काठमाडौं । चर्चामा छ इ पासपोर्ट प्रकरण । यही प्रकरणमा परराष्ट्र मन्त्रालयका कर्मचारीहरु फन्दामा परेका छन् । अख्तियारले राहदानी खरिदमा महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दादायर गर्दा विभागका सूचना प्रविधि निर्देशक (उपसचिव) सुनिलकुमार केसी, विभाग कै अर्का उपसचिव शत्रुधनप्रसाद शर्मा पोखरेल (पोर्चुगल), परराष्ट्र मन्त्रालयका लेखा उपसचिव (नयाँदिल्लीस्थित भारतीय राजदूतावासमा कार्यरत) भेषप्रसाद भुर्तेल, मन्त्रालयका तत्कालीन कानुन उपसचिव पुष्कर नेपाल (न्यूयोर्क), उपसचिव रविन्द्रराज भण्डारी (नयाँदिल्ली), उपसचिव सोमेश थापा राहादानी विभाग (तत्कालीन अधिकृत), कानुन उपसचिव राजाराम गौतम (परराष्ट्र मन्त्रालय), राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद आचार्य (हाल पानी जहाज कार्यालय) र आईटी अधिकृत विपिन प्रसाईं प्रतिवादी बनेका छन् । एकै पटक ११ जना कर्मचारीहरु भ्रष्टाचार मुद्धामा निलम्बन परेका छन् ।
जसमध्ये नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत उपसचिवद्वय भेषप्रसाद भुर्तेल र रवीन्द्र राजभण्डारी पनि जोडिएका छन् । मुद्धा चलेर निलम्बनमा परेकामध्ये रवीन्द्र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीका सहोदर भाइ हुन । उनी यस अघि राहदानी विभागमा थिए । त्यतैबाट दिल्ली पुगेका हुन । यस्तै लेखाका उपसचिव भेषप्रसाद भुर्तेल दिल्लीस्थित नेपाली राजदूतवासमा कार्यरत थिए उनी पनि निलम्बनमा परेका छन् । निलम्बनमा परेका ११ जना मध्ये ९ जना परराष्ट्र मन्त्रालय मातहत कार्यरत रहेका थिए ।
एकै पटक परराष्ट्रका एक दर्जन कर्मचारी निलम्बनमा हुँदा सोमबारमात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ । आठ पटक मन्त्री बनेका र ५ पटक अर्थ मन्त्रालय हाँकेका विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । यसअघि मीनबहादुर गुरुङ्गहरुसँग जोडिएर वालुवाटार जग्गा काण्डमा मुछिएर अदालतबाट सफाइ पाएका पौडेल व्यवसायी दीपक भट्टलाई लाभ हुने गरी निर्णय गरेको आरोप छ । तर सो आरोप प्रमाणित भएको छैन् । पौडेल भट्टसँग जोडिए कै विषयमा पक्राउ परेका हुन् । सरकारले हालै शंकर समूहका संचालक, इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकहरूविरुद्ध धितोपत्र, बिमा र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । सोही विषयलाई लिएर पौडेललाई पनि पक्राउ गरिएको छ । कम्युनिष्ट पार्टीहरुबीच एकता गर्ने गरी काम गरिरहेका पौडेललाई यही समयमा पक्राउ गर्नुका पछाडि अनेकन कोणबाट हेर्ने थालिएको छ । उनको चर्चा र परिचर्चा यहाँ किन गरिएको हो भने उनको बुहारी परराष्ट्रका अधिकारीहरु नेपो बेबीका रुपमा चिन्छन् ।
ससुरा सत्तामा हुँदा रातारात उनका लागि दरबन्दी थप्नेदेखि सदैव आकर्षक कार्यालयमा पदस्थापन हुन सफल पूर्व अर्थमन्त्री विष्णु पौडेलको बुहारी हुन् प्रमिता अधिकारी । उनी वालुवाटार जग्गा काण्डमा मुछिएका नवीन पौडेलकी पत्नी हुन् । यस अघि उनलाई शाखा अधिकृतबाट उपसचिवमा उकाल्नकै लागि रातारात दरबन्दी थपिएको थियो । त्यस पछि अष्ट्रेलियाको क्यानबेराबाट अमेरिकाको न्युयोर्क पुगिन जहाँ मासिक १० लाख तलब भत्ता बुझ्न पाइन्छ । जबकी परराष्ट्रले तयार पारेको कार्यविधि अनुसार कुनै पनि कर्मचारीलाई ‘क’ वर्गको नियोगबाट ‘क’ वर्गमै सरूवा गर्न प्रतिवन्ध लगाएको छ तर प्रमिताको हकमा यस्ता नीति लागू हुँदैन । प्रतिमाको साथै पूर्व सचिव उमेश मैनालीकी बुहारी प्रथमा उप्रेती सदैव आकर्षक कार्यालयमा पदस्थापन हुन सफल भएकी हुन् । प्रथमा लामो समय न्युयोर्क बसिन त्यहाँबाट सरूवा भएर काठमाडौं आएको केही समयमै सार्क सचिवालयमा ‘पोस्टिङ’ गराउन सफल भइन । ‘क’ वर्गको संयुक्त राष्ट्र संघको स्थायी नियोग, न्युयोर्कबाट फर्किएकी प्रथमा ‘क’ वर्ग कै सार्क सचिवालयमा बस्न कार्यविधिले नरोके पछि नेपो बेवीहरुको हकमा यस्ता कार्यविधिहरु लागू नहुने परराष्ट्रकै अधिकारीहरु बताउँछन् ।
०००

