सालक साहित्य

राजनीति लेख

केही महिनाको अन्तरालमा डिभिजनल वन अधिकृत बिष्णु आचार्यसँग भेट भयो । अघिल्लो भेट चिउरी, चेपाङ्ग र चमेरोको वारेमा लेखिएको पुस्तक उपहार दिने सिलसिलामा भएको थियो । त्यस बेलामा मकवानपुर जिल्लामा पर्ने मनहरी डिभिजन वन कार्यालयको प्रमुख हुनुहुन्थ्यो । अहिलेको कार्यक्षेत्र धादिङ्ग रहेको छ । यो पटक पनि किताब नैं उपहार दिने सिलसिलामा भेट भएको हो । उहाँ जहाँ जानुहुन्छ स्थानीय केही खास सवालमा आधारित काम गर्ने चिनारी बनाउनु भएको छ । धादिङ्ग डिभिजन वन कार्यालयले सालक संरक्षण अभियानका सन्दर्भमा एक पुस्तक प्रकाशन गरेको रहेछ ।

हराउँदै गए सालक
हामी सानो हुँदा बारीमा देखिएको केही दृश्य याद आइरहन्छ । अघिल्लो साँझसम्म त्यो स्थानमा कुनै माटो हुन्नथ्यो तर विहानै आलो माटोको थुप्रो देखिन्थ्यो । अनी छेउमा सानो सानो मान्छे नैं पस्न मिल्ने खाल्को खाल्डो हुन्थ्यो । के हो आमा भनेर सोथ्यौं । आमाले सालकले खाल्डो पारेको भन्नु हुन्थ्यो । किन खनेको ? वाल जिज्ञासामा आमाले उसको खानेकुरा खोज्न भन्नु हुन्थ्यो । सालकले धमिरा खान्छ त्यही खोजेको होला भन्नु हुन्थ्यो । तर अहिले यस्तो दृश्य देख्न पाइन्न । सायद सालक लोप भए होलान् । त्यही सालक संरक्षण अभियानमा डिभिजन वन कार्यालय धादिङ्ग र त्यस कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत नियमित क्रियाशिल रहनु भएको छ ।
पुस्तकमा सालकको उपलव्धता र यसको अवैद्य व्यापारको बारेमा चर्चा गरेको छ ।

सालकलाई किसानको साथीको रुपमा मानिंदो रहेछ । यसले वालीनालीमा नोक्सानी पु¥याउने कमिला र धमिरालाई आहारा बनाउने र किसानलाई कुनै हानी नपु¥याउने भएकोले पनि यसलाई किसानको साथी भन्न सकियो । यो जन्तु आफ्नो खाना खोज्ने राती मात्र निस्कँदो रहेछ । केही महिना अघि धादिङ्गमा नैं तत्कालिन धादिङ्गका डिभिजनल वन अधिकृत अजयविक्रम मानन्धरसँग भैरवी मन्दीर पुगेर फर्कदा रात परेको थियो । सडकमा सालक देखियो । हामीले समात्यौं । त्यो नैं मैले पहिलो पटक र अहिलेसम्मको अन्तीम पटक सालकलाई छोएको हुँ । डराई डराइ छोएको थिएँ । वन कर्मचारी नैं त्यहाँ भएकाले उहाँहरुले सालकलाई सहजता प्रदान गर्नुृ भएको थियो । त्यही कुरा यस पुस्तकमा सालक भेटिएमा के गर्ने र के नगर्ने भन्ने पनि उल्लेख गरेको रहेछ । जस्ले गर्दा म जस्तोलाई सहयोगी पुस्तक रहेछ यो ।

पठनीय प्रकाशन
यस पुस्तकलाई ३ भागमा वाँडेको पाइन्छ । पहिलो ११ पृष्ठसम्म सालकसम्वन्धी जानकारीमूलक सामाग्रीहरु समावेश गरिएका छन् । यहाँ सालकको चिनारी, वासस्थान, संरक्षणका अभियानहरु उल्लेख गरिएको छ । त्यस पछि ५ वटा पठनीय कथा, अनुभुती जस्ता सामाग्रीहरु राखिएका छन् । अन्तीम भागमा २० वटा गजल, मुक्तक, कविताहरु संकलन गरी समावेश गरिएका छन् । यी रचनाहरु विभिन्न क्षेत्रमा क्रियाशिल तथा साहित्यीक व्यक्तिहरुबाट संकलन गरिएको देखिन्छ । त्यसैले यो पुस्तकलाई सालक सम्वन्धी सम्पूर्ण जानकारी सहित सालक माथि लेखिएको पहिलो साहित्य हो भन्दा फरक नपर्ला ।

जीउने प्रकृतिको उपहार
‘सालक’ शान्त र लजालु स्वभावको स्तनधारी प्राणी हो । यसको शरिर भर बाक्लो खपटा हुन्छ । यस्ले धमिरा तथा कमिलाको आहार गर्दछ । यो रातीमा आहारा खोज्न निस्कन्छ । यस्ले खतराको महशुस गरेमा भकुण्डो जस्तो डल्लो पर्दछ । यो डल्लोका सवै तिर खपटाले घेरिएको पार्दछ । जब उस्ले सुरक्षित महशुस गर्दछ विस्तारै आफ्नो ज्यान खुकुलो पारी हिड्दछ ।

संसारमा सबै भन्दा बढि बुद्धि भएको प्राणी मानिस मानिन्छ । अरु प्राणी पनि वुद्धि नभएका होइनन् । मानिस बाहेकका प्राणीको वुद्धिमा प्राकृतिकता भेटिन्छ तर मानिस मात्र यस्तो प्राणी होला जस्ले अप्राकृतिक काम गर्न पनि पछि पर्दैन । प्रसँगको हो सालकले शत्रुसँग बँच्ने तरिका । वाह्य खतरा देखेमा डल्लो परेर जोगिँदो रहेछ । यो तरिकाबाट प्राकृतिक शत्रुवाट आफुलाई सुरक्षित राख्न सक्दछ तर मान्छेसँग जोगीन सकेन । मान्छेले त्यो डल्लो नैं वोकेर हिडेको पाइयो । अवैध ओसार पसार हुन थाल्यो । अन्धविश्वास नैं होला, सालकको खपडा घरमा राख्दा शुभ हुन्छ भन्ने चलन पनि रहेछ । बालिनालीमा किटनाशक औषधी प्रयोग गर्दा त्यसको असर सालकमा पनि परेको आशंका पनि छ । त्यसै गरी सालकको प्रजनन् प्रकृया पनि यही साइजका अन्य प्राणीहरु भन्दा ढिलो हुने गर्दछ । त्यसैले सालक दिनप्रतिदिन घटि रहेको पाइन्छ ।

सालक संरक्षण अभियान
सालक संरक्षणकालागि विभिन्न संघसंस्थाहरु क्रियाशिल रहेका छन् । सरकारी संरचनाहरु पनि यस प्रति संवेदनशिल देखिएका छन् । पुस्तकमा उल्लेख भए अनुसार नेपाल सरकारका संरचना देखि अन्तरराष्ट्रिय संघसंस्थाहरु समेत सालक वचाउन लागेको देखिन्छ । सन् २०११ देखि नैं विश्वव्यापी रुपमा संगठित कोशिस भएको देखिन्छ । त्यसै गरी नेपालमा भने सन् २०१५ देखि सालक दिवस भनेर मनाउन थालेको देखिन्छ । अंगे्रजी क्यालेण्डर अनुसार फेब्रुअरी महिनाको तेस्रो शनिवार विश्व सालक दिवस भनी विभिन्न कार्यक्रम गरी मनाउने चलन चलिसकेको छ । वागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा नैं सालक संरक्षणको बिषयलाई उल्लेख गरेको छ ।
यो धर्ति सवै प्राणीको हो भन्ने मनोभावना मानिसमा आउन जरुरी छ । संसारको सवै भन्दा वढि वुद्धि भएको प्राणीको नाताले मान्छेले नैं यो काम गर्नु पर्दछ । सालक संरक्षणमा टेवा पु¥याउने हेतुले तयार गरेको पुस्तकमा अब गर्नु पर्ने काम सहित सुझावहरु सुझाइएका छन् । प्राकृतिक रुपमा बासस्थानको व्यवस्था मानवले मिलाउन सक्छ र पर्छ भन्ने उल्लेख छ ।

सालक साहित्य
हाम्रो सालक प्यारो सालक पुस्तकमा केही पठनीय कथाहरु समावेश छन् । डा. हिमलाल श्रेष्ठको लघुकथा ‘जिद्दी केटो र सालक’ पढ्दा आनन्द आउँछ । कथा काल्पनिक नैं होला तर जिद्दी केटोले गरेको प्रयास र उस्लाई दिएको पहिचान गजब लाग्दछ । यस कथा पढ्नेलाई उत्प्रेरित नैं गर्ला ।

राम कुमार एलनले लेखेको ‘लोभले लाप, लापले विलाप’ कथा पढ्न सुरु गरे देखि नसक्दासम्म मेरो आँखा रोकिएन । कसरी विपन्नवर्ग सालकको खबटा ओसारपसारमा फस्न पुग्दछ भन्ने देखिन्छ । यो पढ्दा मन नैं अमिलो हुन्छ । सुनिलको बुबाले दुई हजारको लोभमा जेल सजाय काट्न वाध्य भएको घटना दर्साएको थियो । त्यो सामाग्री पढिरहँदा सालक सम्वन्धी धेरै सूचनाहरु वार्तालाप शैलीवाट थाहा पाउन सकिन्छ । लेखिएको छ ‘ नेपालमा २ खाल्का सालक पाइन्छन् ।

कालो सालकलाई चाइनिज प्याङ्गोलिएन र तामे सालक जस्लाई इन्डिएन प्याङ्गोलिएन भनिन्छ ।’ यो शव्दावली पढिरहँदा किन चाइनिज र इन्डिएन भनियो होला भनेर मनमा भावहरु आउने गर्दछन् । सायद छिमेकी देश भन्दा हामी समृद्ध भएको भए नेपाली प्याङगोलिएन नैं भनिन्थ्यो होला भन्ने लाग्दछ । अरु नंै केही कारण होला तर मेरो मनमा यो खालको जिज्ञासा पैदा भयो । यद्यपी पत्रकार एलनको लेखन प्रस्तुती पढ्न जाँगर लाग्दो छ । सूचनामूलक छ ।

यस पुस्तकका लेखक बिष्णु प्रसाद आचार्यले चीन्की थरुनीको सालक जोगाउने प्रतिज्ञा अर्को पठनीय सामाग्री हो । यो पक्कै सत्य घटनाबाट प्रेरित भैं लेखिएको कथा हुनु पर्दछ । सामान्य कुरामा ध्यान नदिँदा कसरी जेलमा कोचिनु पर्दछ भन्ने कुरा उल्लेख छ । कथाकी प्रमुख पात्र चीन्कीले वनमा मरेको सालक घरमा लगेर खबटा ढोकामा टाँगे वापत जेलको हावा खानु परेको छ । चीन्की निर्दोष रहेको कुरा वन अधिकृत रहेका लेखक आचार्यलाई थाहा छ । तथापी थुनीनु परेको छ । यस्तो अवस्था कति चीन्कीहरुले व्यहोरी रहेका होलान्, मनलाई चसक्क पार्दछ । वन प्रशासकको मन हुँदैन कि क्या हो भन्ने पनि लाग्दछ । अनी, न्यायालयले चीन्कीको निर्दोषीपन र व्यवहारिकता वुझेर न्याय दिए हुन्थ्यो भन्ने लागिरहन्छ ।

सालकको सन्दर्भमा डिभिजन वन कार्यालय धादिङ्ग शैक्षिक गन्तव्य भएको चित्रण गरिएको छ । वन कार्यालयको परिशर पूरै सालकमय देखिन्छ । देवल सहितको सालकको मुर्ति राखिएको छ । यी विषयहरुलाई रोचक तरिकाले ‘सालकले जुराएको शैक्षिक गन्तव्य’ नामक सामाग्री विष्णु आचार्यले लेख्नु भएको छ । त्यसै गरी राजु झल्लु प्रसादले लेखेको ‘ठुलो वनमा छाएको शान्ती’ नामक सामाग्रीको साथमा २० वटा गजल तथा कविताहरु समावेश छन् । वन, वातावरण तथा प्रशासनिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले सालकका वारेमा विभिन्न कोणबाट चर्चा गरेका छन् । यी रचनाहरु अध्ययन गर्दा सालक माथि लेखिएको साहित्यहरुको असल एक संग्रह मान्न सकिन्छ ।

हरेक पृष्ठ रंगिन छन् । अक्षरसँगैं रंगिन चित्रहरुले यो पुस्तकको थप ओज वढाएको छ । हेर्दैमा पढौं पढौं लाग्दछ । पढ्न जाँगर नलाग्नेहरुलाई पनि फोटाहरुले आँखा तान्दछ । तर मुख पृष्ठमा नैं राखिएको सालकको फोटो नेपालमा पाइने सालक हो की हैन जसतो लाग्दछ । त्यती मात्र हैन, त्यो फोटो वास्तविक होइन जस्तो पनि देखिन्छ । किसानको साथी सालक भनेर चर्चा गरेको भए पनि पुस्तकमा लेखिएको तर्ककैं आधारमा पुर्ण सहमत हुन सक्ने देखिंदैन । तथापी किसानलाई कुनै हानी नगर्ने जीव सालक हो भन्दा फरक पर्दैन ।
संरक्षण क्षेत्रमा क्रियाशिल डव्लुडव्लुएफसँगको सहकार्यमा डिभिजन वन कार्यालयले प्रकाशन गरेको यो पुस्तकमा प्रयोगका भएको कागज चिल्लो र आकर्षक देखिन्छ । तर पुस्तकको आकारले मन खासै तान्दैन । आकार भन्नाले मोटाइ भन्न खोजेको होइन ।

लम्वाइ चित्ताकर्षक देखिन्न अलि भद्दा देखिन्छ । सवै भन्दा पहिला अनुहार हेरेर मात्र कुराकानी गर्ने बानी परेका नेपालीलाई पुस्तकको आकारले पनि फरक पार्न सक्छ । सधैं सहि नहोला तर पुस्ताकारले मन तानेन भने भित्री सामाग्री जे भए पनि वेवास्तामा पर्न सक्छ । पुस्तकमा बिषयसुची नराख्दा धेरै कुरा हराए वा छुटेको जस्तो लाग्दछ । शिर्षक हेरेर पढ्न खोज्नेलाई झन्झटिलो पारिदिन्छ । तर एक पटक पढ्नु होला सालक सम्वन्धी यथेष्ट जानकारी पाइन्छ । वन, वातावरण र जिवजन्तुको बारेमा चासो राख्नेले पढ्नै पर्ने पुस्तक हो ‘हाम्रो सालक, प्यारो सालक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *