काठमाडौं । अवसर पाउनु पर्दछ, को कति इमान्दार, कति बेइमान देखाइहाल्ने रहेछन् । त्यसैले त भनिन्छ नि अक्सर नेपालीहरुले अवसर नपाएर मात्र हो वेइमान बन्न नसकेको । त्यही भनाईलाई पृष्टि गरेका छन्,नेपाल सरकारका एक सचिवले । सुशासनको कुरा गरेर नथाक्ने सचिवले सरकारी निकायहरुलाई प्रभावमा पारेर हालैमात्र चोरबाटो बाट आफ्नो सालीलाई सरकारी सेवामा प्रवेश गराएका छन् ।
कुनै पनि सरकारी कार्यालयमा एउटामात्र विज्ञापन खुल्छ,एउटै मात्र आवेदन पर्दछ र त्यहाँ नियुक्ति हुन्छ भने पक्कै पनि दालमा केही न केही कालो रहेको आशंकामा बल पुग्दछ ।
यस्तै कार्य भएको छ,एउटा सरकारी कार्यालयमा । नेपाल सरकारको सचिव पदमा कार्यरत रहेका एक प्रशासकले आफ्नै जोडबलमा उक्त सरकारी कार्यालयमा विज्ञापन खोल्न लगाएर आफ्नो सालीलाई लोकसेवामार्फत स्थायी नियुक्ति दिलाएका हुन । उनले आफ्नो सालीलाई हालैमात्र रामशाहपथमा अवस्थित एउटा सरकारी कार्यालयमा स्थायी रुपमा नियुक्ति दिलाएको स्रोतले जनाएको छ ।
राज्यका साधन,शक्ति,पहुँचको दुरुपयोग गर्दै उक्त कार्यालयलाई आवश्यक नै नभएको एक पदमा रातारात विज्ञापन गर्न लगाएर,कसैलाई थाहै नदिइ उक्त विज्ञापनमा आवेदन दिन लगाइ एक पदमा खुलेको सो विज्ञापनमा आफ्नो सालीको मात्र दरखास्त हाल्न लगाइ,उनै सालीलाई स्थायी नियुक्ति दिलाएपछि कर्मचारीहरुले सो को विरोध गर्न थालेका छन् तर ती सचिवको पत्नी नै सो कार्यालयमा कार्यरत रहेका कारण कसैले मुखै खोलेर विरोध गर्न सकेका छैन ।
सचिव पत्नी समेत सोही कार्यालयमा कार्यरत रहेकोमा अब सालीलाई समेत राज्यका निकायहरु मिलाएर वैद्यानिक तबरले फिट गराइएको हो । उसो त तिनै सचिवलाई एक जना व्यवसायीले बूढानिलकण्ठमा घरै उपहार दिएको चर्चा समेत निजामती वृत्तमा व्यापक छ । यस्तै यस्तै व्यक्तिका कारण हो निजामती प्रशासन दिनप्रति दिन ओरालो लाग्दै रसातालमा पुगेको ।
यस अघि यसैगरी टङ्गालमा अवस्थित अर्काे कार्यालयका एक हाकिमले आफ्नो गर्लफ्रेण्डका लागि एकै पदमा विज्ञापन खोलेर कसैले सुँइको नपाउने गरी उनै ग्रर्लफ्रेण्डलाई सरकारी सेवामा प्रवेश गराएका थिए । त्यसकै फ्लो गर्दै अहिले सचिवले आफ्नी सालीलाई सरकारी जागिरमा स्थायी नियुक्ति दिन भ्याएका छन् ।