गण्डकीमा गुरुङलाई नै मुख्यमन्त्रीको चिठ्ठा पर्ने सम्भावना

गण्डकी प्रदेश

काठमाडौं । संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई बहुमतबाट निस्तेज पार्ने स्थिति नभएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपनि विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी पार्टीले अहिलेसम्म बहुमतको सरकार गठन गर्ने दाबी प्रदेश प्रमुखसँग गर्न सकेका छैनन् । ६० सांसद रहेको गण्डकी प्रदेशमा नेकपा एमालेको २७ सांसद छन् भने नेपाली कांग्रेसको १५ जना सांसद रहेका छन् । यसैगरी माओवादी केन्द्रको सभामुखसहित १२ जना सांसद रहेका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट तीन जना सांसद भएको गण्डकी प्रदेशमा जनता समाजवादीका दुई जना सांसद छन् र मुस्ताङबाट दीपक मनाङे स्वतन्त्र सांसदको रूपमा निर्वाचित भएका छन् ।
बहुमतको सरकार गठन गर्नका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । नेकपा एमालेलाई पन्छाएर माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादीले गठबन्धनको सरकार गठन गर्ने र कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुने प्रस्ताव प्रदेश प्रमुख समक्ष पेश गरिसकेका छन् । तर विकास भएको पछिल्लो राजनीतिक घटना क्रममा राजमोका दुई जना सांसद खेमविक्रम शाही र कृष्ण थापाले कांग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा बन्ने नयाँ सरकारलाई समर्थन दिन अस्विकार गरेका छन् र राजमोको तर्फबाट अहिले पार्टी सचेतक पियारी थापा मात्र नयाँ गठबन्धनको सरकारलाई राजमोको तर्फबाट समर्थन गरिराखेकी छन् । राजमोको तर्फबाट एक जना सांसदले मात्र समर्थन गर्दा बहुमतको सरकारका लागि आवश्यक पर्ने ३१ मत पुग्ने अवस्था छैन । विपक्षी दलको गठबन्धनले बहुमतको सरकार गठन गर्न नसक्ने स्थिति बन्न थालेपछि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भएर हालै मात्र राजीनामा दिएका गुरुङ नै पुनः मुख्यमन्त्रीमा फर्कने स्थिति गण्डकी प्रदेशमा बन्दै गएको छ । राजमोका तिनै जना सांसद बाग्लुङ जिल्लाबाट आएका हुन् । र, यी तीन जनामाध्ये थापा र शाही निर्वाचित हुन् भने पियारी थापा समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । जिल्लामा सधैंभरी कांग्रेससँग प्रतिश्पर्धा हुने र नेकपा एमालेको समर्थनबाट राजमोले जित्ने गरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसलाई नै सरकार बनाउन समर्थन गर्न नसकिने भन्दै शाही र थापाले गठबन्धन सरकार गठन गर्ने प्रस्तावलाई समर्थन गर्न अस्विकार गरी राखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *