काठमाडौं । प्रधानमन्त्री छन्, भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने, अनि तिनका क्याविनेटका मन्त्री ? जस्तो पछिल्लो समय परराष्ट्रमन्त्री आरजु राणा र उर्जामन्त्री दीपक खड्का यस्तै भ्रष्टचार प्रकरणमा जोडिएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल समेत नियुक्ति र ठेक्का विवादमा मुछिएका छन् ।
परराष्ट्रमन्त्री राणा राहदानी विभागको ई–पासपोर्टको ग्लोबल टेन्डर विवादमा मुछिएकी हुन । यो झण्डै १२ अर्बको टेण्डर हो । यस अघि उनै राणाका भाइ भुषण यातायात विभागको इम्बोइस्ट नम्बर प्रणाली विवादमा मुछिएका थिए । अहिले राणा परराष्ट्रमन्त्री भए पछि राहदानी विभागले मंसिर १३ गते पासपोर्ट छपाइको लागि टेन्डर आह्वान गरेकोमा फ्रान्सेली कम्पनी आइडेमियालाई पोस्ने गरी स्पेसिफिकेसन राखिएको भन्दै विवादमा परेकी हुन । परराष्ट्रले अगाडि बढाएको यो प्रकरणको उजुरी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेसँगै पासपोर्ट प्रकरणमा यो समूहको बदमासी बाहिरिएको हो ।
राहदानी विभागका कर्मचारीमाथि हाल ई–पासपोर्ट छपाइ गरिरहेको कम्पनीको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेको छ । हाल पासपोर्ट छपाइको काम गरिरहेको आइडेमियाले अहिले फेरि करिब १२ अर्बको ठेक्का हत्याउन विभागदेखि परराष्ट्रमन्त्रीहरुलाई समेत प्रभावमा पारेर साढे एक दशकदेखि राहदानी विभागमा एकलौटी छपाइ गर्दै आएको छ। राहदानी विभागले गरेको ग्लोबल टेन्डरमा केही त्रुटिको आशंकामा खरिद अनुगमन कार्यालयले बोलपत्र नमूनाको पूर्ण पालना गर्न बारम्बार पत्र काटेको छ । पासपोर्टको टेण्डर दिन लागिएको यो यही कम्पनी हो जो विश्व बैंकबाट १० बर्ष अगाडि दण्डित कम्पनी हो । यही ग्रुपले बंगलादेशको राष्ट्रिय परिचयपत्र प्रणालीसम्बन्धी परियोजनासँग जोडेर भ्रष्टाचारजन्य गतिविधि र अभ्यासमा संलग्न भन्दै उक्त प्रतिबन्ध लगाएको थियो । अहिले सोही विवादित कम्पनीलाई पोस्ने गरी मापदण्ड बनाइएसँगै मन्त्रीसमेत विवादमा तानिएकी हुन ।
उसो त आरजु जोडिएका हरेक बिषय लफडा र विवादमा छन्,नक्कली भुटानी शरणार्थी प्रकरणदेखि टीकापुरको जग्गा काण्डमा समेत आरजुको नाम मुछिँदै आएको छ । हालैमात्र पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्तिमा समेत आरजु हाबी रहेको चर्चा काँग्रेसी वृत्तमा चल्ने गरेको छ । यस अघि आनन्द बतासजस्ता बदनाम व्यवसायीसँग आरजुको कनेक्सन रहेको चर्चा चलेकोमात्र थिएन । बतास ग्रुपमा समेत आरजुको लगानी रहेको विषय बाहिरिएको थियो ।
बतासको आधिकारिक वेबसाइटमै आरजु सल्लाहकार रहेको भनेर उल्लेख गरिएको थियो । अहिले विभिन्न जग्गा काण्डदेखि खरिद प्रकरणमा डामिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीदेखि धितोपत्र वोर्डमा विचौलिया दीपक भट्टमार्फत नियुक्ति खाएका सन्तोष श्रेष्ठको नियुक्तिमा समेत आरजु राणा हाबी भएको चर्चा चल्ने गर्दछ । गैरसरकारी संस्था पृष्टभूमिबाट उठेकी आरजु नेपालकै महंगोमध्येको ललितपुरस्थित यूलियन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सञ्चालक हुन् आरजु । जुन गैरसरकारी संस्थाको नाममा दर्ता छ । यसबाहेक उनी ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र साथी नामक एनजिओको संस्थापक अध्यक्ष तथा सल्लाहकार छिन् भने नामीको अध्यक्ष, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष हुन् भने ब्लड डोनर्स एशोसिएसन अफ नेपालको पनि संरक्षक छिन् ।
यता स्काउटको जग्गाको लफडामा मुछिएका मन्त्री दीपक खड्का,आफैं हाइड्रो सञ्चालक हुन । स्वार्थ बाझिने गरी उनलाई उर्जामन्त्री बनाइएको थियो नै हालैमात्र आफू निकटको ठेकेदारले ठेक्का नपाएको भन्दै ठेक्का नै रद्ध गरिदिएका छन् । उनले जगदुल्ला जलविद्युत कम्पनीले आयोजनाको ठेक्का प्रक्रिया अन्तिम समयमा आएर रद्द गरेपछि विवादमा तानिएका हुन । गत जेठ २० गते आह्वान भएको अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरमा चारपटक म्याद थप भएको थियो ।
अन्तिम म्यादको अन्तिम दिन असोज १८ गते भने ७ वटा कम्पनी जेआईईसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङदिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसीई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए । ठेकेदार शर्मा एण्ड शर्माको कम्पनीले काम नपाउने भए सँगै सोमबार ठेक्का नै रद्ध गरिदिएसँगै मन्त्री विवादमा मुछिएका छन् ।
उसो त कार्यकक्ष नै रत्नपार्कमा सार्नेदेखि, नबिल बैैकका कर्मचारीलाई विज्ञ सल्लाहकार नियुक्ति, कुलमान हटाउने कार्यमा समेत मन्त्री बदनाम छन् । उता तुलनात्मक रुपमा इमान्दार मानिएका प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सरुवामा मन्त्राणी हावी भएको भन्दै विवादमा मुछिएका छन् । उनी पनि आरजु र दीपकझैं ठेक्का विवादमा मुछिएका छन् ।