गृहमन्त्री निकम्मा बन्दा मानवतस्करी फस्टाउँदै

राजनीति समाचार

काठमाडौं । सरकारले रोजगारी दिन नसक्दा अधिकांश नेपाली युवायुवतीहरु विदेसिन वाध्य भएका छन् । विचौलिया र मानवतस्करहरुले भिजिट भिसादेखि विभिन्न भिसामा नेपालीहरुलाई विदेश पठाइरहँदा सरकारले त्यसरी ठगी गर्ने व्यक्तिहरुलाई कारबाही गर्न सकेको छैन । उल्टै तिनै मेनपावर सञ्चालक, विचौलिया र मानव तस्करहरुसँग मिलेमतो गरी एयरपोर्ट अध्यागमन कार्यालय अगाडिबाट दिनहुँजसो नेपालीहरु अवैध तरिकाले विदेसिने गरेका छन् ।

त्यसमा गृहमन्त्रन्त्रालय र नेपाल प्रहरी पनि संलग्न रहेको समाचार स्रोतको दावी छ । गृहमन्त्रालयका सह–सचिव छवि रिजाल, गृहमन्त्री रमेश लेखकका पिए बद्री तिवारी, पूर्व गृहमन्त्रीका पिए धर्मराज जोशीलगायतको सेटिङमा भिजिट भिसामा महिलाहरुलाई विदेश पठाउने गरिएको छ । त्यसको चाँजोपाँजो यज्ञराज आचार्य र लक्ष्मी भुसालले मिलाउने गरेका छन् । एयरपोर्ट अध्यागमन कार्यालयका शाखा अधिकृत गणेश ओझाको रोहबरमा सो काम हुने गरेको छ । ओझाले गृहमन्त्रालयका कर्मचारी सरुवा, बढुवा गर्नेदेखि विचौलियाहरुसँग मिलेर कमिसनको पैसा ओसारपसार गर्नेसम्मको काम गर्दै आएका छन् ।

त्यतिमात्रै होइन ओझाले कमिसनको भाग गृहमन्त्री र गृहसचिवकोमा समेत पु¥याउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले तामाकोशी सन्देशलाई बताएका छन् । यिनै कर्मचारी र विचौलियाको मिलेमतोमा हप्तामा ७ देखि १२ लाखसम्म उठाउने गरिन्छ । कामदारको लागि कम्बोडिया जाने महिलासँग प्रतिव्यक्ति १ लाख रुपैयाँ उठाइन्छ भने कतार, दुबई, साउदी, बहराइन जस्ता देशहरुमा जाने युवाहरुसँग ५० देखि ८० हजारसम्म असुल्ने गरिन्छ । यस विषयमा तामाकोशी सन्देश साप्ताहिकले पटक–पटक समाचार सम्प्रेषण गरे तापनि सम्बन्धित निकायले त्यसको सुनुवाई गर्न आवश्यक ठानेको छैन ।

उता, गृहमन्त्री लेखकका पिए बद्री तिवारी पनि खान र खुवाउन माहिर कर्मचारी हुन् । कांग्रेसको सरकार बन्नासाथ बद्री तिवारीको दशैं सुरु भइहाल्छ । तिवारी लामो समयदेखि विभिन्न मन्त्रीको पिए बस्दै आएका कर्मचारी हुन् । कांग्रेस निकट कर्मचारी भएकै कारण तिवारीले जति फाइदा अरु कर्मचारीले लिन सकेका छैनन् । त्यस्तै गृहससचिव गोकर्णमणि दुवाडी पनि खान र खुवाउन माहिर कर्मचारीमा गनिन्छन् ।

दुवाडीले गृह प्रशासनलाई चलायमान बनाउने भन्दा पनि सह–सचिव छवि रिजालको डिजाइन अनुसार सेटिङ गरेर कमाउधन्दा चलाउने गरेका छन् । गृहप्रशासन जस्तो सम्वेदनशील ठाउँमा बसेर देशमा सुशासन कायम गराउन लाग्नुपर्नेमा त्यो नगरी कर्मचारी सरुवा, बढुवादेखि विभिन्न चलखेल गरेर घुस लिनमै व्यस्त छन् । उता, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल दिनहुँजसो एयरपोर्टबाट मानव तस्करीको सेटिङ भइरहँदा रमिते बनेर बसिरहेका छन् । एयरपोर्टका विचौलिया र मानवतस्करी गर्नेहरुबाट रिजाललाई पनि कमिस आउने भएकाले अध्यागमन कार्यालयतिर ध्यान दिएको स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *