समाजमा बढेको विकृतिको परिणामप्रति ध्यान दिने की !

प्रमुख लेख विविध

काठमाडौं । राजनीतिसँगै सबैजसो पेसामा विकृति व्यापक रुपले बढेर गएको छ । जसरी पनि कमाउनु पर्ने मानसिकता बढेको कारण राजनीति र विभिन्न पेसा तथा व्यवसायमा पेसागत आचरण र मर्यादालाई तिलाञ्जली दिने प्रवृत्ति व्यापक भएको कारणले गर्दा समाजका सबै पेसामा विकृति बढेर गएको हो । जसरी पनि कमाउनु पर्ने मानसिकताको कारण पेसागत मर्यादा र आचरणलाई कुल्चिएर अगाडि बढ्दा विभिन्न प्रकारका विकृतिहरु समाजमा उत्पन्न भई राखेका छन् । तर समाजमा यसरी बढेका विकृतिलाई नियन्त्रण गर्ने तथा समाप्त पार्ने पहल कुनै क्षेत्रबाट अहिलेसम्म भएको छैन र खासमा भन्नु पर्दा यस सम्बन्धमा कसैले चिन्ता समेत राख्ने गरेको छैन ।

निर्माण व्यवसायीले पेसागत आचरण र मर्यादालाई तिलाञ्जली दिएर जसरी पनि कमाउनु पर्छ भन्ने मानसिकताका राखेको कारणले गर्दा अर्बौ रुपैयाँ बजेट भएका विभिन्न निर्माण आयोजनाहरु भद्रगोल अवस्थबाट गुज्रिराखेका छन् । इमान्दारीतापूर्वक काम गरेर कमाउने मानसिकतालाई त्यागेर पेसागत मर्यादालाई समेत बिर्सिएर कमाउनेतिर निर्माण व्यवयासी लागेको कारणले गर्दा यो स्थिति आएको हो । निर्माण व्यवसायीले पेसागत इमान्दारीता राखेर काम गरेको भए अहिलेसम्म मुलुकले विकास र आर्थिक क्षेत्रमा राम्रै फड्को मारिसक्ने थियो । यसैगरी चिनी मिलहरुले पनि ठगी धन्दालाई त्यागेर पेसागत तथा व्यावसायीक मर्यादा र इमान्दारीतालाई कायम राखेर आफ््नो व्यावसाय संचालन गरेको भए अहिले हजारौं जनता चिनी मिलहरुबाट ठगिएको भन्दै न्याय खोज्न काठमाडौंको जाडोमा आउनु पर्ने अवस्था आउने थिएन । उखु किसानहरुलाई शोषण तथा ठगी गर्ने मानसिकता चिनी मिलहरुले बोकेको कारणले गर्दा चिनी मिल पीडित जनताहरु न्याय र आफूले पाउनु पर्ने भुक्तानीको खोजीमा काठमाडौंको जाडोमा चिसो खान आई पुगेका छन् ।

चिनी मिल र निर्माण व्यवसायीले मात्र होइन, पेसागत धर्म छाड्ने मामिलामा प्रहरी देखि न्याय क्षेत्र समेत बदनाम हुने गरेको छ । न्याय क्षेत्रले आफ्नो धर्म र आचरणलाई परित्याग गरेर लोभको पछाडि लागेको कारणले गर्दा एकातिर न्याय क्षेत्र प्रति आम जनताको विश्वास उठ्ने स्थिति बन्न थालेको छ भने कतिपय निर्णयको कारण न्याय क्षेत्र बदनाम र विवादमा पनि पर्ने गरेको छ । यसैगरी व्यवसायीक र पेसागत धर्म त्यागेर अनुचित लाभको पछाडि लाग्नेमा प्रहरी क्षेत्र सबभन्दा बढी बदनाम हुने गरेको छ । प्रहरीले व्यवसायीक र पेसागत मर्यादालाई कायम राखेर इमानदारीतापूर्वक काम गर्ने हो भने जनताले अपेक्षा गरेको कानुनको शासनलाई सहज रुपमा अनुभूति गर्ने वातावरण बन्ने थियो ।
यसैगरी यो मामिलामा मुलुकको चौथो अंग भनिएको पत्रकारिता क्षेत्र पनि अछुतो अवस्थामा छैन । कतिपय पत्रकारहरुको कारणले गर्दा समग्र पत्रकारिता पेसा नै बदनाम हुने अवस्था समेत समय समयमा आउने गरेको छ । प्रेस काउन्सिल नेपालले निर्धारण गरेको आचार संहिताले समेत यस्ता पत्रकारलाई बाँध्न सकेको छैन । जनताले भगवान मानेका डाक्टरहरु पनि पेसागत धर्मलाई त्यागेर पैसाको पछाडि लाग्ने गर्दा समय समयमा डाक्टरहरुसँगै यो पेसा समेत बदनाम हुने गरेको छ ।
खास गरेर राजनीतिक क्षेत्र शुद्ध नभएको कारणले गर्दा समाजको सबै क्षेत्र र वर्ग दुषित बन्न पुगेको हो । राजनीतिले नै समाजलाई नेतृत्व गर्दछ । तर राजनीति नै आफ्नो आचरण र मर्यादा बिर्सिएर गलत बाटोमा हिँडिराखेको हुनाले समाजको सबै वर्गलाई राजनीतिले विकृतिको आँचलमा लपेट्ने गरेको छ । यही कारणले गर्दा नै आम जनताले समेत राजनीति र नेताको कार्यशैली प्रति सबभन्दा पहिले औंलो ठड्याउने गर्दै आएका छन् । तर राजनीतिक क्षेत्रमा बढेको विकृति हटाउनेतिर कसैले चासो राख्ने गरेको छैन । राजनीतिक क्षेत्रको विकृति घटाउनेतिर कसैले चासो नराख्दा त्यसको असर समाजका सबै वर्ग र क्षेत्रमा पर्न गएको छ । यसैले गर्दा नै अहिले नेपाली समाज पूर्ण रुपमा विकृत अवस्थाबाट गुज्रिराखेको छ र यसको चर्को मूल्य भने आम जनताले चुकाउन परी राखेको छ । यसैले गर्दा अहिले आम जनता जुन जोगी आएपनि कानै चिरिएको भन्ने निराशाजनक प्रतिक्रिया व्यक्त गर्न बाध्य अवस्थामा पुगेको छ ।
जनता निराशा जनक अवस्थामा पुग्नु भनेको व्यवस्था र समाजका लागि हानीकारक सुचक हो । त्यस कारण जनतालाई यसरी निराशामा पुग्ने अवस्था राज्यको तर्फबाट कहिले पनि बनाउनु हुँदैन । निराशामा पुगेपछि त्यसको उपचार हुन नसके जनतामा आक्रोश र विद्रोह उत्पन्न हुन्छ । जनतामा उत्पन्न हुने विद्रोह र आक्रोशको निशाना भनेको स्थापित पद्दति र राजनीतिक नेतृत्व नै हो । यो सत्यलाई स्वीकारेर राजनीतिले समाजका सबै वर्ग र क्षेत्रमा मौलाएको विकृति हटाउन अगाडि आउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *