कृषि कर्मका सवाल र सम्भावनात्मक उपाय

लेख विविध शिक्षा/स्वास्थ समाचार

नेपाल कृषि प्रधान देश भन्ने गरिन्छ । अन्य उत्पादनको तुलनामा कम लगानी गर्दा पनि हुने । सहरी क्षेत्रभन्दा बाहिरको जग्गा भाडामा लिँदा पनि खासै धेरै रकम तिर्न नपर्ने । प्रायः धेरैको पुख्र्यौली जग्गा पनि हुने गरेको । बसाइँसराइ तथा कामको खोजीको सिलसिलामा काम गर्ने व्यक्तिहरु बाहिर भएकाले जग्गा खाली भएकाले सहजै उपलव्ध हुन सक्ने । नेपाली अधिकांशको पुख्र्यौली काम पनि कृषिसँग सम्बन्धित रहेको पाइन्छ ।
नेपालमा कृषि व्यवसायमा एकखाले तरंग पैदा भएको छ । धेरै मान्छेको कृषिमा आधारित परियोजना सञ्चालन गर्न लालयित देखिएका छन् । धेरैले कम्पनी दर्ता गरेका छन् । फार्म सञ्चालन गरिरहेका छन् । हरेक तहका सरकारले कृषिलाई प्राथमिकता भनिरहेका छन् । सञ्चार माध्यमले पनि महत्व दिइरहेको छ । कृषि टेलिभिजन पनि खुलिसक्यो । तैपनि अपेक्षाकृत कृषि क्षेत्र व्यवसायिककरण हुन सकिरहेको छैन ।
कृषि क्षेत्र व्यवसायिककरण हुन नसक्नुका केही मुलभुत सवालहरु देखापरेका छन् ।
१. लगानीको अभाव
कृषि क्षेत्रमा व्यवसायिक कार्य गर्नका लागि ठूलो मात्रामा गर्न जरुरी छ । विगतका जस्तो गोरु प्रयोग गरी जोत्ने दिन गए । ट्याक्टर प्रयो गर्नु पर्दछ । २,४ डोकामा बोक्ने उत्पदान गर्ने होइन गाडीमा ओसारपसार गर्नु पर्दछ । त्यसैले लगानी अली बढी नै हुन्छ । त्यसैले लगानीको अभाव हुन्छ । लगानीको लागि बैंकहरुले ३ प्रतिशतदेखिको ऋण दिने भन्ने अनलाइनतिर हेर्न पाइन्छ । सबैभन्दा कम ब्याज दर राष्ट्रिय बाणिज्य बैंकको छ, भनिन्छ । कृषि विकास बैंकले त पहिला नै २६ प्रतिशत कृषिमा लगानी गरिसकेकाले राष्ट्रय बैंकले जारी गरेको बाध्यता हामीलाई छैन भन्ने जवाफ प्राप्त भयो । अन्य बैंकले दिनेसम्म सुनिएको छ । तथापि ऋण लिन मुस्किलै पर्दछ । कृषि ऋणका लागि ३ गुणा बढी धितो राख्नु पर्ने भनिन्छ । यो मुस्किल विषय हो ।
२. कर्मकाण्डी अनुदान प्रक्रिया (कृत्रिम किसानको बिगबिगी)
कृषि व्यवसायिकरणका लागि तिन तहकै सरकारले चासो देखाएकोजस्तो देखिन्छ । अनुदानको नाममा रकम बाँड्ने चलन पनि चलेको छ । केही महिना अघिको एक पत्रिकामा प्रदेश ५ सरकारको कृषिमा गरेको लगानीको विसंगती लेखेको थियो । यो अवस्था धेरै ठाउँमा देख्न सकिन्छ । सरकारी अनुदान लिनकै लागि कम्पनी तथा फर्म दर्ता गर्ने प्रक्रिया पनि चलेकै छ । सरकारी अनुदान काम गरिराखेकाले दिएमा प्रोत्साहन हुन सक्थ्यो । तर सुरु गर्नका लागि दिँदा यसमा विकृति बढेको देखिन्छ । कति अनुदान वितरण गरियो होइन कति उत्पादन भयो त्यो हिसाब किताब गर्न जरुरी छ । उत्पादनमा आधारित अनुदान अनी लगानीका लागि सहज ऋणको प्रबन्ध गर्न सके सहि किसान वा उत्पादनकर्तालाई अनुदान जान सक्छ ।
३. बाँझो बसोस् तर कृषि कर्म गर्न खोज्दा थेग्नै नसक्ने भाडा
व्यवसायिक रुपमा कृषि कर्म गर्नका लागि अलि ठूलो क्षेत्रमा गरौँ भन्यो भने आफ्नो पुख्र्यौली जग्गाले मात्र पुग्दैन । किनौँ लगानी धेरै बढ्छ । भाडामा लिन खोज्दा बरु बाँझै बसोस तथा मनग्ये भाडा खोज्ने गरिन्छ । बिसौँ वर्ष बाँझो हुँदा केही फरक पर्दैन तर केही वर्ष कमाई गर्ने र न्यूनतम भाडा तिर्न खोज्दा पाइन्न । केही गरी जग्गा मिलिहालेछ भने पनि त्यहाँका समुदायको असहयोगको लामै शृंखला बन्न जान्छ । पानी, सडकको बन्दोबस्तको कुरा त फरक छँदै छ ।
४. कृषि प्राविधिकको अभाव
कृषि क्षेत्र रहेको अर्को जल्दोबल्दो सवाल कृषि प्राविधिकको अभाव हो । केही बिरुवा वा बाली म¥यो भने के कारण म¥यो थाहा पाउन सकिन्न । अहिलेसम्मको बाली विकास भगवान् भरोसाभन्दा केही फरक पर्दैन । भएका कृषि प्राविधिकहरु पढेका तर नपरेका धेरै छन् । उनीहरु जागिरे हुन् । कृषि प्राविधिक होइनन् भन्दा अन्यथा हुन्न । कृषि प्राविधिकरुलाई त राज्यले आवश्यक मात्रामा जग्गा उपलव्ध गराएर कृषि उपजका कामहरु गर अरुलाई रोजगारी दे भन्नु पर्ने हो । अनी पो व्यवहारिक पोख्त कृषि प्राविधिकहरु तयार हुन्थे । कृषि प्राविधिक भन्ने कहिल्यै माटो नछोएको प्राविधिकहरु तयार गरिरहेको छ कृषि अध्ययन संस्थाहरुले ।
कृषि ज्ञान केन्द्र भन्ने सरकारी संरचना छ । यो संरचना धेरै खुम्चिएको छ । उदाहरणका लागि दोलखा र रामेछापलाई हेर्ने गरी रामेछापका कार्यालय वसेको छ । ज्ञान केन्द्रमा कति ज्ञान छ अनी त्यो ज्ञान किसानले कसरी पाउने कुनै मेसो छैन । टाढावाढालाई त थाहा छैन सामान्य किसानले कसरी बुझ्ने । सबै पालिका तहमा कृषि प्राविधिकसहितको संरचना हुनु पर्ने हो तर देखिन्न । भएको पनि खासै प्रभावकारी भूमिका सुनिन्न ।
५. कृषिमा बिमा प्रभावकारी कार्यान्वयन नहुनु
नेपाल सरकार (बिमा समिति)ले २० वटा बिमा कम्पनीहरुलाई नेपालका सबै जिल्ला बाँडेर भाग लगाइदिएको रहेछ । ती कम्पनी कम्तीमा ३ वटादेखि ४ वटासम्म जिल्ला आफ्नो भागमा पारेका रहेछन् । बिमाको नियामक सरकारी निकाय बिमा समितिले यी २० वटा कम्पनीहरुलाई गाउँ गाउँमा घुम्ती सेवामार्फत कृषि वाली तथा पशुपंक्षी बिमा सम्बन्धी सेवा उपलव्ध गराउन निर्देशन दिएको छ । नेपाल सरकारले यस्तो बिमा गर्दा ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले दिन्छ बाँकी २५ प्रतिशत मात्र किसानले व्यहोर्ने हो । बिमा सर्वसुलभ हुन सकेको छैन ।
कृषिलाई व्यवसायीकरणका लागि सम्भावनायुक्त उपाय
समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणाको मेरुदण्ड भनेको नै कृषिको व्यवसायीकरण हो । यसका लागि केही उपायहरु निम्नानुसारको हुन सक्दछन् ।
१. उत्पादनमा आधारित अनुदान, लगानीका लागि सहज ऋण
कस्ले कति उत्पादन गर्दछ त्यसको आधारमा अनुदान दिनु आवश्यक हुन्छ । गाई भैँसीमा अनुदान होइन कति दूध बेच्छ त्यसमा अनुदान दिने । गाई भैँसीको किन्न वा पालन गर्न सस्तो ब्याजमा ऋण दिने गर्नु पर्दछ । त्यसो गरेमा मात्र सहि उत्पादकर्तामा मात्र सरकारी अनुदान पुग्दछ । अनुदान मात्र खानका लागि दर्ता भएका फर्मले ऋणले लिने आँट नै गर्दैनन् ।
२. ब्याजमा अनुदान
कृषि कर्ममा गरेको काम हेरेर प्रकृति अनुसारको ऋण दिने र के उत्पादन गर्न लागेको हो त्यसले उत्पादन दिन कति समय लाग्दछ । उत्पादन सुरु नहुँदासम्मको ऋणको ब्याज मिनाहा गर्ने हो भने पनि कृषि कर्ममा लागेकालाई ठूलो सहयोग हुन्छ । उदाहरणका लागि कुनै फर्मले किवी खेती गर्न खोज्दै छ भने त्यो बालीबाट उत्पादन हुन ३ वर्ष लाग्छ । ३ वर्षसम्मको ब्याज मिनाहा गर्ने हो भने किसान खुसी भएर काम गर्न सक्छन् । यो रकम दुरुपयोग नहोस् भनी प्रभावकारी अनुगमनको संयन्त्रसमेत विकास गर्न सक्नु पर्दछ ।
३. बिउ र बजारको सुनिश्चितता
उत्पादनकर्तालाई धेरै कुराको तनाव छ । गुणस्तरीय बिउको सदैव शंका हुन्छ । जसोतसो उत्पादन ग¥यो । कहाँ लगेर बेच्नु सधैँ तनाव हुन्छ । लागत मूल्य हिसाब गरेर सोही अनुपातमा बिक्रीको सुनिश्चिता हुन सकेमा कृषि कर्म अझ फराकिलो भएर जानसक्छ । स्थानीय सरकारले यस्को लागि पहल गरोस् । नेपालकै केही स्थानीय सरकारबाट कृषकको उत्पादन खरिद गर्ने प्रयासका थालन भएको सुनिन आएको छ । यस्तो काम गरेमा केही कर पनि उठ्न सक्छ । करको दायरा फराकिलो हुन सक्छ ।
४. धेरै उत्पादन गर्ने लागत कम पार्ने
हाम्रो परिपाटी अझै पनि थोरै उत्पादन गर्ने अनी लागत मूल्य बढाउने छ । २,४ किलो कुनै कृषि उपज तयार गरियो भने लागत बढ्छ । अनी बढी मूल्यमा बेच्नु पर्छ । बिक्दैन । अनि निरासा वढ्छ । त्यसैले धेरै उत्पादनमा जोड नदिने हो भने व्यवसायिकरण नै भएन । कसैले सहयोग गर्दा ५ कुखुराको चल्ला र एउटा वाख्रो पालेर कृषिमा व्यवसायीकरण हुँदैन ।
५. हरेक कृषि बालीको अनिवार्य बिमा
सरकारी सुविधा जुन ७५ प्रतिशत प्रिमियम सरकारले व्यहोर्छ त्यो सुविधा उपयोग गर्ने वातावरण तयार गर्नु पर्दछ । जिम्मा पाएको कम्पनीले बिमा समितिको निर्देशन अनुसार नै किसानको घरदैलोमा गएर सचेतना विस्तार गर्दै बिमा गर्ने संस्थागत संस्कृती विकास गर्न जरुरी छ । अनी बिमा दावी गर्ने सजिलो तरिका पनि हुनु पर्दछ ।
६. स्थलगत सेवा प्रवाह गर्ने कृषि प्राविधिक
कृषि कर्म प्रवद्र्धनका लागि स्थानीय सरकारले अधिकांश कृषि व्यवसायलाई सहयोग पुग्ने गरी कृषि प्राविधिक सेवा उपलव्ध गराउनु पर्दछ । किसानको घरदैलोको सरकार स्थानीय मात्र हो । प्रदेश र संघीय सरकार त टिभीमा देखिने र रेडियो सुनिने मात्र हो । स्थानीय सरकारसँग नै अपेक्षा गर्नु व्यवहारिक तर्क पनि हो । वालि वा पशुपंक्षिमा कुनै रोग लागेमा वोकेर लैजान मुस्कील पर्दछ । त्यसैले स्थलगत रुपमा प्राविधिक सहयोग आवश्यक छ ।
अन्त्यमा, नेपालमा कृषि व्यवसायिकरणको प्रशस्तै सम्भावना रहेको छ । गोरुले जोतेर, टाउकोले भारी वोकेर अवको कृषि व्यवसाय चल्दैन यसको लागि यान्त्रीकरण तर्फ लाग्नु पर्दछ । कृषिलाई उद्योगको रुपमा चलाउन सक्नु पर्दछ । अनियन्त्रीत अनुदान भन्दा लगानीमा सहुलियत, उत्पादनमा आधारित अनुदानको परिपाटी विकास गर्नु पर्दछ । प्रभावकारी अनुगमन संयन्त्र सहितको ब्याज अनुदान सहितको ऋण उपलव्ध गराए पनि कृषि कर्म व्यवसायिक हुने सम्भावना देखिन्छ । यसका लागि सरकार नै कृषकको घरदैलोमा पुग्नु पर्दछ । उसको समस्यामा समाधानको लागि पहल गर्नु पर्दछ । कृषक त नागरिकभन्दा पनि उत्कृष्ट नागरिक पनि हुन् । उनको पाखुरीको बलमा हामी सबै वाँचेका हुन्छौँ । त्यसैले सरकारलाई खोज्दै कृषक होइन कृषकलाई खोज्दै सरकार पुगोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *