नेताहरुको दिल्ली दौडले नयाँ खिचडी पाक्दै
काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरिरहँदा नेपाली कांग्रेसले विशेष महाधिवेशन गर्ने भनिरहेको थियो । पुस २६ देखि २८ गतेमा सम्पन्न गर्ने भनिएको विशेष महाधिवेशन नहुने स्थितिमा पुगेको छ । एकातिर कांग्रेसको विशेष महाधिवेशन नहुनु अर्कोतिर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमण सकेर नेपाल फर्किएसँगै बालेन र कुलमानलाई रास्वपामा मिलान गर्नुले नेपाली राजनीतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्योसँगै रवि र बालेनको मिलन भएको हप्तादिन नपुग्दै नेताहरुको भारत दौडधूपले गर्दा आगामी फागुन २१ गतेको निर्वाचन सर्ने सम्भावना बढ्दै गएको छ ।
उता, नेकपा एमालेले विगत लामो समयदेखि संसद् ब्युत्याउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको थियो । एमालेसँगै अन्य पेशाव्यवसायीका १७ समूहले पनि संसद् ब्युत्याउनको लागि रिट दायर गरेका थिए । पछिल्लो समय एमालेसँगै नेपाली कांग्रेसले पनि संसद् ब्यूत्याउनुपर्ने माग राखेर सर्वोच्चमा रिट दायर गरेको छ । त्यसले गर्दा नेपालको राजनीतिमा के कस्तो खिचडी पाक्छ त्यो निश्चित भइसकेको छैन ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गरेर फर्किएलगत्तै कांग्रेस नेतृ डा. आराजु राणा देउवा सोमबार स्वास्थ्य उपचारको नाममा दिल्ली पुगेकी छिन् । त्यसैगरी रास्वपाका नेता स्वर्णिम वाग्ले पनि भोलि बिहिबार भारत जाँदै छन् । एकातिर दलका नेताहरुको दिल्ली दौडधुप बढेको छ भने अर्कोतिर राजनीतिक दलहरु समानुपातिकको बन्द सुची निर्वाचन आयोगमा बुझाए चुपचाप बसिरहेका छन् । निर्वाचन नजिकिएसँगै राजनीतिकहरु प्रत्येक्षतर्फका उम्मेदवार छान्नुपर्ने, प्रचारप्रसारमा जुट्नुपर्ने ठाउँमा त्यो गरेको देखिँदैन । दलका विभिन्न जनवर्गीय संघ, संगठनहरु पनि निर्वाचनमा जुटेको पाइँदैन ।
अझै पनि नेता, कार्यकर्ता र सर्वसाधारण फागुन २१ गते नै निर्वाचन भइहाल्छ भन्नेमा विश्वस्त छैनन् । तर, निर्वाचन आयोगले भने मतपत्र छापइदेखि निर्वाचन अधिकृत खटाउने र निर्वाचन प्रहरी छनोट गर्ने कामसमेत गरिसकेको बताइरहेको छ । उता राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभालाई बलियो बनाउनको लागि पहल गरिहेका छन् । राष्ट्रिय सभाको सिट बाडफाडमा पनि बार्गेनिङ गर्न थालेका छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसी दलहरुलाई पनि केही सिट दिएर राष्ट्रिय सभाको निर्वाचन दलको पडकमा ल्याउनको लागि खेलोमेलो भइरहेको छ । त्यसले गर्दा पनि फागुन २१ गतेको निर्वाचन केही हदसम्म पर सर्ने आँकलन गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री शुशिला कार्कीका श्रीमान दूर्गा सुवेदी पनि उपचारको क्रममा अस्ति आइतवार दिल्ली पुगेका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ता अहिले मात्रै नभएर कांग्रेस र एमालेको तत्कालीन सरकारको पालामा पनि मोदीका सुरक्षा सल्लाहकारसँग दिल्लीमै वार्ता भएको थियो । त्योसँगै तत्कालीन माओवादी र एमाले सरकार बन्ने बेलामा पनि वार्ता हुँदै आएको थियो । त्यसैको आधारमा यसपालिको वार्ता पनि फलदायी हुने अनुमान विज्ञहरुले गर्न थालेका छन् ।

