रामचन्द्र बस्नेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनेको महिनादिन नपुगेको छ । बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार बनेदेखि विदेशीहरु नेपाल–आउने र जाने धन्दा फास्टाएको छ । बालेन्द्र शाह प्रधानमन्त्री बनेको केही हप्ता नपुग्दै अमेरिकी सेनाप्रमुख नेपाल आएर फर्किएका थिए भने सेनाप्रमुख फर्किएको हप्ता दिन नपुग्दै फेरि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर तीन दिने नेपाल भ्रमण गरेर फर्किएका थिए । उनी फर्किएको हप्ता दिन नबित्दै अर्का अमेरिकी उच्च अधिकारी नेपाल आउने भएका छन् । भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल आउन लागेका हुन् ।
उनी दक्षिण तथा एशियाका विशेष दूत पनि हुन् । गोरलाई अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पका विश्वास पात्रको रुपमा हेरिन्छ । उनी नेपाल आउनुपर्ने कारण पनि खुलाका छैनन् । गोर नेपाल आएर कुन–कुन शक्तिकेन्द्रलाई भेटेर के सन्देश लिएर जाने हुन् भन्ने एकिन पनि छैन । जेनजी आन्दोलनपछि शुशिला कार्की नेतृत्व सरकार बनेयता रास्वपा सरकार बनेको महिना दिनभित्रै तीन पटक अमेरिकी प्रतिनिधिहरु नेपाल भ्रमण गरिसकेका छन् । अन्य अमेरिकी प्रतिनिधिहरु को को आउने हुन् भन्ने जानकारी छैन । पछिल्लो समय विशेष गरी अमेरिकी चलखेल नेपालमा ह्वात्तै बढेको छ । त्यसैगरी चिनीयाँ प्रतिनिधिहरु पनि नेपाल आउने र जाने क्रम त्यत्तिकै छ ।
उता दक्षिण छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । तर, प्रधानमन्त्री बालेन्द्रले भारत भ्रमणमा जान ढिलासुस्ती गरेपछि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएको छन् । मिश्री यही वैशाख ३०–३१ गतेसम्म नेपाल आउनको लागि परराष्ट्रमन्त्रालयमा पत्राचार गरेका थिए । भारतको प्रस्तावपछि परराष्ट्रमन्त्रालयले उनको भ्रमणको लागि औपचारिक निम्तो पठाइसकेको छ । मिश्री के उद्देश्यले नेपाल आउने हुन् र कस्तो सन्देश लिएर भारत फर्किन्छन् भन्नेबारे सार्वजनिक भइसकेको छैन । भन्न त भारतले नेपालसँग सहकार्य गर्नको लागि विदेश सचिव मिश्रीलाई नेपाल पठाउने भनेको छ ।
अघिल्ला सरकारहरुको पालामा भारत र चीनका प्रतिनिधिहरु नेपालमा बढी आउने–जाने गर्दथे. । तर, जेनजी आन्दोलनपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारदेखि रास्वपा सरकार बनेपछि छिमेकी मुलुक भारत र चीनको भन्दा पश्चिमाहरुको नेपाल आउने–जाने चलखेल बढिरहेको छ । पश्चिमाहरुले चलखेल गर्नु भनेको नेपालको हितमा नभई देशलाई द्वन्द्वतिर भड्काउने देखिन्छ । किन कि नेपालमा पश्चिमाहरुको आँखा पर्नुको मुख्य कारण खानी, जढीबूटी र प्राकृतिक स्रोत नै हो । नेपालका विभिन्न खानिज पद्धार्थ र जडीबुटीलाई उपयोगमा ल्याउने नाममा अमेरिकाले चलखेल गर्नु भनेको चीनसँग नेपालको सम्बन्ध बिगार्नु हो ।
अमेरिकाले नेपालका अनिज पद्धार्थ र जडीबूटीमा आँखा लगाउन थालेपछि उत्तरी छिमेकी मुलुक चीनले पनि चासो बढाउन थालेको छ । त्यसको लागि ‘बेल्ट एण्ड रोड’ विकासको अवधारणा (बीआरआई) सहायता अगाडि बढाएको छ । त्यसको माध्यमबाट प्राविधिक नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राख्ने भनेको छ । तर, अमेरिका र चीनले नेपालको विकासमा चासो राखिँरहँदा छिमेकी मुलुक भारतले पनि चासो बढाएको छ । यसरी तीन शक्तिशाली राष्ट्रहरुले नेपालमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चासो बढाउनु भनेको नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप हुने आँकलन विज्ञहरुले गर्न थालेका छन् । रास्वपा सरकार बनेदेखि नेपालमा अमेरिकाले चासो बढाउँदा चीनले पनि त्यत्तिकै चासो राखेको छ । विकासको नाममा अमेरिका र चीनको चासो बढ्नु नेपालजस्तो भूपरिवेष्ठित मुलुकको हितभन्दा खतरा बढी हुने देखिन्छ । त्यसलाई मध्यनजर गरेर सरकार सम्बन्धित निकाय र सरोकारवालाले गम्भीर हुन जरुरी छ ।

