यस स्तम्भमा अघिल्लो श्रृखला देखि तराई तिर घुम्दाको अनुभव लेखि रहेको छु । यस पटक झण्डै एक महिना जती तराई तिर घुमिरहेको छु । खास गरी जल जंगल कार्यक्रम अन्तरगत त्यहाँका समुदायसँग कुराकानी तथा छलफल गरिरहेको छु । जीवनका धेरै वर्ष वन क्षेत्र भएका स्थानमा घुमि हिंडेको थिएँ तर राष्ट्रिय वनको पहुँचबाट टाढा भएको क्षेत्रमा तालिम सञ्चालन गर्ने मौका पाइरहेको छु । एक महिनाको अवधीमा नवलपरासी जिल्लाका २ वटा गाउँपालिका प्रतापपुर र सुस्ताका समुदायसँग साक्षात्कार हुने मौका मिल्यो । त्यसै गरी रुपन्देही जिल्लाको लुम्विनी सांस्कृतिक नगरपालिकाका समुदायसँग अन्तक्रिया गर्ने अवसर पाइयो ।
तराईको तिज
अधिकांश नेपाली महिलाहरुलाई तिजले आकर्षित गर्दछ । तिजको अघिल्लो दिन दर खाने पनि धेरै चेलीहरु माइत आउँछन् । मिठो मिठो पकाउँछन्, खान्छन् । ब्रत वस्नु पर्ने भएकोले ‘दहे’ हुन अघिल्लो दिनमा दर खाने भनिएको भन्ने चलन पनि छ । हुनत पछिल्लो समयमा १ महिना अघि देखि नैं दर खाने लहर पनि वढेको छ । त्यो कार्यलाई सवै जसोले राम्रो मानेका छैनन् तर त्यही गरिरहेका एक दशक जती नैं भैसक्यो होला । शहर वजारको पार्टी प्यालेसको मूख्य कमाई स्रोत नैं दर कार्यक्रम भैरहेको छ । यस कामको अगुवाई संस्था, संघसंगठन र पार्टीका संरचनाहरुले गरिरहेका छन् । यो खालको गतिविधिले तिजको गरिमा वढेको छैन भन्ने धेरै वुझाइ छ । तर त्यही भन्नेहरु पनि यस्ता गतिविधिमा सामेल भएको देख्न पाउनु अर्को अनौठो विषय भने पक्कै हो ।
धेरै वटा तिज पर्वको रमझम देखेको तर ती सवै पहाडिया भूमि वा मान्छेका गतिविधि मात्र देखेको थिएँ । तर यस पटक तराई क्षेत्र त्यो नेपालको सिमाका गतिविधि देख्न पाइयो । यस पटकको हरितालिका तिज पर्वको समयमा तराई तिर बस्ने मौका मिल्यो । विगतमा पनि तराई तिर धेरै गएको भए पनि एकै ठाउँमा लामो वसाई थिएन । यस पटक नेपालको सिमाना छेउमा तिजको रमझममा सहभागी हुने मौका मिल्यो । तराई क्षेत्र खास गरी सिमानाको क्षेत्रमा तिजको रौनक खासै हुँदो रहेनछ । केही पहाडबाट वसाई सरेका भएमा रौनक देखिने रहेछ । तर यस पटक म नवलपरासीको प्रतापपुर गाउँपालिकामा पुगेको थिएँ । त्यसपनि सिमा नजिकैको सुर्यपुरा तिर । त्यहाँ तिजको बारेमा चर्चा भएको पाइएन । यहाँ कोही पनि रातो सारीमा सजिएर हिडेको देखिएन ।
अनी दर खाने चलन नैं सुनिएन । दर खाने दिनमा हामी त्यही एक सामुदायिक भवनमा गाउँपालिकासँगको सहकार्यमा जलजंगल कार्यक्रम अन्तरगत जैविक विविधता, लैंगिक समानता र सामाजिक समावेशीकरण सम्वन्धी तालिम चलाउँदै थियौं । पहाडतिर त्यो दिन तालिम चलाउन खोज्नु मुर्खता बाहेक केही हुन सक्दैन । तर प्रतापपुर गाउँपालिकामा त्यस्तो देखिएन । यद्यपी तिजको दिनमा सामान्य ब्रत भने वस्दा रहेछन् ।
२०८१ भाद्र २१ गते, तिजको दिन । हामी पनि नियमित चलिरहेको तालिमलाई स्थगित गरेर स्थानीय समुदायको गतिविधि हेर्ने र नजिकै रहेका धार्मिक स्थानहरु घुम्ने योजना बनायौं । हामी सुस्ता गाउँपालिका वडा नंं १ को रुपौलिया भन्ने स्थानमा बसेका थियौं । यहाँबाट ९ किलोमिटरको दुरीमा त्रिवेणी धाम र गजेन्द्रमोक्ष धाम पर्दो रहेछ । त्यता लाग्यौं । त्रिवेणी धाममा भने तिज विशेषकोलागि एक मञ्च व्यवस्थापन हुँदै गरेको देखियो । अन्यत्र खासै चहलपहल देखिएन । हामी घुम्दै गजेन्द्रमोक्ष धाम पुग्यौं । नारायणी नदी किनारमा रहेको यस स्थानसँग सम्वन्धीत धेरै किंवदन्तीहरु रहेछन् । एक हात्तीले नदीमा पानी खान लाग्दा गोहीले आक्रमण गरेछ । त्यो आक्रमणबाट जोगाउन भगवान् विष्णु आई जोगाएकोले गजेन्द्र मोक्ष धाम नाम राखिएको भन्ने कुरा त्यहा सुन्न पाइयो । यो स्थान शान्त सुन्दर र गर्मीमा पनि शितलता प्रदान गर्ने छ ।
गण्डक वाँध र नहर
हामी घुम्दै वहुत चर्चित गण्डक बाँध भएको ठाउँमा पुग्यौं । नारायणी नदी विशाल स्वरुप त्यहाँ देख्न पाइयो । गण्डक वाँधको नजिकै भारत तिर जाने नहर रहेछ । त्यो पनि विशाल देखिन्छ । त्यसलाई भारतीय नहर भनिंदो रहेछ । भारतीय नहर भन्दा अझ माथि नेपाल तिरको खेतीमा लगाउनकालागि पठाएको नेपाली नहर रहेछ । यसको मतलव हिँउदमा भारतीय नहर भरीएर माथि तिर पानी फर्के पछि मात्र नेपालको वाँध तिर पानी जाने देखिन्छ ।
भारतीय नहर नाम भने पनि सुस्ता, प्रतापपुरहुँदै नेपाली भूमिबाट नैं वग्दछ । यहि नहरको पानी प्रयोग गरी प्रतापपुर गाउँपालिका वडा नं. ७ मा नेपाल विधुत् प्राधिकरणले गण्डक जलविधुत् चलाएकोछ । १५ मेगावाट क्षमता भएको यो आयोजाबाट ६ मेगावाट मात्र विजुली उत्पादन गरिन्छ । विजुली उत्पादन गर्ने २ वटा मेसीन विग्रेको छ रे । नौलो लाग्ने विषय चाँही नहरको पानी जती प्रयोग गरे पनि मिल्छ । पूर्वाधार वनीसकेको छ । तैपनि विजुली उत्पादन गर्ने २ वटा मेसिन विग्रीएको धेरै भैसक्यो रे । ‘माल पाएर चाल नपाएको’ भनेको यहि होला ।
भारतीय नाम दिएको विशाल नहरबाट नेपाली भूमिका सिँचाई गर्न मिल्दैन । भारतीय पक्षले पानी निकाल्न नदिएको हैनरे । तर त्यो पानी निकालेर नहर भत्केमा वा नोक्सानी भएमा नेपालले क्षतिपुर्ति दिनु पर्ने भएकोले कसैले आँट गर्न नसकेको कुरा स्थानीय वासिन्दाको वुझाइ रहेको छ । नहरबाट प्वाल पारेर निकाले पो भत्किने डर होला । मोटर लगाएर ताने पनि हुन्छ नी । त्यो गर्दा ३ मिटर जती माथि पानी तान्दा हुने देखिन्छ तर यो काम कसैंले गरेको देखिएन । मोटर लगाएर पानी तान्दा कसैले अवरोध गर्दैन रे । तैपनी यसमा चासो देखिन्न । यस विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्दा सिचाई गर्न पाइएन भन्ने कुरा चाँही छ । तर वैकल्पिक उपाय खोजेको देखिन्न ।
अमेरिकी जनताको सहयोगवाट सञ्चालित जल जंगल कार्यक्रम अन्तरगत सुस्तामा ४ वटा र प्रतापुर पालिका ४ वटा तालिम सञ्चालन गर्नु पर्ने थियो । हरेक तालिम २,२ दिनको हुने गर्दथ्यो । जैविक विविधता प्रवद्र्धनकालागि लैङ्गिक समानता तथा सामाजिक समाजिकरण र नेतृत्व विकास सम्वन्धीत तालिम थियो । यी तालिमहरुको सहजिकरण यानमाया गुरुङ्ग र म सम्मीलित टोलीले गरिरहेको थियो । यस तालिम सञ्चालन गर्ने ९ वटा वडा रहेको प्रतापुर गाउँपालिकामा सवै वडालाई समेट्ने गरी ४ स्थानमा सञ्चालन ग¥यौं । नेपालको सिमानाका मानिसहरुको वाक्लो उपस्थीति थियो । भोजपुरी भाषा वोलीचालीको थियो अनी नेपाली बोल्न अलि कठिनाइ हुँदो रहेछ । तर नेपाली वुझ्दछन् ।
सुस्ता गाउँपालिकामा जम्मा ५ वटा वडा मात्र रहेका छन् । हामीले ३ र ४ नं वडाको एकै स्थानमा सञ्चालन गरी वाँकी सवै वडाहरुमा अलग अलग सञ्चालन ग¥यौं । सुस्ता तर्फ भने केरा, उखु, बदामको व्यवसायीक खेती प्रसस्तै देख्न सकिन्थ्यो । प्रतापपुरको तुलनामा सुस्ता वढि हरियाली, मनमोहक र व्यवसायी देखिदो रहेछ । हुनत केही भाग मात्र देखेर पनि हुनसक्छ । क्रमसः