प्रकृतीको स्वर्गमा मानवको संघर्ष
भोला खतिवडा
चितवन राष्ट्रिय निकुञ्जले चारैतिर घेरिएको माडी प्रकृति, वन्यजन्तु र जैविक विविधताले भरिपूर्ण भूगोल हो । तर यही प्रकृतिको काखमा बसोबास गर्ने करिब ३८ हजार मानिसका लागि विकासका आधारभूत सुविधा अझै चुनौतीपूर्ण छन् । चार दिनको माडी बसाइ, निकुञ्जभित्रको यात्रा, चित्तलको दृश्य, रिउ खोलाको सौन्दर्य र बिजुलीविहीन एउटा रातले संरक्षण र मानव जीवनबीचको सम्बन्धबारे सोच्न बाध्य बनायो । संरक्षणका नाममा स्थानीय समुदायले कति असुविधा भोग्ने ? वन्यजन्तु संरक्षणसँगै मानिसको जीवन सहज र सम्मानजनक बनाउने जिम्मेवारी कसले लिने ? माडीले उठाएको मूल प्रश्न यही हो । संरक्षण र विकास प्रतिस्पर्धी होइनन्, परिपूरक बन्नुपर्छ ।माडी नगरपालिका चितवनको नक्सामा हेर्दा एउटा छुट्टै भूगोलजस्तो लाग्छ । नौवटा वडा रहेको यो नगरपालिका पूरै मध्यवर्ती क्षेत्रभित्र पर्छ ।
माडीको यात्रा
एक महिना अघी चार दिन माडी बस्ने अवसर मिल्यो । माडी पुग्नु आफैंमा एउटा अनुभव हो । यसै वर्ष म चार पटक त्यहाँ पुगिसकेको छु । भरतपुरबाट राप्ती नदी तरेपछि चितवन राष्ट्रिय निकुञ्ज पार गर्नुपर्छ । करिब १० किलोमिटरजति निकुञ्जभित्रको यात्रा गरेपछि रिउ खोलाको किनारमा पुगिन्छ । खोलापारि माडी नगरपालिका सुरु हुन्छ ।
निकुञ्जभित्रको बाटोमा मोटर गुडाउँदै गर्दा पनि प्रकृतिले आफ्नो उपस्थिति देखाइरहन्छ । यसपटक चित्तलहरू बाक्लै देखिए । गाडीभित्र बसेर वन्यजन्तु हेर्दै यात्रा गर्नुको आफ्नै आनन्द थियो । जंगलको शान्त वातावरण, बीचबीचमा देखिने जनावर र हरियालीले यात्रालाई गन्तव्यभन्दा पनि बढी रमाइलो बनाइरहेको थियो ।
रिउ खोलामा पुगेपछि हामी केहीबेर रोकियौं । खोलापारि माडी थियो । नजिकैको खेत र चौरमा भैंसीहरू चरिरहेका थिए । खोलाको किनारमा काश फुलेको थियो । काशसँग तस्बिर खिच्ने क्रम चल्यो । प्रकृतिले सजाएको त्यो दृश्यमा केहीबेर हामी पनि पर्यटकजस्तै रमायौं ।तर माडी केवल सुन्दर दृश्य हेर्ने ठाउँ मात्र होइन । यो प्रकृति संरक्षण र मानव जीवनबीचको सम्बन्ध बुझ्न सकिने एउटा महत्वपूर्ण भूगोल पनि रहेछ ।
निकुञ्जभित्र वन्यजन्तु, बाहिर मानिसको जीवन
माडीमा पुग्दा एउटा प्रश्न बारम्बार मनमा आउँथ्यो, निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण कसका लागि हो ? वन्यजन्तुका लागि मात्र कि वन्यजन्तुसँगै बसिरहेका मानिसका लागि पनि ?
