राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीबीच घम्साघम्सी, कांग्रेस इतिरपक्ष नेताहरु गठबन्धन तोड्ने प्रयासमा

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारभित्र राष्ट्रिय सभाको अध्यक्ष कसलाई बनाउने भन्ने रस्साकस्सी चलिरहेको छ । उता सत्तासाझेदार दल नेपाली कांग्रेसको महासमिति बैठक गोदावरीमा चलिरहेको छ । त्यसकारणले पनि राष्ट्रिय सभाको अध्यक्ष कसलाई बनाउने भन्ने सत्तागठबन्धन भित्र एकिन भएको छैन । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष आफूहरुले पाउनुपर्ने दावी गरिरहेका छन् ।

उता, नेपाली कांग्रेसले पनि राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्ने अडान लिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन लागिपरेका छन् । तर, सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने छाँटकाट देखिँदैन । यसको छिनोफानो भने कांग्रेसको महासमिति बैठक सकिएपछि मात्रै हुने छ । त्यसैगरी, प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन लागिपरेका छन् ।

नारायण काजी श्रेष्ठलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएर कांग्रेसका सिटौलालाई उपप्रधानसहित गृहमन्त्री बनाउने योजना भइरहेको छ । तर, त्यो भने अहिले नै एकिन भइसकेको छैन । प्रदेश नं. १ मा माओवादीकी चन्दा कार्की राष्ट्रिय सभा सदस्यमा पराजित भएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने त्यसको अध्यक्ष नारायणकाजी श्रेष्ठलाई बनाउन लागेका छन् । उता नेपाली कांग्रेसका इतरपक्ष नेताहरुले यो गठबन्धन भत्काएर डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने र भावी सभापतिका लागि गगनकुमार थापा आफू सभापति बन्ने डिजाइन लागिरहेका छन् ।

तर, कांग्रेसको जारी महासमिति बैठकले कस्तो भूमिका खेल्छ त्यो भने निश्चित भइसकेको छैन । कांग्रेस महासमिति बैठकमा नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउन केन्द्रीय सदस्य चन्द्र भण्डारीको नेतृत्वमा हस्ताक्षर पनि संकलन गरिएको छ । यस विषयमा कांग्रेसभित्रै शीर्ष नेताहरुबीच मत विभाजन हुँदा हिन्दू राष्ट्र राख्ने नराख्ने निश्चित भइसकेको छैन । कांग्रेसका इतिर पक्ष नेताहरुले जसरी पनि यो गठबन्धन तोड्ने र नयाँ समिकरण गरेर सरकार बनाउने योजना बनाइराखेका छन् ।

गठबन्धन सरकारभित्र अर्थमन्त्री डा. प्रकाश शरण महत, रक्षामन्त्री पूर्णबहादुृर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राम्रो काम गर्न नसकेको भन्दै सत्तासाझेदार दलदेखि प्रतिपक्षले समेत विरोध गरिरहेका छन् । प्रतिपक्ष दलले पनि सरकारले भनेजस्तो काम गर्न नसकेको आरोप लगाएर सडक आन्दोलनसमेत गर्ने धम्की दिइरहेको छ ।

तर, कांग्रेसले जारी महासमिति बैठकबाट कस्तो निर्णय लिने हो त्यसपछि गठबन्धन सरकारको भविष्यबारे एकिन हुने छ । उता, फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष चयनमा कसले बाजी मार्ने हो भन्ने एकिन भएको छैन । राष्ट्रिय सभा अध्यक्षमा सत्तासाझेदार दल कांग्रेस र माओवादीबीचको लुछाचुडीले गर्दा गठबन्धन सरकारको भविष्य पनि अन्यौलतिर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *