गीतसंगीत क्षेत्रमा मैले अझै धेरै काम गर्न बाँकी छ

अन्तरवार्ता अर्थ/वाणिज्य कला-साहित्य विविध

नेपाली सांगीतिक आकाशमा सूर्यबहादुर साउद (विरही) कुनै नौलो नाम होइन । चर्चित अनि लोकप्रिय लोक देउडा गायकको हिसावले त उहाँ अग्रपंक्तिमा पर्नुहुन्छ । झण्डै दुई दशकदेखि ब्यवसायिक रुपमा नै यस क्षेत्रप्रति समर्पित साउद गायनमात्रै होइन, शव्द रचना र संगीत सिर्जनामासमेत उत्तिकै माहिर हुनुहुन्छ । यस क्षेत्रको संरक्षण, उत्थान, सवद्र्धन, प्रवद्र्धन तथा विकासमा उहाँको अथक योगदान रहेको छ । प्रस्तुत छ– आफ्नो परिचय दिन सक्ने बेलादेखि नै संगीतको मिठो स्वाद चखाउनुभएका साउदसँग कालिका महतको मन्थनः

तपाईं आफ्नो विगत कसरी स्मरण गर्नुहुन्छ ?
मेरो विगतदेखि वर्तमानसम्मको जीवन कहिले संघर्षमय त कहिले रमाइलो ढंगबाट चलिरहेको छ । बाल्यकाल पनि रोचक र अविस्मरणिय नै रह्यो । म वि.सं. २०४४ कार्तिक ५ गते सुुदूरपश्चिममा पर्ने डोटी जिल्लाको कलेना गाउँ पञ्चायत–२ (हाल दिपायल सिलगढी नगरपालिका–९) मल्लोकलेनामा जन्मिएँ । मलाई त्यस्तै ५ वर्षको उमेरमा घरबाट ५÷१० मिनेट टाढा पर्ने श्री तेडी प्राथमिक विद्यालयमा भर्ना गरियो । त्यहाँ कक्षा ५ सम्म अध्ययन गरें । त्यसपछि सिलगढीमा अवस्थित श्री पदम पब्लिक माध्यमिक विद्यालय जान थालें । अनि २०६० मा त्यहाँबाटै एसएलसी पास गरें ।

बाल्यकाल रोचक कुन अर्थमा भने म पहिलेबाटै गुन्गुनाउथें, गाउँघरमा पूजाआजा, बिहेबटुलो, चाडबाड आदिमा सहभागिता जनाउथें । नाचगान गर्दथें । त्यतिबेला विद्यालयमा हरेक शुक्रवार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये साँस्कृतिक कार्यक्रममा म सदा प्रथम हुन्थें । विद्यालय, अन्तरविद्यालय, क्षेत्रस्तरीय, जिल्लास्तरीय, अञ्चलस्तरीय आदिमा समेत सर्वोत्कृष्ट लोक देउडा गायकका रूपमा धेरै पुरस्कार हात पारें । त्यसले ममा हौसला बढायो । फेरि म सानो छँदादेखि नै रेडियो मार्फत विभिन्न गीत सुन्थें । विद्यालयमा अध्ययन गर्दाबाटै राम्रा तथा मनले खाएका लय, शब्द कण्ठस्थ गरेको हुन्थें । कतिपय हुबहु गाउथें पनि । त्यसरी रम्दा छुट्टै आनन्द आउँथ्यो ।

संगीतको लयचाहिँ कसरी समात्नुभयो ?
हुन त गीतसंगीतप्रतिको मेरो चाहना सानैदेखिको हो । तर, एसएलसीपछि जव उच्च शिक्षा अध्ययनका लागि डोटी बहुमुखी क्याम्पस भर्ना भएँ तव मेरो औपचारिक–ब्यवसायिक गायन यात्राको थालनी भयो । आफूमा निखार ल्याउने क्रममा स्व. परिमल स्नेही, नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी आदिका देउडा गीत पनि सुन्न थालें । उहाँहरूका गीत सुनेर प्रभावित भएपछि आफैं एल्वम निकाल्न थालेको हुँ ।

तपाईंको अहिलेसम्मका चर्चित एल्वम कुन–कुन हुन् ?
अहिलेसम्म मेरा दुई दर्जनभन्दा बढी गीति एल्वम आइसकेका छन् । ती प्रायः सवै चर्चित र सफल नै मानिन्छन् । यद्यपि तीमध्ये ‘प्रीतिफूल’, ‘यो मेरो जिन्दगी’, ‘लाखबत्ती’, ‘पुतलीको भेष’, ‘विन्ती शैलेश्वरी’, ‘सेती गंगाजल्को’, ‘तेरै छ झझल्को’, ‘का लुकी ब्यान्तारा’, ‘मेरा मन पणिगै’, ‘भैंसी गोठालो’, ‘सुदूरको चेलो’, ‘बनमारा बनभरि छ’, ‘कप्पली’, नरौ मेरो सुवा’, ‘यो लोटाउनु राँगो’, ‘मेरो गाउँ जाली मुइजसी होल्ली’, ‘पोइ चढ्यो चीलगाडी’ आदि निकै उत्कृष्ट छन् ।

लोक देउडा गायन र भाकाबारे प्रकाश पारिदिनुहोस् न ?
हुन त म सवै भाकाका गीत गाउँछु, गाएको छु । र, सवैलाई उत्तिकै आदर–सम्मान गर्छु । तथापि डोट्याली संस्कारमा हुर्केको भएर होला यही भाकाको गीतमा बढी रस बस्यो, दख्खलता प्राप्त भयो । फेरि, नेपाली भाषाको उद्गमस्थल डोट्याली भाषाको आफ्नै महत्व छ । मैले डोट्याली भाषाभाषीका गीतसंगीत र संस्कारलाई विश्वभरि चिनाउने प्रयास गरिसकेको छु । लोक देउडा भाका भनेको सुदूरपश्चिम र कर्णाली भेगमा गाइने लोक–लय हो । यसमा ठट्यौली, भावुक, मायाप्रीति आदि भाकाका प्रासंगिक शब्द रहेका हुन्छन् । यसमा एकल ठाडी, सवाल जवाफ, दोहरी खेल, हुड्केली नाच, गौरा नाच, रनपुतला नाचका साथै विभिन्न चाडपर्व, मेलापाखामा गाइने भाका हुन्छन् ।

सुदूरपश्चिम र कर्णालीमा वैशाखमा बिसु र भदौमा गौरा पर्व मनाइन्छ । गौरा सुदूरको विशेष पर्व हो । हिमालयपुत्री पार्वती र शिवजीको धार्मिक गाथासँग जोडिएको कथामा आधारित छ, गौरापर्व । यो महिला विशेष पर्व हो, नेपालीको महान् पर्व तीजजस्तै । तर, गौरापर्व तीज पर्वभन्दा संस्कृति र शैलीमा फरक छ । गौरापर्व सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका अलावा भारतको कुमाउ, गडवाल क्षेत्रमा पनि मनाइन्छ । उसो त गौरा र देउडा खेल (नृत्य)को सम्बन्ध नङ–मासुको जस्तै छ ।

गौरापर्वमा देउडा खेलाडीहरू तँछाडमँछाड गर्दै गोलाकारमा घुम्छन् । खेलमा दुई पक्ष हुन्छ, जुन सवाल–जवाफमा आधारित हुन्छ । पाइतला प्रधान भएकाले प्रत्येकले डेढ कदममा देब्रेबाट दाहिनेतर्फ घुम्नु पर्छ । घुमेर मात्र पुग्दैन, गीतहरू पनि खेलको लयअनुसार गाउँदै जानुपर्छ । एकातिर पाइताला मिलाउन जान्नुपर्छ भने अर्कोतर्फ गीत बुझेर गाउँदै घुम्नुपर्छ । सबैका पाइताला र गीत मिलेपछि दर्शकलाई पनि भरपूर मनोरञ्जन हुन्छ । हातमा हात मिलाएर कुम पनि जोडेर, स्वरमा स्वर मिलाउँदा वास्तवमा मौलिक संस्कृति सुदूरपश्चिम र कर्णालीमा पो रहेछ भन्ने बोध हुन्छ ।

यो क्षेत्रमा लागेर तपाईंले समाज–राष्ट्रलाई के योगदान गर्नुभयो ?
संगीतको माध्यमबाट मैले अहिलेसम्म जेजति गरें त्यो सवै समाज र राष्ट्रकै लागि गरेको छु । मैले जुन कर्म गरिरहेको छु त्यसले पक्कै पनि केही न केही सकारात्मक अंशहरु दिएको छ । यस क्षेत्रमा लागेर सर्वप्रथमतः समाजलाई मनोरञ्जन दिएँ । गीतसंगीतले विशेषतः हास्ने–हसाउने, इतिहासमा लुकेका कुरालाई कोट्ट्याउने, सामाजिक भावका शब्द सिर्जना गरी जनमानसका आँखा खुलाउने, लुकेका चित्र पारदर्शी गराउने, बिर्सिएका कुरा ताजा गराउने, संस्कृतिको जगेर्नाका साथै हाम्रो संस्कारको संरक्षण गर्ने–गराउने, पर्यटकीय सम्भावना भएका स्थानको गीति–लयमार्फत जानकारी गराउने, राष्ट्रका सम्बद्ध निकायलाई घच्घच्याउने आदि भूमिका खेल्छ । हो, यसमा मैले इट्टा थप्ने प्रयास गरेको छु भन्ने ठम्याई हो । गीतसंगीतको क्षेत्रमा मैले गर्न अझ धेरै बाँकी छ । अझै राम्रा सृजना पस्कनु छ ।

अनि समाज–राष्ट्रले मलाई दिने सवालमा म अहिले जुन स्थानमा छु यो सवै संगीत क्षेत्रबाटै सम्भव भएको हो । मलाई समाज–राष्ट्रले उच्च सम्मान दिएको छ । लाखौं श्रोता–दर्शकको सद्भाव, माया अनि सुन्दर मनहरूको संगत पाएको छु । मलाई लाग्छ, संगीतले मलाई पूर्ण बनाइदिएको छ । विभिन्न निकाय, संघसंस्थाबाट उल्लेख्य माया पाएको छु । म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सुदूरपश्चिम प्रदेशको सचिव, देउडा गीत प्रतिष्ठानको उपाध्यक्ष, सुदूरपश्चिम कला प्रतिष्ठान, नेपालको सचिव, पश्चिम नेपाल साँस्कृतिक केन्द्रको उपाध्यक्ष, सुदूरपश्चिम कला संस्कृति केन्द्रको उपाध्यक्ष छु । नेपाल सरकारबाट कला संस्कृति सम्मान–२०७६ लगायत विभिन्न सरकारी–गैर सरकारी संस्थाले अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मान गरेका छन् ।

जस्तो कि सुदूरपश्चिम क्षेत्रीय प्रतिभा पुरस्कार–२०७२, राष्ट्रिय डेउडा गीत सम्मान–२०१६ (आयोजक सुदूरपश्चिम सेवा समाज कतार), राष्ट्रिय डेउडा गायक सम्मान–२०१७ (आयोजक नेपाली सुदूरपश्चिमेली समाज भारत), राष्ट्रिय लोक डेउडा गायक सम्मान–२०१७ (आयोजक सुदूरपश्चिमेली नेपाली समाज–भारत), उत्कृष्ट डेउडा गीत सम्मान–२०७४(आयोजक पञ्चदेव विनायक नगरपालिका अछाम), राष्ट्रिय लोक डेउडा गायक सम्मान–२०७६ (आयोजक घण्टेश्वर मन्दिर आधारभूत विद्यालय), राष्ट्रिय लोक तथा डेउडा सम्मान–२०७८ (आयोजक सुदूरपश्चिम सेवा समाज– यूएई), राष्ट्रिय लोक डेउडा गायक कदरपत्र–२०७९ (आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल), राष्ट्रिय लोक तथा डेउडा गायक सम्मान–२०७९ (आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल), राष्ट्रिय डेउडा गीत सम्मान–२०७९ (आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल), तेस्रो नाट्यश्वर म्युजिक अवार्ड–२०७९ (सर्वोत्कृष्ट डेउडा गायक) लगायत पाएँ । यसका अतिरिक्त गीतसंगीत क्षेत्र–विधासँग सम्वन्धित धेरै कार्यक्रममा कुशल निर्णायकको भूमिका निर्वाह गरेको छु । यो नै मेरा लागि अत्यन्त गर्वको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *