किन स्वतन्त्रको चर्चा बढ्न थाल्यो

लेख समाचार

रामचन्द्र

आम निर्वाचनको हावा मुलुकको राजनीतिमा बग्न थालेको भए पनि मिति भने तय भएको छैन । तर चुनावको हावा बग्न थाले सँगै कतिपय दल तथा व्यक्तिको लागि चुनावका लागि विभिन्न योजना र लक्ष बनाउँदै तयारी समेत सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साताको बिहिबार ललितपुर जिल्लामा आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका कार्यकर्तालाई सम्बोधन गर्दै आगामी आम निर्वाचनमा माओवादीलाई सबभन्दा ठूलो कम्युनिष्ट पार्टी बनाउने लक्षका साथ चुनावको तयारी गर्न निर्देशन दिएका छन् । अहिले सबभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमाले यो हैसियत कायम राख्ने गरी चुनावको तयारीमा जुट्न थालेको छ । अहिले सरकार र गठबन्धनको नेतृत्व गरी राखेको नेपाली काँगे्रसको लक्ष पनि आगामी आम निर्वाचनको परिणामबाट पहिलो हुने नै छ । अर्को कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई सबभन्दा ठूलो कम्युनिष्ट पार्टी बनाउने गरी चुनाबी मैदानमा जान अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका नेता कार्यकर्तालाई आब्हान गरेका छन् ।
यसैगरी अन्य दलको लक्ष आगामी आम निर्वाचनको परिणामबाट संसद र राजनीतिमा आफ्नो सम्माजनक उपस्थिति होस भन्ने छ । तर आगामी आम निर्वाचन प्रति समाजमा आफनो परिचय बनाई सकेका ब्यक्तीमा स्वतन्त्र उम्मेदवारी दिने सोच बाक्लिन थालेको छ । काठमाण्डौ, धनगढी, धरान र जनकपुरमा स्वतन्त्र उम्मेदवारले पाएको सफलताबाट पे्ररित भएर दलहरुको व्यवहारबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारी दिन पे्ररित हुनेको संख्या बढने स्थिति बन्न थालेको हो । राजनीतिक दल र नेता प्रति वाक्क भएका मतदाता स्वतन्त्र उम्मेदवार प्रति आकर्षित हुन थालेको त गत स्थानीय निर्वाचन परिणामले नै देखाएको छ । तर जनतामा आएको यो वितृष्णालाई अपवाद भनेर नेताहरुमा सिरकले मुख छोपेर सुत्ने प्रवृत्ती देखिएको छ । संसदीय पद्दतीमा हुने निर्वाचनमा सर्वाधिक मत ल्याउने जित्ने र बाकीँले हार्ने नियम नै हो यही नियमको कारण जनताको समर्थन नभएका दलहरु पनि ढुक्कले चुनाबी मैदानमा उत्रन्छन् यही कारणले गर्दा आगामी चुनाबमा असलका बीचमा होईन खराबका बीचमा उम्मेदवार छान्न वाद्य छौं । यसैले गर्दा स्वतन्त्र उम्मेदवा मतदाताको रोजाईमा पर्न थालेका छन् ।
राजनीतिक दल र नेताले अहिलेको ब्याबहारमा परिवर्तन गरेनन् भने जनताले दलीय उम्मेदवारको ठाउँमा पद्दती कै विकल्प खोज्ने तिर पनि लाग्न सक्दछन । काठमाण्डौ महानगर कै मामिलामा हेरौ, स्वतन्त्र उम्मेदवार वालेन्द्र साहलाई काठमाण्डौ बासीले शानदार मत सहित गराए मात्र होईन वालेन्द्रले केही गर्छ भन्ने अपेक्षा पनि राखेका छन् । र, साह पनि निर्वाचित भए लगत्तै उपत्यकाबासीले भोगी राखेको फोहोर मैलाको व्यवस्थापनमा आफुलाई सक्रिय बनाएका थिए । सत्ताको नेतृत्व गरी राखेको नपाली काँगे्रसका र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारलाई एकसाथ पराजित गरेर स्वतन्त्र उम्मेदवार विजयी हुनुमा राजनीतिक अर्थ र संकेत छ । यो अर्थको मर्म बुझेर नै उनी फोहोर व्यवस्थापनका लागि सकृय भएका थिए । जब कि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायत उपत्यकका नवनिर्वाचित प्रतिनिधि बधाई खान ब्यस्त थिए । त्यतीखेर फोहोर मैलाको ब्यबस्थापनको समस्यामा उपत्यकाका सबै ठाउँ थिए । यो कारणले गर्दा पनि स्वतन्त्र उम्मेदवार प्रति जनताको आकर्षण बढ्न थालेको देखिन्छ । यसैले गर्दा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या र त्यस प्रति जनताको आकर्षण बढन थालेको देखिन्छ ।
यस बाहेक दलका नेताले जुन मुद्दालाई परिवर्तनको ठूलो उपलब्धी मानेका र प्रचार गरेका छन् । त्यसको अनुभूति जनताले अहिलेसम्म गर्न सकेका छैनन् । यसैले गर्दा जनताको भनाई लोकतन्त्र र गणतन्त्र हामीलाई होईन । नेतालाई आएको हो भनेर नेताहरुको क्रियाकलाप प्रति असन्तोष र आक्रोश पोखी राखेका छन् । यदि दलीय निर्वाचनमा दलहरुको सहभागितालाई जनताका बीचमा सर्बस्वीकार्य बनाउने हो भने सबैभन्दा पहिले नेताहरुको आचरण सुधार हुनु पर्दछ । अब, ०६३ सालको परिवर्तनले ल्याएको उपलब्धीको गीत गाएर मात्रै नेताको स्वार्थ अनुसार राजनीति अगाडी बढने देखिदैन ।
अहिले मुलुकको राजनीति नेताको स्वार्थ एकातिर जनता चाहाना अर्को तिरको स्थितिबाट गुज्रिराखेको छ । यही कारणले गर्दा जनतामा असन्तोष बढी राखेको छ र त्यसको फाईदा दलिय व्यवस्थामा पनि स्वतन्त्रले उठाउने दिन आएको छ । मुलुकको राजनीति असफल मात्र होईन, बदनाम समेत भएको छ । राजनीतिलाई बदनाम र असफल पार्ने बहादुरी अरुले होईन राजनीतिक कर्मीले नै गरेका छन । त्यसकारण अहिले मुलुकलाई उपलब्धी र आदर्शको भाषण होईन आवश्यकता सम्बोधन गर्न सक्ने नेता चाहिएको छ । यो आवश्यकता पुरा नभएकै कारणा मुलुकले अपनाएको व्यवस्था प्रति जनता सन्तुष्ट हुन सकेका छैनन् ।
अहिले परिस्थिति यस्तो छ कि दलहरु एक्लै चुनावी मैदानमा होमिने हैसियतमा छैनन् । किनभने जनताको सरोकारका मुद्दालाई नेता र पार्टीले उठाएकै छैनन् । जनताबाट टाढा हँुदै गए जनाधार पनि भत्किदै जान्छ र त्यसको मुल्य दलले चुकाउनु पर्ने हुन्छ । अहिले त्यही मुल्य चुकाउनु पर्ने अबस्थामा दलहरु पुगेका छन् । र, यसको फाईदा उठाउनकै लागि नयाँ नयाँ दल बजारमा आएका छन भने स्वतन्त्र पनि मैदानमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *