स्वास्थ्य क्षेत्रको विकृति अन्त होला ?

राजनीति समाचार

मावन स्वास्थ्य नै मानव जीवनको महत्वपूर्ण पक्ष हो । जनताको सरोकार र सबैभन्दा संवेदनशील क्षेत्र मानिने स्वास्थ्य क्षेत्र विकृति र बेथितिले थलिन पुगेमा के होला ? हो, नेपालको सन्दर्भमा सबैभन्दा संवेदनशील मानिएको स्वास्थ्य क्षेत्रमा नै सबैभन्दा भ्रष्टाचार र बेथिति छ । अझै भन्नुपर्दा निजी र केही सीमित व्यक्तिले स्वास्थ्यलाई व्यापारीकरण गरेका छन् । मुलुकको विकट क्षेत्रमा अहिलेसम्म पनि स्वास्थ्य सुविधा पुग्न सकेको छैन । सर्वसाधारण जनता स्वास्थ्य उपचार नै नपाई मृत्युवरण गर्न परेको दृष्टान्तहरु पनि हामीसँग धेरै नै छन् । यस्तो संवेदनशील मानिने स्वास्थ्य क्षेत्रमा पनि औषधि, उपचार उपकरणलगायत विभिन्न सामाग्री खरिदमा भ्रष्टाचार गरेर जनतालाई पिडामाथि पिडा थप्ने काम गरिएको पाइन्छ ।

विकटको त कुरा छाडौं, शहरबजारका प्रतिष्ठित सरकारी अस्पतालहरुमा पनि भए गरेका स्वास्थ्य उपकरणहरु थन्काएर भ्रष्टाचार गर्ने मेसो तयार गरिएको छ । उपकरण सामाग्री थन्काउने र नयाँ खरिदमा भ्रष्टाचार गर्ने मेलोमेसो पनि चल्दै आएको छ । अहिले वीर अस्पताल, टिचिङ अस्पतालजस्ता काठमाडौंकै प्रमुख सरकारी अस्पतालमा समेत विभिन्न उपचार उपकरणहरु बिग्रिएर बसेका छन् । अझ विर अस्पतालमा त उपकरण खरिदमै भ्रष्टाचार हुँदै आएको विषय हामीले उठाउँदै आएका पनि छौं ।

त्यसैगरी, औषधी उपचारका सन्दर्भमा पनि त्यस्तै समस्या छ । अस्पतालका फार्मेसीमा बिरामीलाई चाहिने औषधिहरु नराखेको पाइन्छ । बिरामीलाई आवश्यक पर्ने औषधि खरिद गर्नका लागि निजी फार्मेसी धाउनुपर्ने हुन्छ । अनुगमन र नियन्त्रणको अभावका कारण म्याद गुज्रेका औषधिहरु पनि बिक्री वितरण हुँदै आएका छन् । सरकार यस्ता विषयमा निरीह बन्दै आएको छ । सस्तो मूल्यमा बिक्री गर्नुपर्ने औषधिहरुको चर्काे मूल्य लिने काम निजी र यत्रतत्र खुलेका फार्मेसीले गर्दै आएका छन् । त्यसैगरी, मेडिकल अध्ययन नगरेकाहरुले फार्मेसीमा बसेर बिरामीलाई नक्कली र गलत औषधिहरु पनि बिक्री गरिरहेको तथ्य पनि बाहिर आएको थियो । सरकारले यस्ता कदमलाई निरुत्साहित गर्ने र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई गम्भीरतापूर्वक हेर्न जरुरी देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *