धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ सेवनविरुद्ध सबैको सहकार्य आवश्यक

शिक्षा/स्वास्थ समाचार

कालिका बहादुर महत
पहिला धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ सेवन गर्ने व्यक्तिहरु चुरोट, खैनी र चुन–सूर्तीका बट्टा बोकेर हिड्ने गर्दथे । तर, पछिल्लो समय त्यस्ता चुरोट, खैनी, बिडीका बट्टा नै बोकेर हिड्ने व्यक्तिहरुको संख्यामा ह्वात्तै कमी आएको छ । चुरोट पिउनेहरु खिल्लीमा ओर्लिएका छन्् भने सूर्ती सेवन गर्नेहरुमा कमी आएको छ । सार्वजनिक यातायतका साधनहरुमा धुम्रपान गर्नेहरु पनि विरलै मात्र भेटिन्छन् । सुर्तीजन्य पदार्थको सेवन गर्नु स्वास्थ्यका लागि हानीकारक छ भन्ने सूचना ९० प्रतिशत भन्दा बढी व्यक्तिहरुमा पुगिसकेको अवस्था छ । सुर्तीजन्य पदार्थका बट्टाहरुमा स्वास्थ्य चेतावनीयुक्त डरलाग्दा फोटो अंकित सन्देश छापिने गरेको पाइन्छ । यसले सुर्तीजन्य पदार्थको नियन्त्रण र न्यूनिकरण गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ ।

यसको अर्को पाटो पछिल्ला दिनमा विशेष गरी युवायुवतीहरुमा ई–सिगरेट, भेपिङ्ग र हुक्का सेवन गर्ने प्रकृति बढदै जानु पक्कै पनि राम्रो पक्ष होइन । धुवा आउने धुँवाजन्य पद्धार्थ मात्रै धुम्रपान हो भन्ने मानसिकताका कारण आमनागरिकमा यो अवस्था सिर्जना भएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले ई–सिगरेट र भेपिङ्गको सेवनलाई पनि निषेध गरेको छ । तर, यसलाई सुर्ती उत्पादन, प्रशोधन, चुरोट फ्याक्ट्री, व्यपारीहरु र होटेल, रेष्टुरेन्ट, क्याफे व्यवसायीहरुले ई–सिगरेट र भेपिङ्ग त धुम्रपान नै होइन भन्ने खालको कुप्रचार गर्ने गरेका छन् । ई–सिगरेट र भेपिङ्गले चुरोट, खैनीले जस्तो मानिसको स्वास्थ्यलाई हानी नगर्ने व्याख्याले युवायुवतीलाई प्रोत्साहन गरिरहेका छन् । होटेल, रेस्टुरेन्ट, वारहरुले पनि ई–सिगरेट र भेपिङ्गलाई युवायुवती आकर्षित गर्ने माध्यमका रुपमा प्रयोग गर्ने गरेका छन् ।

काठमाडौंका धेरे जसो रेष्टुरेन्टहरुले युवायुवतीहरुलाई स्वागत नै ई–हुक्का अथवा ई–सिगरेट र भेपिङ्गबाट गर्ने गरेका छन् । ई–सिगरेट र भेपिङ्गको लतमा फसेका युवायुवती मध्ये अधिकांशलाई यसले मानव स्वास्थ्यमा पु¥याउने हानी नोक्सानीका बारेमा राम्रो ज्ञान पनि छैन । यसलाई युवायुवतीहरुले मनोरन्जनको साधनको रुपमा लिएका हुन्छन् । सरकारले धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ निषेध गर्ने अभियानमा चुरोट, बिडी, खैनी, गुट्का, सुर्तीको कुरालाई बढी उठाउने गरेका छन् । तर, चुरोट, बिडी, खैनी, गुट्का, सुर्ती भन्दा हानीकारक ई–सिगरेट र भेपिङ्गको कुरा नउठाउने गरेकाले पनि यो अवस्था आएको हुन सक्छ । ई–सिगरेट र भेपिङ्ग पनि स्वास्थ्यका लागि उत्तिकै हानिकारक हो भन्ने कुरा हरेकले बुझ्नुपर्छ र बुझेकाले अरुलाई बुझाउनुपर्छ भन्ने भावना सबैमा हुन जरुरी छ ।

चिकित्सकहरुका अनुसार ई–सिगरेट र भेपिङ्गमा हुने सुर्ती, रसायनिक पदार्थ र यसबाट निस्कने धुवाँले फोक्सो, मुख, पिसाबथैली र पेटको क्यान्सर हुने जोखिम बढी छ । विज्ञहरुका अनुसार ई–सिगरेट र भेपिङ्ग सेवनबाट युवायुवती र बालबालिकाको मस्तिष्क विकासमा गम्भीर असर पु¥याउँछ । यसका साथै यसको सेवनले रक्तनली तथा मुटु रोग निम्त्याउँनुका साथै श्वासप्रश्वाससम्बन्धी थुप्रै गम्भीर प्रकृतिका रोगहरूको जोखिम बढ्छ । नेपाल सरकारले ई–सिगरेट र भेपिङ्गको आयात, उत्पादन, विक्री–वितरण तथा प्रचार प्रसारमा निषेध गरेकोछ । तर, यस विषयमा सूर्ती उत्पादन, प्रसोधन र विक्रीवितरण गर्ने व्यापारीले जानेर पनि नजानेको झै व्यवहार गरिरहेका छन् । सूर्ती उत्पादन गर्ने व्यक्ति, चुरोट, गुट्का उत्पादन गर्ने कम्पनी र विक्रीवितरण गर्ने व्यापारीहरुले सामाजिक उत्तरदायित्वको काम गरेको नाममा विभिन्न माध्यमबाट विज्ञापन गरिराखेका छन् ।

ई–सिगरेट र भेपिङ्ग सृवन गर्दा धुवा नआउने भएकाले यसले अर्को वयक्तिलाई हानी गर्दैन भन्दै यसको प्रमोसनमा व्यापारी लागेका छन् । विभिन्न फ्लेबरमा उपलब्ध गराएर यसको व्यापार बढाउन व्यापारी लागेका छन् । स्टाबेरी, भेनिला जस्ता विभिन्न फ्लेबरका ई–सिगरेट र भेपिङ्गले युवायुवतीलाई लोभ्याएसँगै उनीहरुको स्वास्थ्यलाई पनि जोखिममा पारिरहेको छ । विकसित देशहरुले ई–सिगरेट र भेपिङ्गको सेवनमा कडाई गरेका छन् । उनीहरुले कानून ने बनाएको यसको उपभोग न्युनिकरण गराएका छन् । तर हाम्रो जस्तो विकासोन्मुख देशहरुमा चुरोटको सट्टा ई–सिगरेट र भेपिङ्गको उपभोग बढी रहेको छ । कतिपय होटेल र रेन्टुरेष्ट र क्याफेहरुले चुरोट छोड्नुस् र ई–सिगरेट र भेपिङ्ग रोज्नुस् भन्ने किसिमका विज्ञापनयुक्त बोर्डहरु पनि लगाएको पाइन्छ । ठमेल, दरबारमार्ग , लाजिम्पाट लगायतका ठाउँमा खोलिएका रेष्टुराहरुमा यस्तो लेखिएका बोर्डहरु छ्याप्छ्याप्ती भेटिन्छन् ।

पछिल्ला दिनमा सुर्तीजन्य पदार्थ ऐन आएपछि कुनै पनि सञ्चार माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन । तर यस्ता होटेल, रेष्टुरेन्ट र वारहरुमा चुरोटको सट्टा ई–सिगरेट र भेपिङ्गको लत बसाल्ने किसिमका साइन बोर्डहरु राखेको पाइन्छ । ऐन कार्यन्वयन गर्ने निकायको पनि अब यसमा आँखा लगाउन जरुरी छ । चुरोट वा खैनीको विकल्प ई–सिगरेट र भेपिङ्ग हो भन्दै गलत सूचना प्रवाह भइरहेको पनि पाइन्छ । यस्तो व्यवहार यो पक्कै पनि उचित होइन । चुरोट र खैनीले व्यक्तिको स्वास्थ्यमा जति हानी गर्छ ई–सिगरेट र भेपिङ्गको सेवनले त्यो भन्दा बढी हानी गर्छ । फरक यत्ति हो, ई–सिगरेट र भेपिङ्गबाट सोझै धुुवा आएको देखिँदैन । त्यसलाई युवायुवती झुक्याउने माध्यम बनाएर व्यापारीहरुले आफ्नो उद्देश्य पुरा गरिराखेका छन् ।

कानून कार्यन्वयन गर्ने निकायको नजर अब ई–सिगरेट र भेपिङ्गको सेवन गर्ने गराउने रेष्टुरेन्ट, बार र होटेलहरुमा पुग्नु आवश्यक छ । ई–सिगरेट र भेपिङ्गका उपभोक्ता भनेका प्यलसटु वा कलेज पढ्ने युवायुवती बढी हुने भएकाले यसका बिषयमा विभिन्न कलेजहरुले पनि आफ्ना विद्यार्थीहरुलाई ई–सिगरेट र भेपिङ्ग सेवनका बेफाइदाका बिषयमा जनचेतना बिस्तार गर्नु आवश्यक छ । यसका साथै प्रत्येक अभिभावकहरुले आफ्नो छोराछोरीको आनीबानी, जीवनशैली र लवाईखवाईका बिषयमा हेक्का राख्नुपर्छ । खराव लतमा लाग्ने उमेर समूह भनेकै १४ देखि २० बर्षको हो ।

यो उमेर समूहका युवायुवतीलाई अभिभावकको बढी हेरविचार चाहिन्छ । अभिभावकले आफ्नो अभिभाभकत्व देखाउने उमेर पनि यही हो । नेपालमा वर्षेनी ३९ हजार जनाको अकाल मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट निम्तिने रोगका कारण हुन्छ । नेपालमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सरको प्रमुख कारक तत्व धुम्रपानको सेवन हो । जुनसुनै किसिमको सुर्तीजन्य पदार्थको सेवन भए पनि यसले मानव स्वास्थ्यलाई कुनै न कुनै रुपमा हानी मात्र गरेको हुन्छ । क्यान्सरको उपचार एकदमै महंगो हुन्छ । एक्सन नेपालले गरेको अध्ययन अनुसार क्यान्सर रोगको उपचारमा एक जनालाई कम्तिमा पनि १० लाख रुपैया खर्च हुने गरेको छ । यसका साथै श्वासप्रश्वासको रोग, मधुमेह, मुटुरोग, मस्तिष्क घात जस्ता अनेकौं रोगहरुको कारक तत्व मानिएको सुर्तीजन्य पदार्थलाई आफ्नो साथी कुनै पनि हालतमा नबनाऔं । सुर्ती उद्योगको प्रभावबाट बालबालिका र युवायुवतीलाई जोगाऔं ।

किन की यो उमेर समूह केही नयाँ शैली देख्नेवित्तिकै बढी पभावित हुने समूह हो । ई–सिगरेट र भेपिङ्गका बहानामा आफ्नो स्वास्थ्यमा रोगको घर नबनाऔं । त्यसैले ई–सिगरेट र भेपिङ्गको सेवनमा न्यूनिकरण ल्याउन यसका बिषयमा व्यापक जनचेतना बिस्तार गर्नुपर्छ तर ऐन कार्यन्वयनमा सबैको सहकार्य आवश्यक छ । ई–सिगरेट र भेपिङ्गको सेवनबाट भावी पुस्तालाई जोगाउन सकिए मात्र स्वस्थ्य नेपाल निर्माण गर्न सकिन्छ । त्यसको लागि चुरोट, खैनी, गुट्का, बिडी सेवन गर्नुलाई मात्रै धुम्रपान गरेको मान्नु उचित होइन । ई–सिगरेट र भेपिङ्गको सेवन पनि धुम्रपान हो भन्ने सन्देश सबैमा पु¥याउन जरुरी छ । सरकारले पनि सूर्तीजन्य पद्धार्थ सेवन गर्नु स्वास्थ्यको लागि हानीकारक छ भनेर त्यसविरुद्ध कानुनी बन्देज लगाइरहँदा धेरै राजश्व उठ्ने लोभमा चुरोट उत्पादन र विक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउन सकेको छैन ।

एकातिर कानुनी बन्देज लगाउने अर्कोतिर खुलमखुला उत्पादन र विक्रीवितरण भइरहनुले धुम्रपान तथा सूर्तीजन्य पद्धार्थमा सरकारको दोहोरो भूमिका देखिन्छ । अर्को पक्ष जबसम्म नागरिकमा भित्रैदेखि धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ सेवन स्वास्थ्यको लागि साच्चीकै हानिकारक हो भन्ने चेतना हुन जरुरी छ । त्यसको लागि नीतिनियम ल्याएर मात्रै हुँदैन । त्यसको लागि सन्देशमुलक लेख, रचना, सेमिनार, गोष्ठी र कार्यक्रमहरु गर्न आवश्यक छ । धुम्रपान तथा सूर्तीजन्य पद्धार्थ सेवनविरुद्ध जनचेतनामुलक कार्यक्रमहरु स्कुल, कलेजहरुमा गर्नुपर्ने हुन्छ । त्यसले युवायुवतीलाई धुम्रपान तथा सूर्तीजन्य पद्धाथ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रहेछ भन्ने चुतना जागृत हुन्छ । त्यसको लागि सबै उमेर समूह, वर्ग र समुदायको सहभागिता आवश्यक छ । धुम्रपान तथा सूर्तीजन्य पद्धाथ सेवनविरुद्धको अभियान समुदायबाटै थाल्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *