बलात्कारपछि युवतीको साथमा रहेको सुन र नगद लुटपाट गर्ने युवक पक्राउ

समाचार

काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एकजना युवकले सुन र नगद लुटेका छन् । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कार गरेका हुन् ।

आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पिय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

पूर्व योजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर उनी भागेको एसपी मैनालीले जानकारी दिए । आरोपीलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *