जातपात र छुवाछुत मानवीय कलंक

लेख

दिनेश कार्की
मेरो मिल्ने साथीहरू दमाई, कामी, सार्कीजस्ता दलित र आदिवासी जनजाति समुदायका राई, लिम्बु, सुनुवार, धिमाल, सतार, राजवंशी, चौधरी, मगर, गुरूङ, नेवार, तामाङ, जिरेल, थामी, शेर्पा, चेपाङ, हायु, दुरा, दराई छन् । सबै मेरो घर र पसलमा आएर खान्छन, उनका जुठा भाडा म आफैँ मोल्छु । मैले यी जातजातिप्रति कहिल्यै भेदभाव, अपमान गरेको छैन । मैले सँगै बसेर एउटै प्लेटमा खाजा र खाना खाएका छु । मेरा दलित र आदिवासी जनजाति समुदायका बच्चैदेखिका साथी छन् । मेरो घरमा आएर सँगसँगै खाना खाइरहेका छन् । यो क्रम मैले थाहा पाएदेखि अर्थात् वर्षौदेखि चलिरहेको छ । उनीहरू मनको अत्यन्त सफा छन् ।
मेरो मिल्ने दिदी राई, लिम्बु, चौधरी समुदायका छन् । उनीहरू र म प्रायः सँगै मिठो मसिनो पकाएर खान्छौँ ।
मेरो अर्काे मिल्ने साथी मुस्लिम हो, उसँग पनि सँगै चिया खाना र खाजा खान रुचाउछु । उ पनि आफ्नो कर्तव्यलाई इमान्दार साथ पूरा गरिरहेको हुन्छ ।
मगर, गुरुङ, तामाङ, राई, लिम्बु, परियार, प्रधान, चौधरी, यादव पनि छिमेकी छन्, साथी छन् । सिनामंगलको थकाली भान्छा घरमा खाएको खानेकुराको घरिघरि याद आउछ ।
छिमेकी, साथीहरू आ–आफ्नो विशेषताले भरिपूर्ण हुनुहुन्छ । सफा गर्ने कुचिकारले भान्सा सफा नगरोस्, बाथरुम सफा नगरोस्, बेडरुम सफा नगरोस् त त्यहाँ के हुन्छ हालत ? ठाँटिएर खानेको होटलमा बेग्लै सान होला तर, सम्झौँ त त्यो सफासुग्घर गर्ने कुचिकार को झन् कति महत्व छ । आखिर महत्व त झाँडु लगाउने कुचिकारको पनि त उत्तिकै हुने रहेछ । बाथरुम सफा गर्नेको महत्व नदेख्ने ? भोलिपल्ट त्यहाँ जान्छन कसरी ?
बाहुनीका साथी प्रायः नजिकको सबै अरु नै जातको हुनुहुन्छ । उहाँहरूको जातले कहिल्यै फरक पारेन । आ–आफ्नो काम छ, विषेशता छ । बरु उहाँहरूको विषेशतातर्फ ध्यान गयो । के हिन्दू, के मुस्लिम, क्रिश्चियन, वैंष्णव, प्रणामी, आत्मज्ञान, ओमशान्ति जुन धर्म लिए पनि वा अपनाए पनि ईश्वर त आखिर उनै हुन् । किन कसैलाई काढ्नु परो ?
हिन्दू भनेर जात समुदाय र धर्म छुट्याएर बोल्नै आउन्न । छुट्याउने बानी नभएरै होला भिन्नै पकाएर खाने चलन पनि मन पर्दैन । एउटै घरका परिवार सबैले एउटै भाडाको खाना खाए हुन्थ्यो जस्तो लाग्छ, किन भिन्नै पकाएको ? प्रश्नको ओइरो लाग्छन् ।
छोरीले पकाएको आमालाई नचल्ने त्यो के को धर्म ? घरभरि परिवार हुँदा, बिरामी हुँदा तरतरी ¥याल चुहाउँदै आफैँ पकाउन पर्ने, अरुले पकाएको छोएको नचल्ने ? खै के धर्म भन्नु ! शरीरका लागि फाइदाकारी लसुन–प्याज नचल्ने किन ?
यसले पकाएको चल्ने, उसले पकाएको नचल्ने ? पकाएको नचल्ने पानी नचल्ने ! कोठामा राख्दा उसको कालो मलाई सर्दैन त । पकाएको नचलाएर
जातभात र धर्मको आधारमा कसैमाथि अपमान गरेर छिःछिः र दुरदूर गरेर मिल्नु के छ र ?
कसैमाथि भेदभाव गरिन्न । त्योभन्दा ठूलो कुरा आफ्नै सोचले, नजरले र यी हातले अपराध गरिन्न । सबैभन्दा डर पापदेखि अनि अपराधदेखि लाग्छ । जुन दिन जातभातको नजरले मानिसलाई र समाजलाई छुट्याएर हेर्ने गरिन्छ पक्का हो, म पापी बन्नेछु । कसैलाई अछुत बनाएर सोचेर मैले एउटा पाप गरिसकेको छु । मेरो लागि पुरुष र महिला दुई जात बाहेक संसारमा अरु कुनै जात छैन । काटे सबैको रगत रातै हो । फरक रगतमा छ र ? फरक सोचमा छ । जातका कुरा गरेर कुनै व्यक्तिले जन्मसिद्ध पाएको अधिकारलाई किन बन्चित गर्ने ? म पवित्र छु भनेर देखाउन, म ठूलो छु भनेर सुनाउन र म सबसे धनी छु भनेर घोषणा गर्न किन अरुको अपमान !!! किन पाप अनि अपराध !!
आफ्नो अस्तित्व बचाउन, सदियौँदेखि जकडिएर बेरिएर रहेको छुवाछुतविरूद्वको जालो हटाउन बोलिँदैछ, आरक्षण खोजिएको हो भने त्यसविरुद्व खिसीटिउरी किन ?
छुवाछुतको भाषाहरू निमिट्यान्न पार्न हटलाइनको व्यवस्था गर्नुपर्छ । कसैले जातभातको आधारमा भेदभाव, विभेद गरेमा तुरुन्त फोन गर्ने सुविधा भएमा सानो जात, ठूलो जात भन्दै हेप्न डराउँछन् । अपमान सबैभन्दा ठूलो घाउ हो । कहिल्यै नझर्ने गढेर बस्ने विष हो । यो समाजले दिएको अपमानरूपी विषलाई जरैबाट हटाउन साहसीले बोल्नैपर्छ । सरस्वती प्रधानजस्ता आम महिलालाई जातीय अपमान गर्न, अनावश्यक आक्षेप लगाउन पाइँदैन । यहाँ व्यक्तिको फाइदा नाफा–घाटा हेर्नुभन्दा पनि पछाडि पारिएको कमजोर बनाइएका समुदायको मुद्दालाई प्राथमिकता दिएर उनीहरूको शोषणको अन्त्य गर्न सहयोगी भूमिका खेल्नुपर्छ । जातीय विभेदसँग यो जातरूपी विद्रोह तपाईंले पनि उछाल्न सक्नुहुन्छ, ताकि छुवाछुतको भावनाले ग्रसित मनोविज्ञानलाई अन्त्य गर्न तपाईंको हरेक कदमले साथ सहयोग मिलोस् । वर्षौदेखि छुवाछुतको भूमरीमा जकडिएको समाजबाट सबैलाई विभेदरूपी नजरले हेर्ने सोचबाट ग्रस्त मानसिकताविरुद्वको कदममा साथ दिनुपर्छ । परिवर्तन नचाहनेले अझै यस मुद्दालाई गलत हिसाबले व्याख्या गर्न खोज्दैछन् । तिनीहरूको सोचमा परिवर्तन ल्याउन पनि छुवाछुतविरुद्धको अभियानमा साथ दिनुपर्छ । बाहुन–क्षत्रीलाई जे भने पनि हुने, जति गाली गरे पनि हुने र त्यो न्याय हुने ? होइन । यो जातीय विभेद हैन ? हो । यस्तो व्याख्या गर्नेहरू द्वन्द्व पिपासु हुन कि हैनन् ? सबैले सबै जातिको सम्मान र मर्यादा राख्नु पर्छ कि पर्दैन ? कि एउटा जातले अर्कोलाई तथानाम भने पनि त्यो न्यायपूर्ण र ठीक हुन्छ ? चुप बसे पनि बोले पनि त्यो अत्याचार हुने ?
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो भनेर स्कुलमा पढेका छैनन् ? यस्तो देशमा कसरी आपसमा व्यवहार गर्नुपर्छ ? कुनै संस्कार पाएका छैनन् ? द्वन्द्वको समाधान द्वन्द्व चर्काएर हुन्छ भनेर सिकाउन विदेशी सहयोग डलर लिन परेको हो ? क–कसले कुन मुलुकको कति डलर लिदैँछन् त्यो सार्वजनिक गरून् । सार्वजनिक कसम खाउन यो द्वन्द्वका नाममा एनजिओहरूले एक डलर पनि विदेशीको लिएका छैनन् भन्न सक्छन् ? सक्दैनन् भने हामी खोजिदिन्छौँ । अडिट रिपोर्ट सार्वजनिक गरून् । एउटा सधैं उफ्रने, तर अर्को भने सधैँ चुप लागिरहनुपर्ने ? द्वन्द्व चर्काउने ठेक्का कुनै अमुक जातको मात्र हो र ? एउटाले आज उफ्रने तर दोष जति १० पुस्ता अघिका स्वर्गवासी पितृहरूलाई दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *