नाथमले टोली नै खटाएर नेपाली खानाको प्रचार–प्रसार गर्दै आएको छ

अन्तरवार्ता पर्यटन प्रमुख वाग्मती प्रदेश

 

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को आजबाट सुरुवात गर्दै छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सरकारले उक्त कार्यक्रमको सुरुवात गर्न लागेको हो । यो वर्षभरी २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य पनि लिइएको छ । यसका लागि विभिन्न संघसंस्थाका आ–आफ्नै तयारीहरु छन् । मुलुकमा होटलहरुको संख्या, पर्यटन तथा होटलका लागि दक्ष जनशक्ति एबं गाउँ पर्यटनको क्षेत्रमा काम गर्दै आएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले के गरिरहेको छ ? मुलुकमा २० लाख पर्यटक राख्न सक्ने स्थिति छ या छैन ? र होटलहरुको अवस्था कस्तो छ ? लगायत विषयमा केन्द्रित रहेर प्रतिष्ठानका अध्यक्ष ढकालसँग तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
आजबाट अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्ष २०२० को शुभाराम्भ हुँदै छ । नाथमले पर्यटकको स्वागतका लागि के–के तयारी गरिरहेको छ ?
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवको रुपमा मनाउने तयारी गरेको छ । हामीले पनि यो पर्यटन वर्षलाई राष्ट्रिय उत्सवकै रुपमा मनाउने तयारी गरेका छौँ । सरकारले मुल समारोहको आयोजना गरेको छ । यसैगरी प्रदेश र स्थानीय सरकारले पनि समारोहको आयोजना गरेका छन् । हामीले पनि पर्यटनको स्वागतको तयारी आफ्नै किसिमले गरेका छौँ । सरकारले आयोजना गरेका कार्यक्रमहरुलाई सघाउने गरी हामी तयारीमा जुटेका छौँ । हाम्रा सम्पूर्ण कर्मचारी एवं हामीसँग जोडिएका संघसंस्थालाई यस विषयमा पूर्वतयारीका लागि खबर पठाइसकेका छौँ । यो फर्मल्ली कायक्रमहरुको सन्दर्भमा भयो । हाम्रो प्रमुख काम भनेको पर्यटकहरुलाई मिठो खानेकुराको स्वाद चखाउनु हो । सोहीअनुसार होटलहरुले समेत विभिन्न प्याकेज नयाँ खानेकुराको व्यवस्थापन गरेका छन् । पर्यटन वर्षभर हामीले मिठो परिकार खुवाउनु पर्ने व्यवस्थता पनि हामीले गरेका छौँ ।

० कस्ता कार्यक्रमहरु गरिन्छन्, यस वर्ष ?
कार्यक्रमको क्याटेगोरीहरु थुप्रै छन् । पहिलो चरणमा मिठा र स्वादिलो खाना नै हो । यसैगरी हाम्रो नियमित काम भनेको दक्ष जनशक्ति उत्पादन तथा व्यवस्थापन गर्ने भएकाले यो कामलाई पनि हामीले गरिरहेका छौँ । दक्ष जनशक्ति उत्पादन गरेर नयाँ र फरकशैलीका कामहरु अहिले भइरहेका छन् । हाम्रो चाहाना भनेको नेपाल आउने पर्यटकहरुले होटल तथा ट्रेकिङलगायत क्षेत्रहरुबाट आकर्षक वातावरण पाइयोस् । यो हाम्रो चाहना हो । यसले पर्यटकको आकर्षणलाई मात्र होइन नेपालीहरुको स्वाभावलाई समेत मूल्यांकन गर्नेछ । र, अन्य देशमा जाने पर्यटकहरु हाम्रो व्यवहारकै कारण पनि आकर्षित गर्ने माध्यम तयार हुनेछ ।

दुर्गादत्त ढकाल
अध्यक्ष
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान

० फरक अनुभव के हुन्छ ?
हो, अहिलेका पर्यटकहरुले फरक अनुभव चाहेका हुन्छन् । नयाँ तथा स्वादिष्ट र फरक स्वादका खानेकुराहरु चाहेको हुन्छ । यसैले हामीले आयातित होइन, आफ्नै बारीमा उत्पादित खानेकुरा उनीहरुलाई दिनुपर्छ भन्ने मान्यता राखेका छौँ । जसका लागि हामीले होम स्टेको अवधारणा ल्याएका छौँ । ग्रामीण अर्थतन्त्रको सुधार, जागिरको अवसर र स्थानीय स्तरमा पर्यटनको प्रवद्र्धनलगायत कामहरु भएका छन् । सुधारका कामहरु विस्तारै अगाडि बढिरहेका छन् । फरक शैली र फरक तवरले नयाँ कामहरु गर्नुपर्छ भनेर हामीले होम स्टे सञ्चालकहरुलाई तालिम दिइरहेका छौँ । यसमा पर्यटकहरुको आ–आफ्नै रुचिका कुराहरु छन् । यसलाई हामीले क्याच गर्न सक्नुपर्छ । यी विषयहरु अहिले छलफलकै क्रममा छन् । भ्रमण वर्षमा सायद यस्ता विविध कुराहरु अवश्य पनि सुधार हुनेछन् । हामीले त्यही अपेक्षा पनि गरेका छौँ ।

० नाथमले आफैँले के गरिरहेको छ ?
नाथमको आफ्नै छुट्टै अवधारणा छ । जनशक्ति उत्पादनका कामहरु नाथमले गर्दै आइरहेको छ । त्यसमा अझ नाथमले अहिले नेपाली खानाको प्रचार–प्रसारका लागि पनि उत्तिकै कामहरु गरिरहेको हामीले देख्न सक्छाँै । हामीले आफैँले नेतृत्व गरेरै भ्रमण वर्षमा विभिन्न मुलुकहरुमा नेपाली खाना र उत्पादनलाई प्रचार–प्रसारका लागि पठाउने तयारी गरिरहेका छौँ । यति मात्र होइन, मुलुकमा फाइभ स्टार होटलहरुमा पनि नेपाली खानालाई पव्राथमिकतामा राख्नुपर्ने हाम्रो माग रहेको छ । हामी चाहन्छौँ, फाइभस्टार होटलहरुले नयाँ एवं फरक शैलीको उत्पादनलाई जोड दिऊन् । हाम्रो यो नेपाली खाना प्रवद्र्धनबाट पर्यटकहरुले नेपाली चिजको विषयमा नयाँ अनुभव गर्छन् । भ्रमणका हिसाबले पनि नयाँ ठाउँमा गएर नयाँ अनुभव गर्न सक्ने छन्, बटुल्ने छन् । गाउँ पर्यटनका लागि हामीले होम स्टे कार्यक्रम पनि सञ्चालन गरेका छौँ । त्यसबाट पनि गाउँमा पुगेका पर्यटकहरुले नयाँ ढंगले तयार पारिएको स्वादिलो खानेकुराको मज्जा लिन पाउने छन् । यसले आफ्नै बारीमा उत्पादित खानेकुराको बारेमा थप जानकारीसमेत पर्यटकलाई हुनेछ । हाम्रो अपेक्षा यहि रहेको छ ।

० हामीले सहजै उत्पादन गर्न सक्ने गुन्द्रुक पनि आयात गरेर नेपाली उत्पादनलाई होटलले स्थान नदिएको आरोप छ, यस्मा के भन्नु हुन्छ ?
आरोपहरु के–के लाग्छन्, यसमा अल्झिएर केही हुँदैन । केही यस्ता आरोपहरु अवश्य पनि छन् । तर, सबैकुराहरु साँचो भने होइनन् । विरोध गर्ने कुचेष्टाले पनि केही आरोपहरु अहिले लाग्ने गरेका हुन् । यसमा गाउँ पर्यटक एकदमै चोखो छ । सहरबाट टाढा रहेका त्यो क्षेत्रमा बजारबाट किनेरभन्दा उत्पादन गरेको सामान सस्तो पर्ने भएकाले पनि यसरी आयातित खानेकुराको प्रयोग त्यती हुँदैन । यी केही अनुमानित कुरा हुन् । हामीले गाउँठाउँमा प्रयोग गर्ने खानेकुरा स्थानीय स्तरमै उत्पादन भएको वस्तबाट बनाइएका हुन् । यसैले पिर मान्नुपर्ने त्यस्तो केही छैन । हामीले भोलिन्टियरलाई पनि स्थानीय उत्पादन मात्र पर्यटकलाई दिनुहोस् भनेका छौँ । उहाँहरुलाई आयातित वस्तुहरुले पर्यटकलाई उत्साहित पार्न सकिँदैन । यसैले सबै खानेकुरा यही उत्पादन गरेको हुनुपर्छ । यो हाम्रो मान्यता पनि हो ।

