काठमाडौं । कांग्रेस र एमाले मिलेर बनेको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको पाँच महिना बितिसक्दा पनि छिमेकी मुलुक भारतले औपचारिक भ्रमणको निमन्त्रणा नदिनुलाई अर्थपूर्णमा लिइएको थियो । भारतले चासो नदेखाएपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण युरोपबाट सुरु भएको थियो । युरोपछि उत्तरी छिमेकी मुलुक चीन भ्रमण गरेका थिए । जनवरी ९ मा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने मिति तय गरिए तापनि त्यो अझै यकिन भइसकेको छैन ।
सत्तासाझेदार दल नेपाली कांग्रेसका इतरपक्षका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले गठबन्धन सरकारले देशमा आर्थिक चलायमान, सुशासन र विकास निर्माणको काम गर्न नसकेको आरोप लगाइरहेका छन् । सरकारमा रहेका मन्त्रीहरु पनि देश जनताको काममा भन्दा कमाउधन्दामा व्यस्त रहेका छन् । सरकारले उद्योगी, व्यापारीहरुलाई लगानीमैत्री वातावरण बनाउन सकेको छैन ।
उद्योगी, व्यापारीहरु लगानी गर्न हच्किएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा पैसा बिना लगानी थुप्रिएर बसेको छ । ती बैंक तथा वित्तीय संस्थाहरुको पैसा राष्ट्र बैंकले खिचेको छ । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा उद्योगी, व्यापारीहरुले बैंकबाट ऋण लिन आनकानी गरिरहेका छन् । त्यसले गर्दा घरजग्गा खरिददेखि विक्रीवितरणमा समेत असर परिरहेको छ । निर्माण व्यवसायीहरुले आफ्नो भुक्तानी नपाउँदा उनीहरु घरजग्गा पनि बैंकले लिलामी गर्ने तरखर गरिरहेको छ ।
सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा उद्योगधन्दा ठप्प भएका छन् । उद्योगधन्दा ठप्प भएपछि बेरोजगारीको संख्या बढिरहेको छ । त्यसले देशमा आर्थिक चलायमान पनि हुन सकेको छैन । लगानीकर्ताले लगानी नगर्दा आर्थिक दन्त्रीले देश ठप्प जस्तै भएको छ । अधिकांश निर्माण क्षेत्रमा काम गर्ने मजदूरहरुले समयमा पारिश्रमिक र ज्याला नपाएर बिहानबेलुकाको छाक टार्नसमेत समस्या परिरहेको छ । सरकारले खाद्यान्नलगायत विभिन्न सामग्रीको मूल्य निर्धारण गर्न नसक्दा बजार मूल्य आकासिएको छ । लगानीमैत्री वातावरण नभएपछि उद्योगी व्यवसायीहरु घाटामा परिराखेका छन् ।
उता दोहोरो, तेहोरो कर तिर्नुपरेका अधिकांश उद्योगी, व्यवसायीहरु पेशाबाट पलयान हुँदै गएका छन् । मुलुकमा सुशासन र आर्थिक समृद्धिको नारा दिएर बनेको एमाले र कांग्रेसको दुईतिहाई हाराहारी बहुमतको सरकारले जनजिविकासँग जोडिएका यस्ता जल्दाबल्दा विषयमा ध्यान दिन सकेको छैन ।