काठमाडौं । यतिबेला निजामती कर्मचारीहरुमा ‘कामकुरा एकातिर कुम्लोबोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ भएको छ । निजामती कर्मचारीलाई यो देशको राष्ट्रसेवक भनिए तापनि सेवाग्राहीको काम गर्नुको सट्टा कर्मचारी युनियनको नेता बन्ने पद र पावरमा पुग्ने योजना बनाउने गर्दछन् । योजना मात्र बनाउँदैनन्, कर्मचारीहरुले राष्ट्रसेवक कर्मचारी भएर राज्यको सेवासुविधा लिने, अफिसको काम नगरेर लोकसेवाको तयारी कक्षा पढाउने र किताब प्रकाशन गर्ने जस्ता काम गरेर राज्य दोहोन गरिरहेका छन् । तिनैै कर्मचारीहरुले लोकसेवा पढाएर, लोकसेवाको प्रश्न बेचेर जागिर खुवाउने थलो बनाएका छन् । अधिकांश लोकसेवा पढाउने कर्मचारीहरुले आफ्ना नातागोता र आफन्तलाई लोकसेवा आयोगको प्रश्नपत्र आउट गर्ने चिट चोराउने र जागिर खुवाउने काम गर्दछन् ।
अन्य सर्वसाधारणका छोराछोरीहरुलाई लोकसेवाको बारेमा कुनै जानकारी हुँदैन । यतिबेला आफ्नो अफिसमा सेवाग्राहीको काम गर्नेभन्दा लोकसेवा पढाउने कर्मचारीहरुको ताँती लाग्ने गरेको छ । उनीहरुले कर्मचारी प्रशासनसम्बन्धी किताब निकाल्ने राज्यका संरचनाको नितिनियम बनाउने गर्दछन् । त्यस्तै, प्राइभेट किताब प्रकाशन गर्नेहरुले पनि तिनै कर्मचारीहरुलाई प्रयोग गरेर विभिन्न विधाका किताबहरु प्रकाशन गर्ने गरेका छन् । कसैले लेखा फाँटसम्बन्धी पढाउँछन्, कसैले प्रशासन फाँट सम्बन्धि पढाउँछन्, कसैले स्टोरसम्बन्धी पढाउँछन्, अधिकांश कर्मचारीहरुले नासु, उपसचिव सचिव, सहसचिव सम्बन्धी पढाउने किताब प्रकाशन गरेर विक्रीवितरण गर्ने गरेका छन् ।
नेपाल सरकारका अधिकांश कर्मचारीहरु लोकसेवा, नेम्स, विश्वभाषा जस्ता कलेजहरु पढाउने गरेसँगै जागिर खाने, जागिरबाट सेवासुविधा लिने धन्दा फस्टाउँदै गएको छ । राज्यका सम्बन्धित निकायले यस्ता विषयमा कुनै ध्यान दिएको पाइँदैन । कर्मचारीहरु जागिर खाने त्योसँगै व्यापार व्यवसाय गर्ने, लोकसेवा पढाउने धन्दा चलाउँदै आएका छन् । बिनाकाम कर्मचारीहरुले राज्यको सेवासुविधा लिदैँ आएका छन् । कर्मचारीतन्त्रभित्र यस्तो लापरवाही हुँदा राज्यका सम्बन्धित निकायहरु मुकदर्शक भएर बसेका छन् । कर्मचारीहरु राज्यबाट तलब, सेवा, सुविधा लिएर सेवाग्राहीको काम गर्नुको सट्टा व्यापार व्यवसायमा संलग्न भएपछि देश दिनप्रतिदिन लथालिङ्ग हुँदै गएको छ । त्योसँगै कर्मचारीतन्त्रभित्र भाडभैलो मच्चिएको छ ।