० रोजगारीका क्षेत्रमा गाउँ पर्यटकको प्रभाव कस्तो छ ?
राम्रो छ । हाम्रो मुलुकमा युवाहरु स्थान नपाएर विदेशिने क्रम बढिरहेको बेलामा यो होम स्टेको अवधारणाले सहज बनाएको छ । युवाहरुले स्थानीय उत्पादनका लागि आफ्नै खेतबारीमा काम गर्छन् । र, त्यही ब्यस्त रहन्छन्, जसले गर्दा युवाको समय खेर जाँदैन । यसमा अझ विदेशबाट फर्किएका युवाहरुको आकर्षण बढ्दै गएको छ । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु गाउँ नै खाली गरेर विदेश जाने गरेका थिए । सरकारले लगानीमैत्री वातावरणको सिर्जना गरेपछि उनीहरुको आकर्षण होटल, लज र हामे स्टेहरु बन्ने गरेका छन् । हामीले उत्पादनका हिसाबले पनि कृषि र पर्यटन जोड्नु पर्ने मान्यता राख्दै आएका छौँ । यसका लागि उत्साहित पनि गरेका छौँ । र, यो पर्यटन अगाडि बढ्छ ।

ठूला होटल निर्माणको अवस्था कस्तो छ ?
विगतमा भन्दा मुलुकमा ठूला होटलहरु निर्माणको क्रम बढ्दै गएको छ । लगानीको वातावरण पनि सुधार हुँदै गएको छ । अहिले बर्सेनि धेरै होटलहरुमा लगानी भइरहेको छ । महँगा र ठूलो पुँजीका होटलहरु निर्माणको क्रम बढ्दै गएको छ । मुलुकका सबै स्थानमा पुग्न नसके पनि पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म होटलहरु निर्माण भएका छन् । त्यसैगरी अहिले यातायात व्यवसायीहरुको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ । यस्तै ट्रेकिङ व्यवसायीहरुको संख्यामा पनि वृद्धि भइरहेको हामीले सहजै देख्न सक्छौँ । यसक्रममा देशको सुधार र उन्नतिउन्मुख वातावरण बन्दै गइरहेको छ ।

२० लाख पर्यटक राख्न सक्ने बन्छौ“ भन्ने तपाइको लक्ष्य थियो, के भयो ?
अहिले पनि हामीले २० लाख पर्यटक राख्न सक्छौँ । त्यो संरचना हामीसँग छ । सुधारका लागि अझ पहल र प्रयासहरु भइरहेका छन् । २०२० मा आउने सबै पर्यटकहरु सुधार गर्ने लक्ष्यमा हामी दौडिरहेका छौँ । गाउँ पर्यटकको विकास पनि हामीले गरिरहेका छौँ । पछिल्लो क्रममा ८ वटा फाइभस्टार होटलहरु मात्र मुलुकमा निर्माण भएका छन् । त्यसमा अझ साना होटलको संख्या नगण्य मात्रामा बढ्दै गएको छ । अहिले होम स्टे निर्माणको जिम्मेवारी दिएका कारण हामीले यसको संख्या कति छ भन्ने जानकारी संकलन गर्न पाएका छैन । यद्यपि, गाउँ पर्यटकको संख्या बढ्दै गएको हामीले सजिलै अनुमान गर्न सक्छौँ ।

होम स्टे सञ्चालनका तालिमहरु कसरी सञ्चालन गरिराख्नु भएको छ ?
यो हामीले मागअनुसार गर्ने काम हो । स्थानीय सरकार वा सम्बन्धित सञ्चालक निकायले होम स्टे निर्माणको बोलाएको अवस्थामा हामी त्यहाँ जाने गरेका छौँ । हामी चाहन्छौँ पनि त्यही हरेक गाउँमा एउटा पर्यटकीय स्थल होस् । तर, अरुभन्दा भिन्न खालको होस् । वास्तवमा त्यस्तो हुन सकेको अवस्था छैन । स्थानीय उत्पादनलाई जोड दिएपछि आज हामी एक सफल कार्यदिशामा अगाडि बढेका छाँै । सुधारका कामहरु पनि भइरहेका छन् । आकर्षण पनि बढ्दो छ । तर, गरिब नेपालीले लगानी गर्न सक्ने स्थिति छैन । कुनै स्थानमा सरकारले बेवास्ता गरेको छ । तर, खुसी लाग्छ । अहिले कर्णालीको रारामा पनि गाउँ पर्यटनको अवधारणा सुरु भएको छ । त्यहाँ पनि हामे स्टेहरु सञ्चालनमा आउन थालेका छन् । यसैले हामी आफ्नो लक्ष्य र कार्यदिशामा सफल हुँदै गएका छौँ । यसले सुखी नेपाली र समृद्ध नेपालको अवधारणालाई साकार तुल्याउने हाम्रो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *