बिहारका सिँचाइमन्त्री कोशी ब्यारेज निरीक्षण गर्न सुनसरी आइपुगे

समाचार

सप्तरी । भारत बिहारका जल संसाधन ९सिँचाइ० मन्त्री सन्जयकुमार झा कोशी ब्यारेज निरीक्षण गर्न सुनसरीमा आइपुगेका छन् । उनले सुनसरीमा रहेको कोशीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् ।

कोशी नदी ओभरफ्लो भइ उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा रहेको मानव बस्तीमा नै प्रवेश गरिरहँदा छिमेकी देश भारतको बिहारका मन्त्री झा नेपाल आएका हुन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोशी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् । उनी सप्तरी पनि पुग्न सक्ने भएकाले सप्तरीको पनि सुरक्षा व्यवस्था कडा पारिएको सप्तरीका प्रजिअ जनार्दन गौतमले जानकारी दिएका छन् ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि नै अविरल वर्षासँगै कोशीको बहाब बढ्दा सुनसरी, सप्तरी, उदयपुर लगायत जिल्लाका ३० हजार बढी बासिन्दा प्रभावित भएका छन् । कोशीको बाढी उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडामा प्रवेश गरेपछि ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानतर्फ गएका छन् ।

हरेक वर्ष कोशीमा आएको बाढीका कारण भारतको बिहारका बासिन्दाहरू पनि प्रभावित हुने गरेका छन् । नेपालमा भने पछिल्लो केही दिनयता कोशीको बहाब बढेपछि ब्यारेजमा रहेका ५६ मध्ये ४६ वटा ढोका खुला गरिएको छ ।

गत वर्ष पनि कोशीको बाँध भत्किँदा भारतको बिहारका हजारौं मानिस विस्थापित भएका थिए । यस्तै २०६५ सालको भदौमा कोशीको तटबन्ध भत्किएपछि नेपाल र भारतका कतिपय जिल्लाहरू जलमग्न हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो । त्यसबेला हजारौं मानिस विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *