कृषि विकास बैंकको नाफा बढ्यो

अर्थ/वाणिज्य कर्पोरेट प्रमुख बैंक वित्त विविध समाचार

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ९२ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ८०३.७१ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन नतिजामा आएको सुधारले खुद नाफा वृद्धिमा सहयोग गरेको देखिन्छ । गत वर्षको पहिलो तीन महिनामा ६ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको बैंक यस वर्ष सोही अवधिमा १५ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफामा पुगेको छ ।
यस अवधिमा कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्ज २०.८० प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ रहेको यस्तो खर्च यस वर्ष घटेर १ अर्ब १५ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । खर्चमा आएको कमीले बैंकको सञ्चालन नतिजा सुधार्न मद्दत गरेको हो ।

यद्यपि बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको तुलनामा ३.७१ प्रतिशत कम हो ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १७ पैसा रहेको ईपीएस यस वर्ष बढेर ३ रुपैयाँ ५ पैसा पुगेको छ ।

अर्कोतर्फ बैंकको वितरणयोग्य मुनाफामा भने दबाब देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको कुल वितरणयोग्य मुनाफा यस वर्ष ६८.२९ प्रतिशतले घटेर ७८ करोड ८० लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य रकम ४७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *