रष्टाचार, विकृति र विसंगति बढ्दै गएको छ । त्यसको उदाहरण बनेको जेनजी आन्दोलनको नाममा बनेको शुशिला कार्की नेतृत्वको सरकार ।

कार्की नेतृत्वको सरकारमा अधिकांश मन्त्रीहरु पूर्व कर्मचारीबाट आएका छन् । त्यसमा सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की आफै पूर्वप्रधान न्यायाधीश हुन् । त्यसैगरी कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कर्मचारी हुन् । उता अनिलकुमार सिन्हा पूर्वन्यायाधीश हुने भने रामेश्वर खनाल पूर्वअर्थ सचिव हुन् । यसरी पूर्व कर्मचारी र पूर्वन्यायाधीशहरुको सरकारे देशमा शान्ति सुरक्षा, सुशासन र अमनचय कसरी कायम गर्न सक्छ । ठूला राजनीतिक दलहरुलाई पाखा लगाएर उनीहरुले सत्ता कब्जा गरेका छन् ।

प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीसहित ८ वटा मन्त्रालयको जिम्मेवारी लिएकी छिन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, सिचाईँ, शहरी, भौतिक जस्ता विकासे मन्त्रालय हात पारेका छन् । उनै घिसिङले अहिले उज्यालो नेपाल नामक पार्टी खोलेर राजनीति गर्ने थलो बनाउन थालेका छन् । कुलमान घिसिङको उज्यालो नेपाल, रवि लामिछानेको रास्वपा र हर्क साङपाङको श्रम संस्कृति पार्टी व्यक्तिको सस्तो लोकप्रियताको हवाला दिँदै खोलिएका छन् । यी पार्टीहरुको सिद्धान्त, विचार र नयाँ राजनीतिक भिजन देखिँदैन । व्यक्तिगत चर्चाको नाममा सर्वसाधारण नेपालीलाई झुक्याउने उद्देश्यले यी पार्टीहरु खोलिएका छन् । व्यक्तिको चर्चाको आडमा खोलिएका यी पार्टीहरु विदेशीको इसारामा चल्दै गएका छन् । त्यसले गर्दा देशमा स्थिरता ल्याउनेभन्दा पनि विकृति र विसंगति बढाउने देखिन्छ ।

अझ अर्का नामुद खेलाडी छन् काठमाडौंका मेयर बालेन शाह । शाहले जेनजी आन्दोलनका नाममा देश नै सखाप बनाउने काम गरेका थिए । बालेको त्यो हर्कमा सहयोग पु¥याउन शुशिला कार्की, कुलमान घिसिङ, हर्क साङपाङ र जेल जीवन बिताइरहेका रवि लामिछानेको समर्थन रहेको थियो । यी व्यक्तिहरुको हर्कदले गर्दा नेपालको राजनीतिमा हिलो छ्याप्ने काम भएको छ ।

यिनै व्यक्तिहरु आगामी निर्वाचनमा हावी भएको खण्डमा देशले निकासा पाउनेभन्दा भ्रष्टाचार, विकृतिसँगै सत्ता फेरबदल हुने र अशान्ति फैलिने खतरा त्यत्तिकै छ । त्यसले गर्दा पनि राजनीनिक पार्टीहरुले आन्तरिक झगडाभन्दा एकजुट भएर अगाडि बढ्न जरुरी देखिन्छ । विदेशीहरुले पनि यिनै व्यक्ति र वादीहरुले खोलेको पार्टीमा खेल्ने छन् । त्यसले देशलाई अस्थिरतातिर धकेल्ने काम बढ्दै जाने देखिन्छ । अझ आगामी निर्वाचनमा रास्वपा, उज्यालो नेपाल, श्रम संस्कृति पार्टी र बालेन शाहहरु एकजुट भएको खण्डमा देश अझ विखन्डनतिर नजाला भन्न सकिँदैन । त्यसकारण राजनीतिक दललाई चेतना भयाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *