काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गर्दै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताएको छ । साथै राईले टेक्निकल्ली मात्र पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दुःख लागेको उल्लेख गर्यो ।
छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन । जित्नैपर्ने खेलमा निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि खेल र समूह विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । एसियन कपमा छनोट हुन असफल भएपनि बलियो उज्बेकिस्तानसँग दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै खेल बराबरी गर्न सफल नेपाली महिला टोलीको प्रशंसा भएको थियो ।
यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन् ।

