काठमाडौं । विद्युतीय धरापमा परेर सिरहा गोविन्दपुरकी १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर बालिका गुलसना खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको हो । धराप थापेको आरोपमा प्रहरीले गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केही बेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसनाको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घाँस काट्न जान्छु भन्दै घरबाट हिँडेकी छोरी हराएको भनेर भोलिपल्ट आमा जेहदा खातुनले खोजीका निम्ति मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन चैत १२ मा शव सडेगलेको अवस्थामा भेटिएको थियो ।