प्रकाश अधिकारी, नगर प्रमुख टोखा नगरपालिका
काठमाडौं उपत्यकाभित्र तीव्र रूपमा विकास र विस्तार भइरहेको नगरपालिकामध्ये टोखा नगरपालिका पछिल्लो समय विशेष चर्चामा छ। २०७४ सालमा स्थानीय सरकार गठन हुँदा अधिकांश सडक कच्ची, ढल व्यवस्थापन अव्यवस्थित, सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा र आधारभूत पूर्वाधार कमजोर रहेको टोखा आज पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन र नगर व्यवस्थापनका कारण फरक पहिचान बनाउन सफल भएको दाबी गरिन्छ। विशेषगरी विष्णुमती करिडोर निर्माण, सार्वजनिक जग्गा संरक्षण अभियान, सडक तथा ढल विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका जनमुखी कार्यक्रम, मेयर दिवा खाजा कार्यक्रम, दीर्घरोगीलाई निःशुल्क औषधि वितरण, नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था, मेयर उज्यालो कार्यक्रम, कर सप्ताह तथा व्यवसाय दर्ता अभियानलगायतका योजनाले टोखालाई काठमाडौं उपत्यकाको विकसित र व्यवस्थित नगरपालिकाको रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ। एकातर्फ विकास निर्माणका कामले प्रशंसा बटुलिरहेका छन् भने अर्कोतर्फ बढ्दो जनसंख्या, ट्राफिक व्यवस्थापन, अव्यवस्थित सहरीकरण, वातावरणीय चुनौती तथा दीर्घकालीन शहरी योजनाका विषयमा प्रश्नहरू पनि उठिरहेका छन्। सार्वजनिक जग्गा संरक्षणका क्रममा प्रभावशाली व्यक्तिहरूसँग भएको टकराव, करिडोर निर्माणका चुनौती तथा नगर विकासका प्राथमिकताबारे पनि जनचासो उत्तिकै छ । यिनै विषयमा केन्द्रित रहेर हामीले टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीसँग विकास, सुशासन, सार्वजनिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन, राजस्व व्यवस्थापन र टोखाको भावी मार्गचित्रबारे विस्तृत कुराकानी गरेका छौं। प्रस्तुत छ, टोखा नगरपालिकाको विगत, वर्तमान र भविष्यबारे नगर प्रमुख प्रकाश अधिकारीसँग गरिएको विशेष अन्तरवार्ता।
२०७४ सालमा स्थानीय सरकार गठन हुँदा टोखाका अधिकांश सडक कच्ची र जीर्ण अवस्थामा थिए । आजको टोखा र त्यसबेलाको टोखाबीचको मुख्य अन्तरलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?
२०७४ सालमा हामी निर्वाचित भएर आउँदा टोखा तीव्र रूपमा बसोबास बढिरहेको नगरपालिका भए पनि आधारभूत पूर्वाधारको अवस्था निकै कमजोर थियो। अधिकांश सडकहरू कच्ची थिए, वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या अत्यधिक थियो। ढल व्यवस्थापन व्यवस्थित थिएन, खानेपानीको पहुँच सीमित थियो र शहरी विकासको स्पष्ट दीर्घकालीन योजना पनि थिएन। आजको अवस्था हेर्दा टोखा पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको नगरपालिका बनेको छ। अधिकांश मुख्य सडक कालोपत्रे भएका छन्, भित्री सडकहरू ढलान भएका छन्, ढल व्यवस्थापन विस्तार भएको छ, हजारौं सडकबत्ती जडान भएका छन्, सीसी क्यामेरा नेटवर्क विस्तार भएको छ र विष्णुमती करिडोर निर्माणले नयाँ सम्भावनाको ढोका खोलेको छ। हामीले विकासलाई केवल सडक निर्माणमा सीमित राखेनौं। शिक्षा क्षेत्रमा मेयर दिवा खाजा कार्यक्रम, स्वास्थ्य क्षेत्रमा निःशुल्क औषधि तथा रगत उपलब्ध गराउने कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण अभियान र डिजिटल सेवा विस्तारजस्ता काम पनि गरेका छौं। त्यसैले आजको टोखा र २०७४ सालको टोखाबीचको मुख्य अन्तर भनेको योजनाबद्ध विकास, व्यवस्थित शहरीकरण र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तन हो।
० तपाईंले कार्यकालको सुरुदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिनुभयो । सडक, ढल, खानेपानी र करिडोर निर्माणमध्ये सबैभन्दा ठूलो उपलब्धि कुनलाई मान्नुहुन्छ ?
यी सबै क्षेत्र महत्वपूर्ण भए पनि म व्यक्तिगत रूपमा विष्णुमती करिडोर निर्माणलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिन्छु । सडक, ढल र खानेपानी विकासका आधारभूत पक्ष हुन्, तर करिडोर परियोजनाले टोखाको दीर्घकालीन विकासको दिशा नै परिवर्तन गर्न सक्छ। करिडोरले यातायात सहज बनाउने मात्र होइन, नदी संरक्षण, वातावरणीय सुधार, सार्वजनिक खुला क्षेत्र निर्माण, आर्थिक गतिविधि विस्तार र शहरी व्यवस्थापनलाई समेत नयाँ उचाइमा पु¥याउनेछ। वर्षौंदेखि अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याएर सार्वजनिक हितका लागि प्रयोग गर्न सफल हुनु पनि ठूलो उपलब्धि हो। हामीले नयाँबसपार्कदेखि ग्राण्डी क्षेत्रसम्म सडक ट्र्याक खोल्यौं, सार्वजनिक जग्गा संरक्षण ग¥यौं र भविष्यमा बुढानीलकण्ठसम्म जोडिने योजना अघि बढाएका छौं। त्यसैले करिडोरलाई म केवल एउटा सडक परियोजना नभई टोखाको भविष्य निर्माण गर्ने रणनीतिक योजना मान्छु।
० विष्णुमती करिडोरलाई टोखाको विकासको मेरुदण्ड मानिएको छ । यो परियोजनाले टोखाको आर्थिक, सामाजिक र शहरी विकासमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ?
विष्णुमती करिडोर पूर्ण रूपमा सम्पन्न भएपछि टोखाको विकासले नयाँ गति लिनेछ भन्ने हाम्रो विश्वास छ। पहिलो कुरा, यसले ट्राफिक व्यवस्थापनमा ठूलो सुधार ल्याउनेछ। अहिलेको सडक चापलाई कम गर्दै वैकल्पिक मार्ग उपलब्ध गराउनेछ। आर्थिक रूपमा हेर्दा करिडोर आसपास नयाँ व्यवसाय, पर्यटन गतिविधि, होटल, रेस्टुरेन्ट, व्यापारिक केन्द्र र सेवा क्षेत्र विस्तार हुनेछन्। जग्गाको मूल्य वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ। सामाजिक रूपमा सार्वजनिक पार्क, खुला व्यायामशाला, फुटपाथ, हरियाली क्षेत्र र मनोरञ्जन स्थल विकास हुनेछन्। यसले नागरिकको जीवनस्तरमा सुधार ल्याउनेछ। वातावरणीय दृष्टिकोणले नदी संरक्षण, वृक्षारोपण र प्रदूषण नियन्त्रणमा पनि महत्वपूर्ण योगदान पुग्नेछ। हामी करिडोरलाई केवल सडक नभई आधुनिक, व्यवस्थित र वातावरणमैत्री शहरी विकासको आधारका रूपमा हेर्छौं।
० सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत हजारौं रोपनी सरकारी जग्गा संरक्षण गरिएको छ । यो अभियान सञ्चालन गर्दा कस्ता चुनौती र दबाब सामना गर्नुप¥यो ?
सार्वजनिक जग्गा संरक्षण अभियान सजिलो थिएन। दशकौंसम्म व्यक्तिले प्रयोग गर्दै आएका जग्गा फिर्ता ल्याउँदा स्वाभाविक रूपमा विरोध, दबाब र असन्तुष्टि आउने नै भयो। कतिपय ठाउँमा कानुनी जटिलता थिए, कतिपय स्थानमा सामाजिक विवाद थिए। केही व्यक्तिले राजनीतिक प्रभाव प्रयोग गरेर प्रक्रिया रोक्ने प्रयास पनि गरे। तर हामीले सबै काम कानुनी आधारमा, नापजाँच गरेर र आवश्यक सूचना दिएर अघि बढायौं। हामीले कसैको निजी अधिकार हनन गर्ने होइन, सार्वजनिक सम्पत्ति जनताको हितका लागि संरक्षण गर्ने उद्देश्य राख्यौं। त्यसैले चुनौतीहरू भए पनि जनताको साथ र कर्मचारी प्रशासनको सहयोगले अभियान सफल हुँदै गयो।
० प्रभावशाली व्यक्ति वा संस्थाले कब्जा गरेका सार्वजनिक जग्गा फिर्ता ल्याउँदा राजनीतिक तथा सामाजिक अवरोध कति झेल्नुप-यो ?
अवश्य पनि अवरोध थिए। सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू सबै कमजोर वर्गका मात्र थिएनन्। कतिपय प्रभावशाली व्यक्ति, व्यवसायिक समूह र विभिन्न पहुँच भएका व्यक्तिहरू पनि थिए। तर हामीले कसैलाई राजनीतिक आस्था, पद वा पहुँचका आधारमा छुट दिने नीति लिएनौं। सार्वजनिक जग्गा भनेको सम्पूर्ण जनताको सम्पत्ति हो। त्यसैले कानून सबैका लागि समान हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढ्यौं। कतिपय अवस्थामा दबाब आए, आलोचना भयो, तर हामी विचलित भएनौं। अन्ततः अधिकांश स्थानीयले पनि सार्वजनिक हितको पक्षमा समर्थन गर्नुभयो। त्यसैले आज अभियान सफल भएको छ।
० टोखालाई काठमाडौं उपत्यकाकै तीव्र विकास गर्ने नगरपालिकामध्ये एक मानिन्छ । यो सफलता नेतृत्वको परिणाम हो कि टोलीगत प्रयासको ?
विकास कुनै एक व्यक्तिको प्रयासबाट सम्भव हुँदैन। नेतृत्वले दिशा दिन सक्छ, तर त्यसलाई सफल बनाउन समग्र टोलीको भूमिका आवश्यक हुन्छ। नगर उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय समुदाय र नागरिकहरूको सहयोगबिना कुनै पनि योजना सफल हुन सक्दैन। मैले सधैं टोलीभावनामा विश्वास गरेको छु। हामीले साझा लक्ष्य बनाएर काम ग¥यौं, त्यसैले आज उपलब्धि हासिल गर्न सकेका छौं। यो सफलता सम्पूर्ण टोखाबासीको हो।
० टोखामा बढ्दो जनसंख्या र सहरीकरणसँगै स्वास्थ्य, शिक्षा र खानेपानी सेवाको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
टोखा काठमाडौं उपत्यकामा सबैभन्दा तीव्र रूपमा जनसंख्या बढिरहेको नगरपालिकामध्ये एक हो। सहरीकरण बढ्दै जाँदा सेवा प्रवाहको माग पनि स्वाभाविक रूपमा बढ्छ। हामीले यही चुनौतीलाई अवसरका रूपमा लिएर दीर्घकालीन योजना अनुसार काम गरिरहेका छौं। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको स्तरोन्नति, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं। शिक्षामा विद्यालय पूर्वाधार सुधार, मेयर दिवा खाजा कार्यक्रम, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीमैत्री वातावरण निर्माणमा ध्यान दिएका छौं। खानेपानीको क्षेत्रमा विभिन्न खानेपानी आयोजनासँग समन्वय गरेर वितरण प्रणाली सुधार गर्ने, नयाँ बस्तीमा पहुँच विस्तार गर्ने र दीर्घकालीन स्रोत संरक्षणमा काम गरिरहेका छौं। बढ्दो जनसंख्याको आवश्यकतालाई मध्यनजर गर्दै आगामी वर्षहरूमा थप लगानी र योजनाबद्ध विकासलाई प्राथमिकता दिनेछौं।
० फोहोर व्यवस्थापन, नदी सफाइ र वायु प्रदूषण नियन्त्रणका क्षेत्रमा टोखा नगरपालिकाले के–कस्ता उपलब्धि हासिल गरेको छ ?
विकास केवल भवन र सडक निर्माण मात्र होइन, सफा र स्वस्थ वातावरण निर्माण पनि हो। टोखा नगरपालिकाले वातावरण संरक्षणलाई विकासको अभिन्न अंग मानेर काम गरिरहेको छ। हामीले घर–घरमा फोहोर संकलन प्रणालीलाई व्यवस्थित बनाएका छौं। विभिन्न वडामा डस्टबिन वितरण गरिएको छ। विष्णुमती नदी र अन्य खोलाको नियमित सफाइ कार्यक्रम सञ्चालन गर्दै आएका छौं। प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरेर स्थानीय समुदायलाई समेत सहभागी बनाइएको छ। वायु प्रदूषण नियन्त्रणका लागि सार्वजनिक यातायातका साधनहरूको धुवाँ परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छौं। हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको छ। करिडोर क्षेत्रमा समेत व्यापक वृक्षारोपण गरिएको छ। वातावरणीय सन्तुलन कायम राख्दै विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
० मेयर उज्यालो कार्यक्रम अन्तर्गत हजारौं सडकबत्ती र सयौं सीसी क्यामेरा जडान गरिएको छ । यसले सुरक्षा र नागरिक जीवनमा कस्तो परिवर्तन ल्याएको छ ?
सुरक्षित र व्यवस्थित शहर निर्माण गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व हो। टोखा नगरपालिकाले यही उद्देश्यका साथ मेयर उज्यालो कार्यक्रम सञ्चालन गरेको हो। हजारौं सडकबत्ती जडान भएपछि रातिको समयमा आवतजावत सहज भएको छ। अँध्यारा क्षेत्र उज्यालो भएका छन्। विशेषगरी महिला, विद्यार्थी र ज्येष्ठ नागरिकका लागि सुरक्षित वातावरण सिर्जना भएको छ।
त्यसैगरी सयौं सीसी क्यामेरा जडान गरिएपछि अपराध नियन्त्रण, दुर्घटना अनुसन्धान तथा सुरक्षा व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ। प्रहरी प्रशासनसँग समन्वय गरेर क्यामेरा प्रणाली प्रयोग भइरहेको छ। यसले नागरिकमा सुरक्षा अनुभूति बढाएको छ। आधुनिक शहरका लागि प्रविधिमैत्री सुरक्षा प्रणाली आवश्यक हुन्छ र टोखाले त्यसतर्फ महत्वपूर्ण कदम चालेको छ।
० विकासका धेरै काम भए पनि कतिपयले अझै ट्राफिक व्यवस्थापन, अव्यवस्थित बसोबास र पूर्वाधारको दीर्घकालीन योजनामा प्रश्न उठाउने गरेका छन् । तपाईंको प्रतिक्रिया के छ ?
सुझाव र आलोचनालाई म सकारात्मक रूपमा लिन्छु। तीव्र सहरीकरण भइरहेको नगरपालिकामा सबै समस्या एकैपटक समाधान हुन सक्दैनन्। केही चुनौती अझै बाँकी छन् भन्ने कुरा हामी स्वीकार गर्छौं। ट्राफिक व्यवस्थापन, पार्किङ, अव्यवस्थित बस्ती व्यवस्थापन र दीर्घकालीन शहरी योजनाका विषयमा हामी निरन्तर काम गरिरहेका छौं। विष्णुमती करिडोर निर्माण, सडक विस्तार, सार्वजनिक जग्गा संरक्षण तथा मेट्रिक प्रणालीमा घर नम्बरिङ कार्यक्रम पनि त्यही दीर्घकालीन सोचको हिस्सा हो। महत्वपूर्ण कुरा के हो भने हामी समस्यालाई बेवास्ता गर्दैनौं। योजना बनाएर क्रमशः समाधानतर्फ अघि बढिरहेका छौं। विकास एक निरन्तर प्रक्रिया हो, अन्तिम गन्तव्य होइन।
० आफ्नो कार्यकालको सबैभन्दा गर्व गर्नलायक उपलब्धि र अझै पूरा गर्न नसकेको एउटा महत्वपूर्ण सपना के हो ?
मलाई सबैभन्दा गर्व लाग्ने कुरा भनेको टोखाको विकासप्रति जनतामा विश्वास जगाउन सफल हुनु हो। पूर्वाधार विकास, सार्वजनिक जग्गा संरक्षण, शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा हामीले उल्लेखनीय उपलब्धि हासिल गरेका छौं। विशेषगरी विष्णुमती करिडोर निर्माण र सार्वजनिक जग्गा संरक्षण अभियानलाई म ऐतिहासिक उपलब्धि मान्छु। दशकौंसम्म सम्भव नभएको कामलाई व्यवहारमा उतार्न सफल भएका छौं। तर अझै एउटा सपना बाँकी छ—टोखालाई पूर्ण रूपमा व्यवस्थित, आधुनिक र नमुना स्मार्ट नगरपालिका बनाउने। करिडोरको पूर्णता, व्यवस्थित शहरी विकास र गुणस्तरीय सार्वजनिक सेवाको लक्ष्य अझै पूरा गर्न बाँकी छ र त्यसतर्फ हामी निरन्तर लागिरहेका छौं।
० आगामी पाँच वर्षमा टोखालाई कस्तो नगरपालिका बनाउने लक्ष्य छ र टोखाबासीलाई दिन चाहनुभएको मुख्य सन्देश के हो ?
आगामी पाँच वर्षमा टोखालाई काठमाडौं उपत्यकाकै उत्कृष्ट, व्यवस्थित, सुरक्षित र वातावरणमैत्री नगरपालिका बनाउने हाम्रो लक्ष्य छ। पूर्वाधार विकासलाई थप गति दिने, करिडोरलाई पूर्णता दिने, डिजिटल सेवा विस्तार गर्ने, शिक्षा र स्वास्थ्यलाई अझ प्रभावकारी बनाउने तथा रोजगारी र आर्थिक गतिविधि बढाउने योजना छ। सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन, स्वच्छ वातावरण र सुशासनलाई पनि उत्तिकै प्राथमिकता दिइनेछ। विकासका उपलब्धिलाई दिगो बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो। टोखाबासीलाई मेरो सन्देश यही छ—नगरको विकास सरकार एक्लैले गर्न सक्दैन। नागरिक, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, युवा र सम्पूर्ण समुदायको सहकार्य आवश्यक हुन्छ। हामी सबै मिलेर टोखालाई समृद्ध, व्यवस्थित र गौरव गर्न लायक नगरपालिका बनाउन सक्छौं। नगरपालिकाले जनताको विश्वासलाई सधैं सम्मान गर्दै विकास र सेवाको यात्रालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ।

