काठमाडौं । राजश्व अनुसन्धान विभाग यतिबेला एमाले पार्टी कार्यालय जस्तै बन्न पुगेको छ । विभागमा तलदेखि माथिसम्म नासु स्तरको टिम खडा गरेर राजश्व उठाउने भन्दा पनि कमाई खाने थलो बन्दै आएको छ । राजश्व उठाउने नाममा कमाउधन्दाको सेटिङ गरिएको स्रोतको भनाइ छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेको सेटिङमा रहेका छन् राजन बिसी र मणिराम पौडेल । त्यस्तै सल्लाहकार समूहको सेटिङमा तत्कालीन महानिर्देश दीर्घराज मैनाली र मदन दाहाल रहेका छन् ।
यसरी तीन समूहको सेटिङमा एमाले, कांग्रेस र माओवादी दल निकट व्यापारीहरु समेटेर राजश्व उठाउने नाममा देशको लागि भन्दा आफू अनुकूलको काम गरिराखेका छन् । दलहरुसँग आबद्ध नभएका व्यापारीहरुसँग थोरबहुत राजश्व उठाउने गरिएको छ । तर, एमाले, कांग्रेस र माओवादी निकटका व्यापारीहरुसँग राजश्व उठाउन सकेका छैनन् । उल्टै तिनै व्यापारीहरुसँग मिलेर कर्मचारीहरुले कमाउधन्दा चलाउने काम गरिरहेका छन् । राजनीतिक सेटिङमा राजश्व छली गरी ल्याइएका सामानहरु बरामद गर्न सकेको छैन । सेटिङमा बाहिरै काम हुने भएपछि अहिले राजश्व छली गरी ल्याइएका गाडीहरु राजश्व अनुसन्धान विभागमा ल्याउने गरिएको छैन ।
जति पहिला गाडी ल्याइन्थ्यो, अहिले ल्याइँदैन । यदि ल्याइएको खण्डमा पनि पूर्व महानिर्देशक द्वय मदन दाहाल र दीर्घराज मैनालीको समूहको मिलेमतोमा राजश्व कम गराएर छुटाउने काम हुने गरेको छ । विभागले ठूला उद्योगी, व्यापारीहरुसँग राजश्व उठाउनुपर्नेमा त्यो नगरी कर्मचारीहरुको मिलेमतोमा कमिसन खाने काम भइरहेको छ । विगतका महानिर्देशकहरुले कम्तिमा राजश्व छली गर्ने र सुनतस्करी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका थिए ।
तर, हालका महानिर्देशक चण्डीप्रसाद घिमिरेले कार्यकाल सम्हालेको पाँच महिना बितिसक्दासम्म न त सुनतस्करी गर्नेलाई समाउन सकेका छन् न त राजश्व छली गर्नेलाई नै । उल्टै पूर्व महानिर्देशकहरुलाई विज्ञको रुपमा सल्लाहकार बनाएर उनीहरुकै अनुभवमा राजश्व छली र चोरीतस्करी गर्नेहरुसँग सेटिङ मिलाएर कमाउधन्दा चलाइरहेका छन् । यस्ता कर्मचारीमाथि राज्यको सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्न सकेको छैन । तत्कालीन महानिर्देशकहरुको तुलनामा अहिले राजश्व कम उठेको समाचार स्रोतको भनाइ छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजश्व अनुसन्धान विभागमा एमाले कर्मचारीको सेटिङ भएपछि राजश्व समेत कम उठ्न थालेको स्रोत बताउँछ ।