माडीका करिब ३८ हजार मानिस पूरै मध्यवर्ती क्षेत्रभित्र बस्छन् । उनीहरूको खेत छ, घर छ, पशुपालन छ, सडक छ, विद्यालय छ, बजार छ र आफ्नै विकासका आकांक्षा छन् । तर उनीहरूको चारैतिर निकोञ्जको भूगोल छ ।
त्यसैले यहाँ विकासको प्रश्न सामान्य ठाउँको जस्तो मात्र छैन । एउटा सडक बनाउन, विद्युत् विस्तार गर्न, पूर्वाधार निर्माण गर्न वा बस्ती व्यवस्थित गर्न पनि संरक्षणसँग जोडिएका धेरै प्रश्न उठ्छन् । मानिस र वन्यजन्तुको सहअस्तित्व कसरी कायम गर्ने भन्ने प्रश्न माडीको दैनिक जीवनसँग जोडिएको छ ।
हामीले माडीका खेतमा धान राम्रोसँग झुलेको देख्यौं । अघिल्लो पटक माडी आउँदा त्यही खेतमा तोरी फुलेको थियो । मौसम फेरियो, बाली फेरियो, तर खेत उही थिए । कतिपय ठाउँमा प्लटिङ गरेर घर बनाइएको पनि देखियो । गाउँ विस्तार हुँदैछ । मानिसको आवश्यकता बढ्दैछ । तर त्यसैसँग संरक्षणको दायरा पनि जोडिएको छ ।
एउटा रातले सम्झाएको बिजुलीको मूल्य
माडीको चार दिनको बसाइमध्ये पहिलो तीन रात माडी रिसोर्टमा बित्यो । असोज ७ गते भने माडीमै रहेको मगर होमस्टेमा बस्न पुग्यौं ।
त्यहाँ पुगेको दिन पानी प¥यो । अनि बिजुली गयो ।
सामान्यतया बिजुली जानु नेपालमा ठूलो समाचार होइन । केही समयपछि आउँछ भन्ने अपेक्षा हुन्छ । तर यसपटक फरक भयो । दिउँसो गयो, रातिसम्म आएन । माडी नगरपालिका नै बिजुलीविहीन भयो ।
भरतपुरबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् आए पनि निकुञ्ज क्षेत्रमा तार भूमिगत गरेर लगिएको रहेछ । कहाँ समस्या भयो भनेर पत्ता लगाउनै कठिन हुने रहेछ । त्यसैले समस्या समाधान गर्न पनि समय लाग्ने रहेछ ।
दिनभर छलफलमा व्यस्त थियौं । गर्मी भए पनि खासै कठिनाइ महसुस भएन । छलफल सकिएपछि केहीबेर घुम्न निस्कियौं । तर साँझ पर्न थालेपछि भने बिजुलीको महत्व बल्ल महसुस हुन थाल्यो ।
धेरै समयपछि होला, बिजुलीबिनाको रात बिताउनुपरेको । मेरो मोबाइलको ब्याट्री पनि सकिएको थियो । केही समयपछि टेलिकमको नेटवर्क पनि चल्न छाड्यो । त्यसपछि संसारसँगको हाम्रो डिजिटल सम्बन्ध पनि लगभग टुट्यो ।
हामी होमस्टेको ९ नम्बर घरमा बसेका थियौं । पवन कार्की र म दुईवटा कोठामा छुट्टाछुट्टै बसेका थियौं । कोठा सफा थिए । एटेच बाथरुम थियो । एसी पनि थियो । तर बिजुली नभएपछि एसी हुनु र नहुनुको कुनै अर्थ रहेन ।
क्यान्डल पार्टीदेखि लामखुट्टेसँगको रातसम्म
हामी बस्ने घरको अगाडि खरले छाएको एउटा गोलघर थियो । त्यहीँ खाना खाने व्यवस्था गरिएको थियो । मैनबत्ती बालेर खाना खायौं । वातावरणलाई रमाइलो बनाउन त्यसलाई हामीले मजाकमै क्यान्डल पार्टी भन्यौं ।
त्यो क्षण रमाइलो थियो । बिजुली नभएको समस्यालाई पनि हाँसोमा उडाउन सकिन्थ्यो ।तर सुत्ने बेला भएपछि वास्तविक कठिनाइ सुरु भयो । झ्याल खोल्न सकिन्थ्यो । तर ढोका खोल्न डर लाग्थ्यो सर्प पो पस्ला कि ! लामखुट्टेको आफ्नै आतंक थियो । त्यसैले झुल हाल्नुप¥यो ।
मलाई एउटा अर्को बानी पनि छ, बत्ती बालेर सुत्ने । बिजुली नहुँदा त्यो सम्भव थिएन । मोबाइलको ब्याट्री पनि सकिइसकेको थियो । बाथरुम जानुपर्दा, मुख धुँदा, सुत्दा—हरेक काम अँध्यारोसँग सम्झौता गरेर गर्नुप¥यो ।
कुनै समय लाग्यो, मोबाइलको टर्च पनि नचल्ने भएपछि मानिसले आधुनिक जीवनमा कति धेरै कुरा बिजुलीमा निर्भर बनाइसकेको रहेछ भन्ने महसुस भयो ।अन्ततः जसोतसो रात काटियो ।
माडीले उठाएको ठूलो प्रश्न
बिजुली आएको भए त्यो रात सामान्य हुन्थ्यो । नआएपछि भने त्यो एउटा अनुभव बन्यो । तर मेरो मनमा भने अर्को प्रश्न उठ्यो— । हामीले संरक्षणका नाममा बनाएका भूगोलभित्र बस्ने मानिसहरूको आधारभूत आवश्यकता र संरक्षणबीचको सन्तुलन कति मिलेको छ ?
माडीका मानिसहरू वन र वन्यजन्तुका विरोधी होइनन् । उनीहरू त त्यही प्रकृतिसँग पुस्तौंदेखि जोडिएर बसेका मानिस हुन् । उनीहरूको खेत, पशु, घर र जीवन सबै यही भूगोलसँग जोडिएको छ ।
त्यसैले संरक्षणको अर्थ मानिसलाई असुविधामा राख्नु होइन । संरक्षण र विकासबीच द्वन्द्व सिर्जना गर्नु पनि होइन । बरु संरक्षणलाई स्थानीय जनताको जीवनसँग जोडेर हेर्न सक्नुपर्छ ।
माडीमा चित्तल देख्दा रमाइलो लाग्छ । काश फुलेको देख्दा फोटो खिच्न मन लाग्छ । धान झुलेको देख्दा किसानको मेहनत सम्झिन्छ । निकुञ्जको हरियालीले मन लोभ्याउँछ । तर त्यही माडीमा एक रात बिजुली नहुँदा त्यहाँको विकासको अर्को पाटो पनि देखियो ।
वन्यजन्तुका लागि सुरक्षित जंगल चाहिन्छ । मानिसका लागि सुरक्षित र सम्मानजनक जीवन पनि चाहिन्छ । माडीको भविष्य सायद यही दुई आवश्यकताको बीचमा सन्तुलन खोज्नुमा छ । माडीका नागरिकहरू भौतीक रूपमा वाहिर दुनियाँसँग जोडीने २ वटा सडक मार्ग छन् । एक रिउ खोला तरेर निकुञ्ज क्षेत्र हुँदै कसरा पार गरेर भरतपुर निस्कने अर्को पर्सा तर्फ ठोरी हुँदै विरगञ्ज तिर लाग्ने । यी दुवै तिरका सडक कालो पत्रे हुन सकेका छैनन् । कालो पत्रे हुन नसक्नुको प्रमुख एक कारण निकुञ्ज क्षेत्र परेर हो । प्रश्न स्वभाविक छ, निकुञ्जका नाममा माडीका नागरिकले कहिलेसम्म संझौता गरिरहनु पर्ने हो ?
निकुञ्ज जोगिनुपर्छ । मध्यवर्ती क्षेत्र जोगिनुपर्छ । वन्यजन्तु जोगिनुपर्छ । तर त्यसभन्दा कम महत्वपूर्ण कुरा होइन, मध्यवर्ती क्षेत्रमा बस्ने मानिसको जीवन पनि सहज, सुरक्षित र सम्मानजनक हुनुपर्छ । प्रकृतिको काखमा बसेको माडीले हामीलाई यही प्रश्न सोधिरहेको जस्तो लाग्यो—संरक्षणका लागि मानिसले कति त्याग गर्ने र मानिसका लागि संरक्षणले कति जिम्मेवारी लिने ? यसको उत्तर खोज्ने बेला सायद अब आएको छ ।

