काठमाडौं । वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु दिनप्रतिदिन बढे तापनि सरकारले ठगीधन्दा नियन्त्रण गर्न सकेको छैन । विभागले नियन्त्रण गर्न नसकेपछि मेनपावर र कन्सलटेन्सीमार्फत् विचौलियाहरुले बिना श्रम स्वीकृति नेपालीहरुलाई युरोप र खाडी देशहरुमा पठाउँदै आएका छन् । बिना श्रम स्वीकृति भिजिट भिसा र वैकल्पिक बाटो प्रयोग गरी विदेश पठाइएका अधिकांश नेपालीहरु विदेशमा अलपत्र पर्ने गरेका छन् । कतिपयले विदेशमा काम नपाएर नेपाल फर्किएर आफू ठगिएको उजुरी वैदेशिक रोजगार विभाग र बोर्डमा दिने गरेका छन् । तर, ती दुवै संस्थाले त्यस्ता पीडितहरुको छिटो उद्दार र क्षतिपूर्ति दिलाउन सकेका र्छैनन् ।
अहिले पनि वैदेशिक रोजगार विभागमा ४४ हजार हाराहारी ठगीका उजुरीहरु रहेका छन् । म्यानपावर कम्पनीहरुसँग जोडिएका अधिकांश उजुरीहरुको फछ्र्योट नहुँदा नविकरणसमेत रोक्का हुने भनिएको छ । अघिल्लो वर्षहरुमा कर्मचारी र म्यानपावर कम्पनी सञ्चालकहरुको मिलेमतोमा आर्थिक चलखेल गरी म्यानपावर कम्पनी नविकर र नयाँ दर्ता हुने गरेका थिए । तर, अहिले विभागले उजुरी फछ्र्योट नगरेका म्यानपावर कम्पनीको नविकरण रोक्का गर्ने भनेर महानिर्देशक मीरा आचार्यले फण्डा मच्चाउने काम गरेकी छिन् ।
असार मसान्तभित्रमा म्यानपावर कम्पनीहरु नविकरण गरिसक्नुपर्ने हुन्छ । विगत वर्षहरुमा म्यानपावर सञ्चालक, विचौलिया र विभागका कर्मचारीहरुको मिलेमतोमा आर्थिक चलखेल गरी मापदण्ड नपुगेका कम्पनीहरको नविकरण गर्ने गरेका थिए । यसपटक विगत वर्षमा जस्तै आर्थिक वर्षको अन्त्यमा हुने आर्थिक चलखेल र बिनामापदण्डका कम्पनी नविकरण हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ । असार मसान्त नजिकिएसँगै वैदेशिक रोजगार विभागको खासगरी अनुगमनमा जाने, मुद्दा फाँटमा बस्ने र नविकरण फाँटमा बस्ने कर्मचारीहरुको दशंै सुरु भएको छ । उता, व्यक्तिगत श्रम स्वीकृति शाखा, पूर्व स्वीकृति शाखा र संस्थागत श्रम स्वीकृति शाखामा बस्ने कर्मचारीहरुले तीन÷तीन महिना शाखा परिवर्तन गरी कमाउधन्दा चलाइरहेका छन् ।
विभागमा महानिर्देशक र निर्देशक महिला भएकै कारण विचौलियाहरुमा पनि महिलाहरुकै चलखेल बढेको छ । कतिपय पीडितहरुले तलदेखि माथिसम्म महिला कर्मचारी भएकै कारण आफ्नो समस्या खुलेर बताउन नसकेको गुनासो पोखिरहेका छन् । पछिल्लो समय पुरुषको तुलनामा महिला कर्मचारीहरु बढी भ्रष्टाचारी भएको बताइन्छ । वैदेशिक रोजगार विभागमा पनि महिला कर्मचारी र विचौलियाको हालीमुहाली भएपछि पीडितहरु झन् पीडित भएको गुनासो छ । महिला कर्मचारीहरुले घुसबिन कुनै फाइल अगाडि नबढाउने भएकाले पीडितको गुनासो बढिरहेको छ । गुनासो शाखाका कर्मचारीहरुले पनि पीडितकोभन्दा पीडकको कुरा बढी सुन्ने गरेको एक पीडितले तामाकोशी प्रतिनिधिसँग बताएका छन् ।

