रास्वपाभित्र नयाँ प्रधानमन्त्रीको खोजी

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १८२ जना सांसदमा नेपाली कांग्रेस छाडेर रास्वपा छिरेका २६ जना, एमालेबाट गएका २२ र माओवादीबाट गएका १६ जना रहेका छन् । पुरानो दल कांग्रेस, एमाले र माओवादी त्यागेर रास्वपा छिरेकाहरु ६४ सांसद बनेका छन् । पुरानो दलमा बसेर लामो समयदेखि विभिन्न आन्दलनमा सहभागी भई राजनीतिक अनुभव बटुलेका ती ६४ सांसदलाई उनीहरुको अनुभव अनुसारको जिम्मेवारी रास्वपाले दिएको पाइँदैन । विभिन्न पार्टीमा बसेर सरकार सञ्चालनको अनुभव भएका ती ६४ जना सांसदलाई सरकारमा सहभागी पनि गराइएको छैन । अन्य दल त्यागेर रास्वपामा सांसद बने तापनि पुराना दलबाट गएकाहरुलाई रास्वपाले खासै विश्वास गरेको पाइँदैन । ६४ जना सांसदको भूमिका संसद्मा प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीहरुले बोलेका जुनसुकै कुरामा सही थाप्दै ताली बजाउनेबाहेक अन्य भूमिका दिएको पाइँदैन । राजनीतिमा लामो अनुभव भए तापनि रास्वपा छिरेपछि उनीहरुले के सही के गलत भनेर छुट्याउन सकेका पनि छैनन् । प्रधानमन्त्री साहले नेपाली जनताले भारतीय भूमि मिचेका छन् भनेर बोल्दा रास्वपाका अन्य सांसदसँग उनीहरु पनि ताली बजाइरहेका थिए ।

अन्य पुराना दलबाट गएका बाहेक रास्वपाभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह समर्थक दुई गुट छन् । तर, पुराना दलबाट गएका ६४ जना सांसद बालेन र रविमध्ये कतातिर छन् भन्ने एकिन भएको छैन । अहिलेसम्म उनीहरु सरकारको अन्दभक्त भएर तालीबजाइरहेका छन् । संसदमा बोल्दा पनि रास्वपाको अन्दभक्त भएर सरकारको समर्थनमा लाग्ने गरेका छन् । आफ्नो चुनावी क्षेत्र, त्यहाँका जनताको गुनासो र विकास निर्माणका बारेमा एक शब्द संसदमा बोल्न सकेका छैन । बाँकी रहेका ११८ जना सांसदमा रविकै पक्षमा बढी भएको पाइन्छ । अहिलेसम्म खुलेर बालेनको पक्षमा लाग्ने तीन जना सांसद देखिएका छन् । तर, सरकारको समर्थनमा भने सबै जना एकजुट भएर ताली बजवाउँछन् । त्यसले गर्दा बालेन सरकारको दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । त्योसँगै बालेनपछि रास्वपाभित्र भावी प्रधानमन्त्री को बन्ने भन्ने चर्चा पनि चल्न थालेको छ ।

त्यसमा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुदन गुरुङको नाम बढी चर्चामा छ । युरोपियन युनियनले कसलाई अगाडि बढाउँछ भन्ने एकिन छैन । तर, अमेरिकी डिजाइन अनुसार सुदन गुरुलाई अगाडि बढाएर नेपाली सेनालाई अझ बढी अधिकार दिने सम्भावना पनि त्यत्तिकै रहेको विश्लेषकहरुको आँकलन छ । व्यवसायी दिपक भट्टसँग सेयर कारबारमा मुछिएर ४८ दिनसम्म मन्त्रीबाट निलम्वनमा पर्दा पनि १८१ जना सांसदमा अर्को गृहमन्त्री बन्न योग्य पात्र देखिएनन् । ४८ दिनपछि सफाइ पाएको भन्दै उनै गुरुङलाई पुन गृहमन्त्रीमा ल्याइएको छ । गुरुङ निलम्वनमा परेपछि गृहमन्त्री बन्न तम्सिएका अमरेश कुमार सिंह र मनिष झा गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेपछि उनीहरु तिलमिलाएका थिए । त्यसले रास्वपाको महाधिवेशनमा नेता अमरेस सिंह उपस्थित भएनन् भने मनिष झालाई महामन्त्रीमै हराइयो ।

तर, गुरुङलाई दोस्रो पटक गृहमन्त्री बनाउने प्रधानमन्त्री बालेनको चाहना थिएन । प्रधानमन्त्रीको चाहना नहुँदानहुँदै पनि अमेरिकी डिजाइनअनुसार उनै गुरुङलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री साह वाध्य भएका थिए । त्यसले गर्दा रास्वपाभित्र नयाँ प्रधानमन्त्रीको खोजी हुन थालेको स्रोतको दावी छ । प्रधानमन्त्री बालेन अन्यको तुलनामा अडान भएका व्यक्ति भएका कारण अमेरिकनहरुले उनलाईभन्दा सुदनलाई अगाडि बढाउन खोजेको पाइन्छ । रास्वपाभित्र सत्ताशक्तिले पार्टीशक्तिलाई पाखा पार्दै लाँदा सभापति लामिछाने ओझेलमा पर्ने संकेत देखिन्छ । पछिलो समय प्रधानमन्त्री साहको गतिविधि हेर्दा पनि सभापति लामिछानेलाई कमजोर बनाउने देखिन्छ । सरकारले सय दिन पार गरिसक्दा पनि कुनै छिमेकी मुलुकसँग सहकार्य नगर्नाले पनि प्रधानमन्त्रीको साहको भूमिका संकास्पद भएको टिप्पणी गर्न थालेका छन् । त्यसले गर्दा बालेन साहको पाँच वर्ष प्रधानमन्त्री बन्ने सपना छिटै चकनाचुर हुने देखिन्छ । एकातिर पार्टीभित्र यस्तो अवस्था छ भने अर्कोतिर सबै क्षेत्रमा प्रधानमन्त्रीको हस्तक्षेप हुँदा सर्वत्र विरोध हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *