काठमाडौं । जेनजी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी संगठनलाई चलायमान बनाउँन नसक्दा प्रहरीको सरुवा बढुवा रोकिएको छ । मन्त्री अर्यालको काम सिडिओ सरुवामै बितेको छ । अझै निर्वाचनको आचारसंहिता लागू हुनुभन्दा एक हप्ता अगाडी फेरि सिडिओ सरुवा गर्ने आँकलन कर्मचारीहरुले गर्न थालेका छन् । सिडिओ भएको पन्ध्र दिन नपुग्दै सिडिओ सरुवा गर्ने परम्पराले गर्दा अधिकांश सेवाग्राहीको कामहरु अलपत्र पर्ने गरेका छन् ।
गृहमन्त्री आफैले रोजेर लगेका गृहसचिव रामेश्वर डंगाललाई लोकसेवा आयोग पठाएका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका राजकुमार श्रेष्ठलाई गृहसचिवमा सरुवा गरिएको छ । सरकार जुनसुकै वादिको बनेतापनि कर्मचारीहरु सरुवामा मात्रै पर्ने गरेका छन् । जेनजी आन्दोलनबाट बनेको सरकारले पुर्वावति सरकारले गरेजस्तै कर्मचारी सरुवा गरेर दिन बिताइरहेको छ । गृहप्रशासनले प्रहरी बढुवा र सरुवाको फाइल तयारी गरेर प्रधानमन्त्री कार्यालयमा पठाएतापनि प्रधानमन्त्री कार्यालयले सो सरुवा बढुवाको फाइल रोकेको बताइन्छ । निर्वाचन नजिकिदैँ गर्दा गृहमन्त्रालयले नत प्रहरी बढुवा गर्न सकेको छ नत सरुवाको व्यवस्थापन नै गर्न सकेको छ । नेपाल प्रहरीमा एसएसपी, डिएसपी र अन्य प्रहरीहरुको पनि बढुवा रोकिएको बताइन्छ । त्यसले गर्दा प्रहरी संगठन चलायमान हुन सकेको छैन ।
प्रहरी महानिरीक्षक दान बहदुर कार्कीले प्रहरी संगठनलाई चलायमान बनाउन सकेका छैनन् । कार्की महानिरीक्षक भएको पनि करिब पचास दिन हाराहारी पुगिसकेको छ । निर्वाचन नजिकिँदै छ । प्रहरी परिचालन गर्नुपर्ने समय भएको छ । निर्वाचनको लागि शान्तीसुरक्षाको व्यवस्थापन कडा गर्नुपर्ने छ । निर्वाचनसँगै प्रहरीलाई चाहिने गोलीगठ्ठा, पोशाक र वाकिट्वाकीको व्यवस्थापन पनि समयमा गर्नुपर्ने हुन्छ । तर त्यस विषयमा नत गृहमन्त्रालयले ध्यान दिएको छ नत महानिरीक्षक दानबहादुर कार्कीले नै ।

