जलवायु परिवर्तनकै कारण विश्वमा विभिन्न प्राकृतिक विपत्तीहरु आइपर्न थालेका छन् । जलवायु परिवर्तनकै परिणाम स्वरुप नेपालमा भदौ १० गते अकास्मत भोटेकोशीमा हिमपहिरो आउँदा जनधनको ठूलो क्षति हुनुका साथै सडकहरु क्षतविक्षत भएका छन् । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका घनावस्ती भएको बजार क्षेत्र सखाप पारेको छ । सो बाढीमा सुरक्षार्की, कर्मचारी, मजदूर, व्यापारी, तीर्थयात्री, विदेशी तथा स्वदेशी पर्यटकसमेतले ज्यान गुमाएका छन् । उक्त घटनामा निजी सवारी साधनदेखि सरकारी सम्पत्तिको ठूलो क्षति भएको छ । पृथ्वीमा तापाक्रम बढेको कारण हिमतालहरु धमाधम फुट्ने क्रम जारी भएको विज्ञहरुको आँकलन छ ।
एकातिर पृथ्वीमा तापाक्रम बढिरहेको छ भने अर्कोतिर विकासको नाममा हिमशृंखला आसपासका क्षेत्रमा जलविद्युत उत्पादन गर्ने र खोला दोहन गरेर ढुंगा, गिटी, बालुवा निकाल्ने प्रवृत्तिले बाढीपहिरोको जोखिम बढेको छ । खोला दोहनकै कारण यसअघि रोशी खोलामा आएको बाढीले काभ्रे, सिन्धुली, रामेछाप र ओखलढुंगा जिल्लामा ठूलो क्षति पु¥याएको थियो । तीनवर्ष बितिसक्दा पनि सो क्षेत्रको सडक अझै निर्माण सम्पन्न भएको छैन । हरेक वर्ष वार्षायाममा यात्रुहरुले सास्ती खेप्नुपरिरहेको छ । यसपटक भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रको ४० किलो मिटर पक्की सडक पुरै ध्वसत बनाएको छ भने पृथ्वीवी राजमार्ग समेत अवरुद्ध भएको छ ।एकातिर जलवायु परिवर्तनका कारण पृथ्वीमा तामाक्रम बढ्दै जाँदा हिमतालहरु फुड्ने क्रम बढ्दै गएको छ भने अर्कोतिर मानिसले खोला दोहन गर्दा ठूलो धनजनको क्षति हुने गरेको छ ।
विकाससँगै विनास निम्तिन्छ भनेजस्तै नेपालका अधिकांश सडकहरु खोलाको तिरबाट खनिएका छन् ।
खोलाको तटीय भागमा सडक विस्तर गरिएपछि त्यसको आसपासमा घनाबसती बस्ने क्रम बढिरहेको छ । पछिल्लो समय नेपालका अधिकांश जिल्ला सदरमुकामदेखि शहर विस्तार खोलाको आसपसका क्षेत्रमा गरिएका छन् । यातायातको सुविधाले गर्दा खोला, नदीको तटीय भागमा शहर बजार बढ्दै गएको छ । शहर बस्ती बढेपछि उद्योगधन्दा, कलकारखाना, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र विद्यालयहरु पनि बढ्दै गएका छन् । त्यसले गर्दा बाढीपहिरो र भुकम्पहरुमा ठूलो जनधनको क्षति हुने गरेको छ । त्यसलाई मध्यनजर गरी सरकारले देशको भौगोलिक बनावट अनुसार सडक निर्माण गर्नुपर्ने देखिन्छ । त्योसँगै हिमनदी आसपासका वस्तीहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने चुनौती पनि बढेको छ ।
त्यसैगरी नेपालमा पर्ने हिमताल र तालहरुको अनुगमन गरी त्यसको व्यवस्थापन र सुरक्षामा ध्यान दिनुपर्ने चुनौती थपिएको छ । धेरै वर्षदेखि दोलखाको च्छोरोल्पा हिमतालको खतरा कायमै छ । त्यसको बारेमा सरकारले कुनै ध्यान दिएको पाइँदैन । नेपालमा सञ्चालित विभिन्न हाइड्रोपावर निर्माण गर्दा त्यस आसपासको भू–भागको अध्यान, अनुसन्धान र निगरानी नगर्दा पनि बेलाबखत प्राकृतिक विपत्तिले धेरै नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो विपत्ती भोटेकोशी बाढीले निम्त्याएको छ । त्यसले गर्दा आगामी दिनमा यस्ता दूर्घटनाबाट बच्नको लागि सरकार र सम्बन्धित निकायले गम्भीर भएर सोच्नुपर्ने भएको छ ।

