काठमाडौं । केही वर्ष पहिलादेखि नेपालीहरु भिजिट भिसामा लुकीछिपी विदेश जाने गरेका थिए । तर, तत्कालीन सरकारहरुले त्यसलाई कडिकडाउ गर्दै आएका थिए । २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले नेपालीहरुलाई विदेश जानको लागि भिजिट भिसा खुल्ला गरेको थियो । सरकारले भिजिट भिसा खुल्ला गरेपछि एयरपोर्ट अध्यागमन कार्यालयबाट अधिकांश नेपालीहरु विभिन्न देशमा भिजिट भिसाबाट विदेश जाने गरेका छन् ।
भिजिट भिसामा विदेश जानेहरुको लर्को लाग्ने गरेको छ । सरकारले कुन देशमा जान मिल्ने कुनमा जान नमिल्ने भनेर कुनै मापदण्ड तोकेको छैन । तर, विचौलियाहरु र ट्राभल एजेन्सीहरुले महिलाहरुलाई घरेलु कामदारको लागि कुवेत, बहराइन, ओमनजस्ता देशहरुमा पठाउने गरेका छन् भने केही पुरुषहरुलाई आकर्षक सेवासुविधा देखाएर इराकसम्म पु¥याउने धन्दा पनि भित्रभित्रै चलिरहेको स्रोतले उल्लेख गरेको छ । तर, सरकारले यस्ता विषयमा कुनै चासो देखाएको छैन ।
विचौलिया र केही मानव तस्करहरुले नेपाली कामदारलाई लुकिछिपी अवैध बाटोहुँदै इराकलगायतका विभिन्न देशहरुमा पठाउने गरेका घटनाहरु पत्रपत्रिकामा नआएका होइनन् । गत हप्ता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा कुवेत जान भनि लागेका नेपाली महिलाहरुलाई ओमन जान लागेको जानकारी पाएपछि २७ जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको थियो । खासगरी अधिकांश महिलाहरु घरेलु कामदारको लागि कुवेत, मकाउ, ओमन, साउदीजस्ता देशहरुमा विचौलिया र आफन्तहरुले पठाउने गरेका छन् । आफन्तले पठाएका महिला कामदारहरु घरेलु हिंसामा पर्ने गरेका समाचारहरु पनि सामाजिक सञ्जालदेखि विभिन्न पत्रपत्रिकामा आइरहेका छन् । युवा श्रम तथा रोजगार मन्त्रालय, अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले भिजिट भिसामा विदेश पठाउने विचौलियाहरुलाई कडा गर्नुपर्नेमा त्यो नगरी उल्टै खुलमखुला विदेश पठाउन सहयोग गरिरहेका छन् ।
त्यसले गर्दा अधिकांश नेपाली महिलाहरु भिजिट भिसामा खाडी मुलुक लगायत विभिन्न देशमा घरेलु कामको लागि विदेशिरहेका छन् । अर्काेतर्फ मेनपावर सञ्चालक र कर्मचारीहरुको मिलेमत्तोमा सेटिङ गरी विदेश पठाउने धन्दा फस्टाइरहेको छ । त्यसैगरी मेनपावर सञ्चालकहरुले युरोप र खाडीमूलुकहरुबाट कामदार माग भएको डिमान्ड लेटर पत्रिकामा सूचना निकालेर श्रम स्वीकृति लिनेहरु त्यत्तिकै रहेका छन् ।
वेदेशिक रोजगार विभागमा संस्थागत श्रम स्वीकृति, इन्डीभिज्योल शाखा, रिइन्ट्री शाखा, संस्था दर्ता र रिन्यु शाखामा बसेर घुस लिने कर्मचारीहरु रविन्द्र सिंँह, सहाजिया खातुन, तेजप्रसाद शर्मा, सुशिल कुमार दास, रिन्कु गुप्ता, मानबहादुर बुढा, राजेन्द्र श्रेष्ठको हालीमुहाली चलेको छ भने प्रशासन शाखामा बस्दै आएकी बिन्दा आचार्यको सेटिङ रहेको पीडितको भनाइ छ । तर यस्ता कर्मचारीलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाहीको दायरामा ल्याउन नसकेको बताइन्छ । आचार्यको सम्पक्ति छानबिनको आवाज विभागभित्र उठ्न थालेको छ । भक्तपुरको ठिमीस्थित एक रोपनी जग्गामा बनेको घर बेचेर बालकोटको रोज भिज्योल कोलोनीमा घर किनेको बताइन्छ । त्यसले गर्दा जागिर खाएर यति छिट्टै कोलोनीभित्र घर किन्ने पैसा कहाँबाट आयो बन्ने चर्चा मन्त्रालयमा चल्न थालेको छ ।

